बिर्सनै नसकिने वसन्ती हाइकिङ

ऋतुहरू कहिल्यै थाक्दैनन् ।
मान्छेमात्र थाक्दछ ।
ऋतु चलिरहन्छ । मान्छे केही समय चलेर रोकिन्छ ।
ऋतुहरू उहीँ आइरहन्छन् । मान्छे भने एकपल्ट गएपछि उहीँ बनेर कहिले आउने ?
प्रकृतिको लागि मान्छे र मान्छेको लागि प्रकृति हो । यसैको लागि सिर्जना गरेको होला मान्छे, प्रकृति र ऋतुहरू ।
यो समय वसन्त ऋतुको समय हो । वसन्त ऋतु त झन् ऋतुराज भयो । यो समयमा त थाकेको मान्छे पनि उठ्ने खालको मादकता हुन्छ मौसमको । रुखहरू पल्लवित भैरहेका हुन्छन् । एक रुखले एक हैन अनेक रङ्ग देखाइरहेका हुन्छन् । फूलहरू फुलिरहेका हुन्छन् । फूलले वासना फैलाइरहेको छ । वासनाले भमरा र पुतलीलाई आर्कषित गरिरहेका हुन्छन् । लहलहाउँदो र हलहलाउँदो पल्लवाङ्कुर समयले प्रफुल्लित भैरहेको हुन्छ मन ।
मनको मादकता मदमस्त थियो । घरमा हेरे । परेवाले खुशी भएर पृथ्वीमा मेरा सन्तान आए भन्दै बच्चा खेलाइरहेको देखें । अफिसमा गएँ । कागहरू र ढुकुरहरू मग्न भएर बच्चा कोरल्न गुँडको इन्जिनियरिङ गरिरहेका हेरें । गमलामा पुतली र भमरा भुनभुन गरिरहेका छन् । फागुको दिनदेखि आएको वसन्त ऋतुले फागुमा खेलिने सात रङ्ग जस्तै इन्द्रधनुषी समय बनाइरहेको छ । अचानक कवि सिद्धिचरण श्रेष्ठले कोर्नुभएको ‘वसन्त’ नामक कविताको याद आयो ।
समस्त माधुर्य लिएर साथमा ।
छरेर सौन्दर्य विशाल विश्वमा ।।
वसन्त मेरै हितमा निमग्न भो ।
अहो ! छ कस्तो रसरागयुक्त यो ।।
गमलामा पुतली र भमरा भुनभुन गरिरहेका छन् । फागुको दिनदेखि आएको वसन्त ऋतुले फागुमा खेलिने सात रङ्ग जस्तै इन्द्रधनुषी समय बनाइरहेको छ । अचानक कवि सिद्धिचरण श्रेष्ठले कोर्नुभएको ‘वसन्त’ नामक कविताको याद आयो ।
यी सबै हेर्दा लाग्यो- ओहो ! गजब समय छ यो । हाइकिङ नगएको पनि तीन हप्ता भैसकेको थियो । वसन्त ऋतुको हाइक जाऔं न त भनेर यसो ह्याप्पी हाइकर्सको पेज खोलेर हेरें । त्यहाँ देखियो- ग्वाभञ्ज्याङ, बेथानचोक नारानथान, च्यासिंगखर्क हुँदै कामीडाँडासम्मको हाइकिङ । मित्र राजारामलाई नाम हाल्न भनें । उसले नाम हालिदियो । हेर्दाहेर्दै हाइकिङमा त जुलुस देखिन थाल्यो । ३२ जना एक गाडीमा हाल्थ्यो । एकै दिनमा भरियो । तीन दिनपछि शुक्रबार आउँदा त ८२ जना देखिए । नाम पढें । मेरो जन्मथलो मूलपानीबाट राजाराम फुँयाल, उसकै छोरा नमन, नातामा मेरो ज्वाइँ नरेश फुँयाल, मेरै भान्दाइ सान्दाइ हरिशरण फुँयाल, मेरै दाजुहरू भुवन ढकाल, मधुसुदन ढकाल देखें । समाचारपत्रमा काम गर्दाको बहिनी रीता सापकोटाका श्रीमान नातामा ज्वाइँ निरज गौतम पनि देखें ।
