वीरेन्द्र मारिँदा कपाल खौरिएको सम्झिँदै गगनले भने- कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन – Nepal Press

वीरेन्द्र मारिँदा कपाल खौरिएको सम्झिँदै गगनले भने- कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको बताएका छन् । रुपन्देही पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिने प्रयास गरिरहेको बताए ।

महामन्त्री थापाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाउन चाहनुहुन्छ । भाँडभैलो मच्चाएर, उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन लिएर चलाउन खोज्दै हुनुहुन्छ । यसमा कुनै लुकाउनुपर्ने कारण छैन ।’

उनले कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी नभएको पनि बताए ।

थापाले भने, ‘बीपी कोइरालालगायतले यो पार्टी बनाउँदै गर्दा त्रिभुवन राजा जतिबेला भागेर भारत जानुभयो, त्यो बेलामा उहाँलाई भारतै छाडेर आउन पनि सकिन्थ्यो होला, तर सँगै लिएर आउनुभयो । महेन्द्र राजाले ‘कु’ गरेर बीपी कोइरालालाई ८ वर्ष थुनेर भारत प्रवासमा बसेर हातमा ७ वटा ज्यान मुद्दा लिएर नेपाल फर्किँदै गर्दा पनि बीपी र गणेशमानले भन्नुभयो, राजा जति खराब भए पनि हामी संविधानभित्र बस्ने राजा चाहन्छौं भनेर आएको पार्टी हो, लुकाउनुपर्ने कारण छैन । हामी जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन । हामी यो मञ्चमा बसेकाहरु राजा चाहिन्छ भनेरै आएका हौं। राजा मानेरै आएका हौं।’

राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै उनले अब राजालाई संवैधानिक बनाउन नसकिने बताए ।

अहिले निर्मल निवासमा त यति धेरै उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटीमा बसेको भए कति मच्चाउँथे होला भन्दै उनले प्रश्न गरे ।


प्रतिक्रिया

One thought on “वीरेन्द्र मारिँदा कपाल खौरिएको सम्झिँदै गगनले भने- कांग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन

  1. जे पायो त्यही बोल्छ, तेरै पार्टीको गृहमन्त्रीको आदेशमा जनहत्या भएको हो। राजाले त्यसो गरेको भन्ने के प्रमाण छ? निर्देशन दिएको कुनै सबूत छ ? दिउसै ढाट्ने काम बन्द गर्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर