विराटनगरका उद्योगी व्यापारीको गर्भनर नियुक्तिमा चासो: अर्थतन्त्र सुधार्न सक्ने नेतृत्वको माग


विराटनगर। विराटनगरका उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सुधार ल्याउन सक्ने गर्भनर नियुक्त हुनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया चलिरहँदा उद्योग संगठन मोरङले सक्षम नेतृत्वको आवश्यकतामा जोड दिएको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संगठनले आर्थिक क्षेत्रमा देखिएको चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने र उद्योग व्यवसायमैत्री वातावरण निर्माण गर्न सक्षम व्यक्ति गभर्नर पदमा नियुक्त हुनुपर्ने बताएको छ।
‘विगत केही वर्षदेखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदासीनतालाई मध्यनजर गर्दा आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका व्यक्ति राष्ट्र बैङ्कको नेतृत्वमा आवश्यक छ,’ सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दर निर्धारण र वित्तीय स्थिरता जस्ता विषयलाई सम्बोधन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए।
उनका अनुसार विगतमा राष्ट्र बैङ्कले अपनाएका कहिले अति कसिलो र कहिले अति खुकुलो नीतिहरूले निजी क्षेत्र प्रभावित हुँदै आएको छ।
‘नेपाल राष्ट्र बैङ्क सरकारको आर्थिक सल्लाहकारका रूपमा रहने भएकाले अर्थतन्त्रका जटिल समस्याहरूलाई सम्बोधन गर्दै स्वदेशी उद्योगहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन सक्ने नेतृत्वको आवश्यकता छ,’ अध्यक्ष सुरानाले बताए ।
सङ्गठनका अनुसार उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसँग बुझेको र व्यावहारिक अनुभव भएको व्यक्ति गभर्नर पदमा नियुक्त हुनुपर्नेमा जोड दिइएको छ। नयाँ गभर्नरले बैङ्किङ प्रणालीलाई सुदृढ बनाउँदै लगानी प्रवाह बढाउन र आर्थिक वृद्धिका नयाँ अवसरहरू सिर्जना गर्न सक्नुपर्ने अपेक्षा संगठनले लिएको छ।