त्रिवि क्याम्पसको सभापतिमा अनेरास्ववियु २० वर्षदेखि गयल- भेगीय गुटबन्दी र अन्तरघातले घायल
पछिल्लाे विजयी सभापति विजय राई भन्छन्- अखिलको पुरानो जस्तो खटाइ नै हुन छोड्यो

काठमाडौं । २०७९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सभापतिका आकांक्षी थिए उज्ज्वल खड्का । अनेरास्ववियुको गुटबन्दीले उनले टिकट पाएनन् । संगठनले सचिव अफर त गर्यो, तर उनले मानेनन् । ओली खेमाका कट्टर उनले एकीकृत समाजवादी धाएर फर्किएका तपेन्द्रजङ्ग शाहीको कारणले टिकट नपाएको उनका निकटवर्तीहरू बताउँछन् ।
त्यो घटनाले खड्का अखिलबाट मात्रै होइन, आरआरबाट पनि बाहिरिने वातावरण बन्यो । उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर पढ्न पुगे । त्यही स्वतन्त्र विद्यार्थीहरूको समूह बनाए । यो चुनावमा सभापति उठेका उनको १० जनाको टीममा एक जनाले चुनाव जिते । सभापतिमा उठेका उनले ५१५ मत ल्याए । खड्का एकल समूह बनाएर उक्त मत ल्याउन सफल भए । आमविद्यार्थीलाई तान्न सफल उनको मतको सांगठनिक आधार भने अनेरास्ववियु नै भएको अखिलका नेता कार्यकर्ताहरू बताउँछन् ।
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका दीपकराज जोशी निर्वाचित भए । उज्ज्वलको संगठन अनेरास्ववियुका सभापति उम्मेदवार सिद्धान्त भट्ट ७८१ मत ल्याएर नेविसंघका जोशीसँग ८ मतले पराजित हुन पुगे ।
बझाङका रैथाने खड्कालाई बझाङकै पूर्वअखिल अध्यक्ष ऐन महरको मान्छे भन्ने ट्याग छ, तर यो चुनावमा सिद्धान्त भट्टको चुनावी कमान्डमै थिए महर । महरले पनि खड्कालाई सहयोग गर्न आह्वान गरे, तर खड्काले मानेनन् । खड्का अखिल साइनोबारेमा खासै भावुक पनि छैनन् । नेपाल प्रेससँग बोल्दा उनले भने, ‘अखिलको कुरा गर्न छोडेको त एक वर्ष बढी भयो ।’
आफूले जित्न नसके तापनि टीम बनाएर सानदार मत पाउन सफल भएको उनले प्रतिक्रिया दिए । एक प्रत्यक्ष चुनावमा जित्ने कुसुम लामाले त ८१७ मत ल्याइन् । सुदूरपश्चिमका खड्काको टोलीले सुदूरपूर्व मोरङकी एक अनुहारलाई स्वतन्त्र समूहबाट जिताउन सफल भयो ।
यो समूहले समानुपातिक मतमा पनि टक्कर दियो । सचिव र कोषाध्यक्ष जस्ता दुई पदाधिकारी र चार सदस्य जित्न सफल अनेरास्ववियुको समानुपातिक मत ७७९ आउँदा पूर्वअनेरास्ववियु नेता खड्का नेतृत्वको स्वतन्त्र विद्यार्थी समूहले ७२४ पायो । यो अर्को झट्का थियो अनेरास्ववियुलाई ।
तर यस पटक त्रिवीमा सिद्धान्त भट्टलाई सभापति पराजित गराउनमा अनेरास्ववीयुका विशेषगरी सुदूरपश्चिम घर भएका जिम्मेवार नेता नै लागि परेको रिपोर्ट एमाले नेतृत्वसम्म पुगेको छ । उज्जवल खड्कालाई स्वतन्त्र सभापति उम्मेदवारी बनाउनेदेखि उनको टिममा अनेरास्ववीयुकै कार्यकर्तालाई सदस्य उम्मेदवार बनाउने भूमिकामा अखिलका सुदूरपश्चिमका नेताको नाम किटेर नेतृत्वलाई जानकारी गराइएको अखिल स्रोतले जनाएको छ ।
अखिलकै बागी उज्जवलको पक्षमा मत माग्न रास्वाका शिशिर खनाल लगायतका नेता पनि सक्रिय भएका थिए । अनेरास्ववीयुका अध्यक्ष समिक बडाललाई असहयोग गर्ने नाममा संगठनकै नेताले सिद्धान्त भट्टलाई सभापतिमा पराजित गरेको भन्दै अखिलकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
दुई दशकदेखि सभापतिमा हारेको हारेयै अनेरास्ववियु
सिद्धान्त भट्ट चुनाव हार्ने एक्ला अनेरास्ववियु उम्मेदवार होइनन् । स्ववियुका निवर्तमान सचिव भट्टले अघिल्लो चुनावमा जिते पनि यो चुनावमा भने झिनो मतान्तरले हारे । हारको कारणबारेमा भट्ट खुल्न चाहेनन् ।
