नेकपा एस मोरङमा आकांक्षीको लर्को, कागजात बोकेर अध्यक्ष मण्डल बाहिरियो


विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको नेतृत्व चयनमा सकस भएपछि निर्वाचनसँग सम्बन्धित कागजपत्र लिएर नेताहरू अधिवेशन स्थलबाट बाहिरिएका छन् ।
एकीकृत समाजवादीको मोरङ जिल्ला अधिवेशनमा आकांक्षी धेरै भएपछि नेताहरू कार्यक्रमस्थलबाट पार्टी कार्यालयतर्फ गएका छन् । तीन दिनअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले अधिवेशन उद्घाटन गरेका थिए । विराटनगरको मनास्लु होटलमा जारी अधिवेशनमा अध्यक्ष पदमा ९ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेकपा एसका पोलिटब्युरो सदस्य महेश रेग्मीले हलले अध्यक्ष मण्डललाई सर्वसम्मत नेतृत्व छान्ने अनुमति दिएकाले छलफलका लागि पाटी कार्यालय आएको बताए ।
उनले भने ‘अध्यक्षसहित पदाधिकारीमा धेरैजना आकांक्षी हुनुभएकोले थप छलफल र सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास भइरहेको छ । आज बेलुकासम्ममा हामी नेतृत्व छान्छौं ।’
अधिवेशनस्थलमा गएरातिबाट नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएको थियो । सर्वसम्मत टीम बनाउने भन्दै केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा, वरिष्ठ नेता घनेद्र बस्नेत, केन्द्रीय सचिव बलदेव चौधरी, पोलिटब्युरो सदस्य महेश रेग्मीलगायत नेता मैदानमा खटिएका छन् । तर, हलमा निर्वाचनमा जानुपर्ने माग उठेको छ । निर्वाचनमा जानुपर्ने दबाब आएपछि अध्यक्ष मण्डल नै अधिवेशनस्थल छाडेर हिँडेको प्रतिनिधिले बताएका छन् ।
हिजो छलफलविनै एकैपटक जिल्ला नेतृत्वको नाम टाँस्ने तयारी भएको थियो । प्रतिनिधिले विरोध जनाएपछि निर्वाचन समितिले मनोनयन फाराम वितरण गरेको थियो । निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्ने मत बलियो भएपछि मनोनयनको कार्य अघि बढाएर सहमतिको प्रयास स्वरूप वार्ता थालिएको एक नेताले बताए ।
अध्यक्षका निम्ति आयोजक समितिका संयोजक चन्द्रवीर राई, उद्धव पोखरेल, दिपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन गरेका छन् । तर, अध्यक्षमा पोखरेल र ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२ उपाध्यक्ष र १ सचिव पदका लागि ४-४ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला कमिटीका धेरै सदस्य भने निर्विरोध भइसकेका छन् ।
क्षेत्रगतरूपमा जिल्ला सदस्य निर्विरोध भइसकेको अहिले अन्य पदमा समेत दुई/तीन वटा नाममा केन्द्रित भई छलफल भइरहेको रेग्मीले बताए ।
अध्यक्ष मण्डलको अध्यक्षमा बलदेव चौधरी छन् । सदस्यमा ओसिम आलम, महेश रेग्मी, विद्या चाम्लिङ, सीता पौडेल, निलम ढुंगेल र सेमन्तराज भण्डारी छन् । ६ क्षेत्रगत संरचनाबाट आउनेमध्ये अधिकांश जिल्ला सदस्य निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एस मोरङको अधिवेशनमा ४३६ प्रतिनिधि सहभागी छन् ।