शिक्षकले फेरि थाले राजधानी केन्द्रित आन्दोलन (तस्बिर/भिडिओ) – Nepal Press
शिक्षकले फेरि थाले राजधानी केन्द्रित आन्दोलन (तस्बिर/भिडिओ)
उमेश कार्की २०८१ चैत २० गते १५:५३
२०८१ चैत २० गते १५:५३

काठमाडौं । देशभरका शिक्षकहरूले पुनः राजधानी काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा विभिन्न शैक्षिक एवं पेशागत समस्याको आवाज उठाएर दबाबमूलक कार्यक्रम सुरू गरिएको हो ।

देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा होमिएका छन् ।

गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गरिएको महासंघका नेता बताउँछन् । २०२८ कै पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युगअनुसारको कानून खोजेको उनीहरूको भनाइ छ ।

आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने पनि उनीहरूको माग छ ।

आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी ऐन जारी नहुँदासम्म कक्षा कोठामा नफर्किने बताउँछन् ।

काभ्रेका ओमप्रकाश वाइबाले यसअघिका सम्झौता पालना नगरिएको गुनासो गरे । मासिक तलब पनि नियमित नपाएको उनको भनाइ छ । पर्साबाट आएका शिक्षक गोकर्ण सुवेदीले संघर्ष अनिश्चितकालसम्म जाने बताए ।

आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म शिक्षकरूले दबाबमूलक र्‍याली निकाले । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम छ ।

हेरौं सहकर्मी उमेश कार्की र विराट अनुपमले खिचेका आन्दोलनका केही तस्बिर