देखें अरु नामहरू सुदर्शन गौतम, किरण पोखरेल, विन्दा चौलागाईं, आशिष श्रेष्ठ, राजकुमार श्रेष्ठ, सजिता कटुवाल, मनिषा राउत, अप्सरा आले, अस्मिता कार्की, पदमराज आचार्य, सरिता महर्जन, विवश श्रेष्ठ, अनिल श्रेष्ठ, सञ्जय श्रेष्ठ, हिमांशु बडाल, सनतकुमार रेग्मी, तेम्बा शेर्पा, महिमा घिमिरे र निमिष घिमिरे । यो ग्रुपमै पहिले जाने गर्दथें, तर आज धेरै मान्छे भएकाले यो गाडी चाबहिलबाट चप्पल कारखाना नआउने भएछ । यसलाई ह्याप्पी हाइकर्सले एक नम्बर रुटमा राखेछ । मूलपानीबाट सुरु भएर चाबहिल हुँदै कोटेश्वर, भक्तपुर हुँदै अगाडि लाग्ने भनेर सूचना दिएको थियो ।
म दोस्रो नम्बर रुटको गाडीमा परें । जसमा ह्याप्पी हाइकर्सका प्रदीप कँडेल र निराकार श्रेष्ठ टोली लिडर थिए । चाबहिलबाट आउने यो गाडीमा सावित्री श्रेष्ठ, म कवि डंगोल, मीना थापामगर, राम श्रेष्ठ, भोला खनाल, विकास खत्री, राजु मानन्धर, गोविन्द श्रेष्ठ, सुमन मानन्धर, अशोक बोहरा, नवराज अर्याल, कृष्णकुमार थापा, दीपक ढुंगाना, किरण ओझा, सहदेव गुरुङ, अमित बलामी, ओमप्रकाश गुरुङ, मनोज राजभण्डारी, सविना राजभण्डारी, सुशील खरेल, राजन बराल, रननिश थापा, अञ्जना कार्की र अनोज कायस्थ गरी २९ जना थिए ।
रुट नम्बर ३ को गाडीमा राम थापा, प्रकाश आचार्य, अरुण मोक्तान, राजेन्द्र भण्डारी, सुमन लुइँटेल, प्रतिभा दाहाल, बमबहादुर थापा, अर्जुन गौली, नारायण अधिकारी, नुमानन्द बेलबासे, मीना बेलबासे, ऋषभराज आचार्य, रश्मि बराल, सुवास तामाङ, सन्ध्या आचार्य, विष्णुहरि पण्डित, मुना आचार्य, प्रेमबहादुर थापा, कृष्ण थापा, ए थापा, कुमारविक्रम पाण्डे काजी, प्रमिला खड्का, अप्सरा कार्की, गीता, मञ्जु र दुई विदेशी स्वीजरल्यान्डका आर्नाैड , आयरल्यान्डका नाइल थिए । रुट नम्बर ३ को गाडी भने बालाजु, वनस्थली हुँदै कलंकी, त्रिपुरेश्वर भएर भक्तपुर आउँथ्यो । विदेशी पनि यो हाइकमा समावेश भएको यो पहिलो पल्ट थियो ।
राजावादीले राजा ल्याउन गरेको आन्दोलनको मारमा दुई जना अनाहकमा मरे । भैरव रिसाएको ठाउँ जस्तै भयो तीनकुने । कफ्र्यु लाग्यो । बेलुकासम्म हालेको कर्फ्यु भोलि के हुने भन्ने त्रास थियो । त्यहाँ कमेन्ट पढिरहेको थिएँ । भोलि के हुने ?
