प्रशासकीय अधिकृत गुरागाईंले सम्हाले जिम्मेवारी, महानगर प्रवक्ता भन्छन्- अब रोकिएको तलब खुल्छ (भिडिओ)
कर्मचारीले ताला फुटाएर गुरागाईंलाई कार्यकक्ष छिराए


काठमाडौं । ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।
काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने पाउनुपर्ने हो ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए ।
उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’
महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् ।
प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी पनि गरेका छन् ।