नेपाल प्रेससँग उनले भने, ‘के कति कारणले हारियो भन्नेबारेमा हामी टीममा छलफल गरेर निचोड निकाल्छौं ।’
हारपछि प्रतिस्पर्धी दीपकराज जोशीलाई बधाई दिएका भट्टले आफ्नो हारमा कसैलाई दोष दिन चाहेनन् । व्यावसायिक विद्यार्थी देखिएर उनले भने, ‘अरुलाई दोष लगाएर केही हुनेवाला छैन । आफ्नै कमजोरी थिए होलान् ।’
उसो त सचिवसहितको पदाधिकारी र सदस्यमा जितेर टाउको (सभापति) नजित्ने भट्ट एक्ला उदाहरण होइनन् । उनीभन्दा अगाडिका उम्मेदवार प्रकाश विष्टको पनि यही हालत भयो । श्यामराज ओझासँग चुनाव हार्दा उनीबाहेकका प्रमुख पदाधिकारीमा अनेरास्ववियुले जितेको थियो ।
यसभन्दा अगाडिको कथा पनि बिजोग छ । २०६० सालमा विजयी सभापति उम्मेदवार विजय राईपछि अनेरास्ववियुले सभापतिमा कीर्तिपुरमा खाता खोल्न सकेको छैन । २०६२ सालमा अनेरास्ववियुका रूपेश खतिवडालाई पराजित गरेर नेविसंघका भीम श्रीस सभापति निर्वाचित भएका थिए ।
२०६५ सालको स्ववियुमा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का हिमाल शर्माले जित्दा निकटतम प्रतिस्पर्धीमा नेविसंघका अञ्जान लामा थिए भने अनेरास्ववियुका उम्मेदवार विदुर लिङ्थेप सुब्बा तेस्रो भएका थिए ।
अनेरास्ववियुका नेताहरू टंक कार्कीले २०३६, शंकर पोखरेलले २०४५, जगन्नाथ खतिवडाले २०४९ र विजय राईले २०६० सभापति जितेयताका पछिल्ला दुई दशकका स्ववियु सभापति निर्वाचितहरूको सूचीमा अनेरास्ववियु गयल छ ।
सभापतिमा अनेरास्ववियुको तारान्तार हार, के भन्छन् नेता ?
अनेरास्ववियुबाट कीर्तिपुरको केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा तारन्तार गयल हुनुमा मूलतः तीन कारणले भूमिका खेलेको नेताहरू बताउँछन्:
पहिलो- गुटबन्दी । थोरै मतान्तरले हार्नुको कारण गुटबन्दी नै भएको उनीहरू बताउँछन् ।
नाम खुलाउन नचाहेका अनेरास्ववियुका एक केन्द्रीय पदाधिकारी भन्छन्, ‘विद्यार्थीको मागभन्दा नेताको छनोटका उम्मेदवारले गर्दा गुटबन्दी मौलाएर अन्तरघात बढेको छ । यो पटक कीर्तिपुरमा हार्ने कारण यही हो ।’
दोस्रो- सुदूरपश्चिम फ्याक्टर । मतदाताको कोणमा भावनात्मक रूपमा सुदूरपश्चिमका विद्यार्थीहरू एकजुट हुने भएकाले त्यो जनमत आएर विजयको सम्भावना बलियो हुने अनेरास्ववियुका अहिलेका कीर्तिपुर जानेका नेताहरूमात्रै होइन पछिल्ला सभापति विजय राई पनि स्वीकार्छन् ।
हाल कोशी प्रदेशका नेकपा एमाले सांसद राईले नेपाल प्रेससँगै भने, ‘म सभापति हुँदा पूर्वका पनि धेरै विद्यार्थीहरू कीर्तिपुर पुग्थे । अहिले सुदूरपश्चिमका धेरै हुन्छन् ।’
पूर्वमा स्नातकोत्तर पढाइ हुने क्याम्पसहरू बढेकाले विद्यार्थीहरू कीर्तिपुर पुग्ने क्रम पहिलेभन्दा कम भएको राई बताउँछन् । भन्छन्, ‘पूर्व र सुदूरपश्चिमको मत बराबर भए तापनि सुदूरपश्चिमको एकमत धेरै हुनाले त्यहाँका उम्मेदवारको सम्भावना बढी देखिएको हो ।’
तेस्रो- अनेरास्ववियुको सुस्तता । यो कुरामा अनेरास्ववियुका पूर्वनेता राईले सहमति जनाए । नेपाल प्रेससँग बोल्दै उनले थपे, ‘अखिलको पुरानो जस्तो खटाइ नै हुन छोड्यो ।’
अखिललाई पार्टीले पनि खासै ध्यान नदिएर यस्तो भएको भन्दै उनले थपे, ‘पहिले पार्टी संगठन बलियो बनाउने हुन्थ्यो । अहिले संगठनभन्दा धेरै ध्यान पार्टी बनाउन गएकाले पनि हारिएको हो ।’