शनिबारको हाइकिङ थियो । शुक्रबार नफाप्ने देशमा फेरि शुक्रबार नै रणसंग्राम भयो । दरवार हत्याकाण्डलगायत धेरै काण्ड शुक्रबारै भएको यो देशमा चैत १५ गते शुक्रबार तीनकुने काण्ड भयो । राजावादीले राजा ल्याउन गरेको आन्दोलनको मारमा दुई जना अनाहकमा मरे । भैरव रिसाएको ठाउँ जस्तै भयो तीनकुने । कफ्र्यु लाग्यो । बेलुकासम्म हालेको कफ्र्यु भोलि के हुने भन्ने त्रास थियो । त्यहाँ कमेन्ट पढिरहेको थिएँ । भोलि के हुने ? बिहान ७ बजेसम्म कर्फ्यु थपे पनि जाने भन्ने भयो । लौ त भनेर ९ बजे नै सुतें । बिहान ४ः३० मा उठेर ५ः२५ को गाडी समाउन चप्पल कारखाना हिँड्दै पुगें । ह्याप्पी हाइकर्सका प्रदीप कँडेल र निराकार श्रेष्ठले गाडी एकैछिनमा ल्याए । सुरु भयो- एकपछि अर्काे मान्छे थपिने क्रम । चक्रपथ, बसुन्धरा, गोंगबु, कपुरधारा, लैनचौर, बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर हुँदै साँगामा साथी गाडी भेटेर अगाडि बढ्यो टोली ।
हामी नेपालीहरूको अहिलेसम्म संस्कृति राम्रै छ । अरुको दुःख हुँदा आफ्नो सुख देखाउनै नसक्ने धेरै छौं । हामी हाइकिङमा रमाउन हिँडेका थियौं । सँगसँगै हिजोको राजावादीको आन्दोलनले अनाहकमा मान्छे मरेको कुराले सबैलाई पोलिरहेको थियो । गाडीमा बाटोमा पनि कुरा ग¥यौं । त्यसैले त्यो दिन बिहान पनि मान्छेहरू बाटोमा त्यति देखिएनन् । सामाजिक सञ्जाल पनि दुःखले नै रंगिरहेको थियो । बिहान सेनाको बख्तरबन्द गाडी सडकमा यत्रतत्र थियो । हरिया गाडी हरियो पोशाकमा सजिएका आर्मीले भरिभराउ बानेश्वरदेखि तीनकुने क्षेत्र युद्धग्रस्त जस्तै अशान्त देखिएको थियो ।
७ नबजी नखुल्ने कर्फ्यु भने पनि हामीलाई कसैले रोकछेक गरेन । निरन्तर गाडी अगाडि बढ्दै गयो । बनेपा, पनौती, खोपासी हुँदै अगाडि बढ्दै गयो । बेथानचोक गाउँपालिका हार्दिक स्वागत गर्दछ भन्ने बोर्डबाट भित्र लागियो । बाढीले ल्याएको वितण्डाले घरहरू पूरै ढुंगैढुंगामात्र भएको नदीमा देखियो । असोजमा आएको बाढी चैतमा बिर्सेर हाँस्दै थिए गाउँलेहरू । शहरका मान्छेलाई सानो कुराले एन्जाइटी, फ्रस्ट्रेशन, डिप्रेशन हुन्छ, यहाँ गाउँका मान्छेको खेत, घर, बारी र वस्तुभाउ बगाएको छ । तैपनि ती सबै बिर्सेर सामान्य दिनचर्या बिताइरहेको देख्दा खुशी लाग्यो । उनीहरू मेरो लागि प्रेरणास्रोत बने बनिरहे । बिहान ५ः२५ मा चढेको गाडी बेथानचोक पाटीखर्क पुग्दा ७ः४८ भएको थियो । खोलैखोलाको बाटो गाडी गुड्दै गयो पार्थली । अगाडि बढ्दै ढुंखर्कमा पुग्दा बिहानको खाजाको व्यवस्था थियो । कोदाको पाउरोटी, अण्डा, तरकारी, दूध ! त्यो खाएपछि फेरि बसमै केही बेर हिँडियो र आयो ग्वाभञ्ज्याङ ।
बिहान ९ः१५ मा हिँड्दा लगभग एक जुलुस झैं लाग्यो । धुलो उडाउँदै एकपछि अर्काे गर्दै हिँडिरहेको थियो टोली । हरियो बोटमा रातो गुराँस देखिएपछि सबै फोटो खिच्न लागे । माथि रातो गुराँस तल बाटोमा नीलो फूलैफूलको गलैंचाबाट हिँड्दा आकाशबाट पुष्पवृष्टि भए झैं लागिरहेको थियो । उकालो, ओरालो, भञ्ज्याङ, चौतारो, वनजंगल हुँदै हिँड्दै जाँदा देखें- वन त डढेलोले सखाप पारेको रहेछ । राताम्मे हुने गुराँसे जंगल त कालाम्मे भएको रहेछ । बोटहरू त आगो लागेपछि छाडेको खण्डहर घरहरू जस्तो पहेलपुर भएर सुकेका रहेछन् ।
शहरका मान्छेलाई सानो कुराले एन्जाइटी, फ्रस्ट्रेशन, डिप्रेशन हुन्छ, यहाँ गाउँका मान्छेको खेत, घर, बारी र वस्तुभाउ बगाएको छ । तैपनि ती सबै बिर्सेर सामान्य दिनचर्या बिताइरहेको देख्दा खुशी लाग्यो । उनीहरू मेरो लागि प्रेरणास्रोत बने बनिरहे ।
कसैले भन्यो- ‘हेलिकप्टर आएर निभायो यो जंगल, तीन दिन लाग्यो निभाउन ।’
वनले बोले झैं लाग्यो- ‘मान्छे किन यस्तो हुन्छ ? मै नभई हुँदैन यिनलाई । तैपनि मलाई आगो लगाउँछन् ।’
म झसंग भए, के भनेको भनेर !
उसले फेरि भन्यो- ‘न चराचुरुँगी रहे, न हरियो रहयो न त फूल रहयो ! के गर्ने यो मान्छेलाई ?’
रुखको प्रश्नको उत्तर नदिएर म निरुत्तर हिँडिरहें ।
हामी त्यही वनमा हिँडेर ‘जंगल वाथ’ गर्न लागेका थियौं । जापानीहरू ठान्छन् । जंगलमा मान्छेलाई चाहिने शुद्ध तेल निक्लन्छ । जंगलमा हिँड्दा त्यो तेल निस्कन्छ । र, त्यसले नुहाउँदा जिउ शुद्ध हुन्छ । कोही थाहा पाएर, कोही नपाएर यही गर्न हिँडेको थियो, तर खरानी र कालाम्मेले हाम्रो मन पनि विचलित पारेको थियो ।
हिँड्न हिँडेका थियौं । हिँड्दै जाँदा सेता, राता, रातो र सेतो मिसिएका गुराँसहरू देखिँदै गए । आँखालाई शीतल दिइरह्यो । शरीरलाई स्फुर्ती दिइरह्यो । अक्करे भीरहरू हेर्दै, अग्लो रहेको पहाडलाई कुल्चेर झन अग्लो हुँदै हामी हिँडिरह्यौं । बाटोमा थली जस्तो ठाउँ आएपछि, जस्ताले बनाएको पाटी जस्तो ठाउँ आएपछि आफूसँग भएको नट्स, फलफूल, पानी ब्रेक गर्दै हामी उकालो उक्लिरहेका थियौं । कुसादेवी फूलचोकी मार्गको डोजर बाटो नभई हामी हाम्रै बाटो लाग्यौं । काउँलेपाखोको सिँढी हुँदै बाँझधारी पुगियो । सेती भीरको ओरालो बाटो हुँदै गैरीझ्याङ पुग्यौं । थोरै तेर्साे बाटो हिँडेपछि सेती भिरको कडा उकालो आयो ।
पसिना र उकालोको प्रियतम सम्बन्ध छ । पसिना र पहाडी हावाको उच्चतम सम्बन्ध छ । उकालोको पसिना हावाको झोक्काले हान्दा शरीरमा स्फुर्ती आइरहेको थियो । उकाली-ओराली हुँदै हामी देउराली आइपुग्यौं । हिँड्दै गयौं, गैरी भञ्ज्याङ पुग्यौं । डाँडा पार हुने भञ्ज्याङहरू मलाई साह्रै मनपर्छ । हरेक भञ्ज्याङका आफ्नै विशेषता हुन्छन् । दुईतिर पहाड र माझमा होचो ठाउँ भएको यो घाटीमा आएपछि आनन्द आउँछ । जन्मेको मूलपानीमा पनि भञ्ज्याङ छ । बाटो पिच नभएको समयमा भञ्ज्याङमा पानी परेर हिलो चिप्लो भएको सम्झँदा सबै भञ्ज्याङ यस्तै हो कि भन्ने लाग्थ्यो, तर धेरै भञ्ज्याङ पार गरेपछि थाहा पाए सबै सधैं समय कहाँ त्यस्तो हुँदो रहेछ र ! जीवनको भञ्न्ज्याङ, प्रकृतिको भञ्ज्याङभन्दा धेरै फरक हुँदो रहेछ । थाप्लेको उकालो थाप्लो समाउँदै उक्लेर बुद्ध पार्क पुगियो । नारायणस्थान जाने बाटोमा पर्ने बुद्ध पार्कमा पनि बसेर फोटो भिडियो बनाइयो । बौद्ध र हिन्दू मिलेर बसेको झलक यहाँ पनि देखिन्छ । बुद्ध पार्क २,९५० मिटर उचाइमा थियो ।
उकाली-ओराली हुँदै हामी देउराली आइपुग्यौं । हिँड्दै गयौं, गैरी भञ्ज्याङ पुग्यौं । डाँडा पार हुने भञ्ज्याङहरू मलाई साह्रै मनपर्छ । हरेक भञ्ज्याङका आफ्नै विशेषता हुन्छन् । दुईतिर पहाड र माझमा होचो ठाउँ भएको यो घाटीमा आएपछि आनन्द आउँछ ।
आइपुगिहाल्यो, बेथानचोक नारायणस्थान । हरेक मन्दिरको आफ्नो किंवदन्ती हुन्छ र यसको पनि थियो । भक्तपुरका एक मल्ल राजाले राज्यमा संकट आएपछि भगवान नारायणलाई सम्झनुभयो । भगवान नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको र त्यही आउनु भन्नुभएछ । मल्ल राजा भगवान कहाँ बस्नुभयो भनेर खोज्दै जाँदा यही टुप्पोमा विराजमान भएको पाएपछि उनै मल्ल राजाले यस स्थानको नाम बेथानचोक नारायणस्थान राखेको बताइने बोर्ड त्यहाँ छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बेथानचोक नारायणस्थान जान सिँढीहरू बनाइएको छ । रमाइलो, सुरम्य प्राकृतिक थलो रहेको यो मन्दिर र पाटी अनि त्यहाँ बनाइएको वरिपरिको दृश्य मनमोहक छ ।
महाभारत पर्वत श्रृंखलाअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको सर्वाेच्च स्थानमा अवस्थित बेथानचोक नारायणस्थान पर्यटकीय एवं धार्मिक थलो हो । हिमाल, पहाड र तराई एकैपल्ट देखिने यो चुचुरोले हामीलाई पनि निकैबेर चुर्लुम्मै पार्यो । बेस्कन बादलको तालले छोपेकाले हामीले तराई र हिमाल देख्न सकेनौं, तर त्यो यत्तिकै पनि मज्जाको थियो । नारायणस्थान ३,०१८ मिटरको उचाइमा थियो । नारायणस्थान परिसरमा मासु र मदिराजन्य चिज निषेध गरेको रहेछ । तीन थरि गुराँस मज्जाले भीरमा फुलिरहेका थिए । भित्र मूर्ति नारायणको मज्जाको उज्यालो थियो । साथमा नारायण सेनाको मूर्तिहरू पनि थिए । घन्टहरू मज्जाले झुण्ड्याइएका थिए । मन्दिरकै छेउमा पाटी थियो । त्यहाँ चिया बेच्ने मान्छे बस्नुभएको थियो ।
आजकल त युट्युब, टिकटकमा देखिन्छ मान्छे । उहाँलाई पनि धेरैले देखेका रहेछन् । भ्यू प्वाइन्टबाट केही भ्यू नदेखिएपछि पनि आएको जानकारी क्यामरालाई दिन फोटो खिच्न थालियो । ८२ जनाको हुल को कुनबेला आउने ठेगान नभएर लगभग पौने दुई घन्टा आउँदै गरेका साथीहरूलाई कुरियो । भद्रगोल मान्छेहरूको भेला जस्तै थियो । को कहाँ कसलाई कुर्ने ? को कहाँ हो ? केही थाहा नहुने, डाँडाकाँडा फोन नलाग्ने, कुर्नुको विकल्प नभएपछि मस्तै कुरियो । भएका सब पानी-खाजा खाइसकेको थियो । बल्लतल्ल कुरेको चार जना आइपुगेपछि फटाफट फोटो खिचेर उक्लेको बाटो ओर्लनु थियो । हामी झ्याप डाँडालाई कुल्चेर झर्दै थियौं । त्रिकोणीय पहराको बीचको बाटो मज्जाको थियो ।
गुराँससँग आँखा जुधाउँदै उकालो ओरालो गरिरहँदा पुगियो- हात्तीको आकारको ठूलो ढुंगो भएको पहाड अर्थात गजराम । गजराम थुम्कोबाट देखिने दृश्यले, परिदृश्यले अन्तर्दृश्य अर्कै बनाउँछ भने पनि सबै जना थाकेका थियौं । अर्काे हुस्सुले त्यस्तै केही नदेखिने पारेको थियो । त्यसैले त्यहाँको झण्डा परैबाट हेरियो । हात्तीजस्तो थुम्को हेरियो र लागियो कामीडाँडा जाने पदमार्ग । वनको बाटो, ढुंगाको ककरा । बीचबीचमा दुई वटा बाटो आउँथ्यो । कता जाने थाहा नहुने ! मान्छे कुर्नै पर्यो । कुर्दै हिँड्दै जाँदा अलमल भैरह्यो । खाना खाएको छैन, पानी सकिसक्यो । लालीगुराँस मस्त फुलिरहेका छन् । समय फरक परेर होला लालीगुराँसको पनि कुनै आकर्षण लागेन । मास्लाहारी घाँसे भिर हुँदै ठूलो भिरमा भएको सिँढी ओर्लंदै अर्काे भञ्ज्याङ आइपुग्यौं । जसको नाम थियो च्याल्टी भञ्ज्याङ । ठाडै ज्यान खाने ओरालोमा खुट्टाले नै काम नगर्ने भइसकेको थियो । यता टेक्दा खुट्टा उता जाने भैसकेको थियो । यो ओरालो मलाई त मार्दी ट्रेकमा गएर फर्कंदाको सिद्दिङको ओरालो जस्तै लागेको थियो ।
ओरालो ओर्लेपछि सम्म आउँला भन्यो अलिकति मोटारबाटोपछि फेरि उकालो चढिहाल्ने ठाउँ रहेछ यो । बाटोमा पतकरको सर्याकसर्याक आवाजले आफू हिँड्दा आफैंलाई मज्जाको धुन दिइरहेको थियो । हिँडदै जाँदा थामलेक आयो । आहा गुराँस भन्ने लाग्यो ! त्यहाँ पनि ठाडै ओरालो, तर प्राकृतिक सिँढी । एकछिन त दिक्क लाग्यो, कति उकालो ओरालो भनेर ! एक ठाउँमा गएपछि दुई बाटो आयो । सूर्य लुकिसकेको थियो । जंगली जनावरहरू पनि लुकिसकेका थिए ।
गुराँससँग आँखा जुधाउँदै उकालो ओरालो गरिरहँदा पुगियो- हात्तीको आकारको ठूलो ढुंगो भएको पहाड अर्थात गजराम । गजराम थुम्कोबाट देखिने दृश्यले, परिदृश्यले अन्तर्दृश्य अर्कै बनाउँछ भने पनि सबै जना थाकेका थियौं ।
हामी त्यो जंगलको बीचमा छौं । ठाडो ओरालो बाटो छ । रात पर्न थाल्यो । अघिको धुलो उडाउने त्यो हुल अहिले त चारपाँच जना आआफ्नो ग्रुपमा बाँडियो । बाटो भुलेर हो कि हिँडन नसकेर हो, मान्छेहरू भेट्नै सकिँदैन । गाउँ छैन । कहीँ केही देखिँदैन । जंगलमै अन्धकार भयो । मोबाइलको टर्च बालेका राँके भूत जस्ता भयौं हामी त ! पाँच जना हिँडेका थियौं । पछाडिको मान्छेले बाटो भुले जस्तै भयो । जंगलको बीचमा दुई बाटो भएको ठाउँमा गएर कुरियो, उनीहरू आए । लगभग १३ जना भइयो । कुर्ने बहानामा आकाशका तारा गन्ने काम गर्न थाले । भोकले पेट काउकाउ गरिरहेको थियो । साधारण बिस्कुट र मकै झिके कोही साथीले । साधारण बिस्कुट र मकै असाधारण भयो ।
माण्डेबास र बालुवामा पनि निकै गुराँस रहेछ । जति ओर्ले पनि कामीडाँडा आउँदै आउँदैन । कति लाग्छ भनेर अगाडि गएको साथीलाई सोध्यो । अब आधा घन्टा भन्छन् । घडी हेर्यो अझै आउँदैन । लोथ भएको छ शरीर । आक्रान्त पारेको छ भोकले । हिँड्नुको विकल्प छैन । खुट्टा हिँड्न मानिरहेको छैन । बेथानचोकबाट उकालोओरालो गर्दै हिँडेको पौने ३ बजे वनजंगल, उकालोओरालो झर्दै चोकीडाँडा, कर्पुर महाँकाल हुँदै च्यासिङखर्क (कामीडाँडा) राति पौने ९ बजे पुगियो । खाना अमृत जस्तै भयो भोकले । खाना खाएपछि थाहा भयो । अझै केही साथी जंगलमै छन् । हराएका छन् ९ जना । गाइडलाई फेरि खोज्न पठाउने कुरा भयो ।
जुलुस मान्छेको पछि नलागी एक गाडी म्यानेज गरेर हामी ३०-३२ जना ९ः४५ मा कालो कामीडाडाँबाट हिँडियो । थाकेको शरीर, पेटमा तातो परेको भातले भुसुक्कै निदाएछु । साढे ११ बजे बिउँझिँदा त त्यो ठाउँ सागा आएको रहेछ । बाफ रे टिपरको आतंक ! दुई साइड नै टिपरहरूले भरिभराउ हुँदोरहेछ । उसको जामले हैरान बनायो । बेलुका त यो बाटो कोही नहिँडून् झैं गर्दा रहेछन् टिपरले । हर्न, धुलो तिनीहरूको दादागिरी छलेर बल्लतल्ल कोटेश्वर आउँदा १२ बज्यो । चप्पल कारखाना ओराल्दा १२ः२५ भएको थियो । राति कसलाई बोलाउने अब ! हिँड्दै आउँदा फेरि कुकुरले लखेट्यो ।
निभर्यका साथ हिँडेमा कुकुरले टोक्दैन भन्ने सुनेको थिएँ । निभर्य नै थिएँ पाँच वटा कुकुर आक्रामक तरिकाले आएपछि ढुंगा टिपे तिनीहरू हच्किए । अनि कसैले भनेको सुनेको थिएँ । ठूल्ठुलो स्वरले गीत गाउँदै हिँडेमा कुकुर ढुक्क हुन्छ अनि केही गर्दैन । दुई हातमा इँटाका डुठा र मुखले ठूलो स्वरमा गीत गाएँ । कुकुरहरू कराउँदै थिए, तर लखेटेनन् । अब राति साढे १२ बजे गीत गुनगुनाउँदै आफैंले आफैंसँग अन्ताक्षरी खेल्दै घर आउँदा लगभग १ बज्यो । हातखुट्टा धोएर ओछ्यानमा पल्टेथें- बिहान घडी हेर्दा त ८ बजेछ ।