कोशीमा बेरुजु बढ्दो- सार्वजनिक लेखा समितिमा उठ्यो मन्त्रीमाथि कारवाहीको आवाज – Nepal Press

कोशीमा बेरुजु बढ्दो- सार्वजनिक लेखा समितिमा उठ्यो मन्त्रीमाथि कारवाहीको आवाज

विराटनगर । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रदेशमा बढ्दो बेरुजुको फर्छ्योट हुन नसकेको भन्दै मन्त्रीलाई समेत कारबाही गरिनु पर्ने माग उठेको छ ।

आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री भएका बेला अनावश्यक टुक्रे योजना हाल्ने मन्त्रीलाई कारबाही हुनु पर्ने समितिका सदस्यहरूले माग गरेका छन् ।

मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा आवश्यकता पहिचान नै नगरी स्वेच्छाचारी रूपमा साना टुक्रे आयोजनाहरू वितरण गरेको भन्दै सदस्यहरूले कारवाईको माग गरेका छन् ।

समितिका सदस्यहरूले टुक्रे योजनाको अनुगमन नहुँदा बेरुजु बढेको बताए । प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा २–३ सय योजनाहरूसम्म हाल्ने प्रवृत्तिलाई भएको भन्दै रोक्न माग गरे । उनले मन्त्रीहरूलाई जिम्मेवार बनाएर कारबाही गर्नुपर्ने प्रस्ताव गरे।

उनले भने,‘अनुगमन गर्ने संयन्त्र छैन, साना टुक्रे योजना मनपरी हालिएको हुन्छ। अब अनुगमन मात्रै होइन, साना योजनाहरू पनि कटौती गरेर जानुपर्छ ।

बैठकमा प्रदेश खेलकुद विकास बोर्डको खर्च प्रणालीबारे प्रश्न उठाएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार, बोर्डले २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६२९ जना खेलाडीका लागि ९ करोड २३ लाख ३२ हजार रुपैयाँको खर्च कुनै मापदण्डबिना गरेको पाइएको छ।

समितिका सभापति राजेन्द्र किराँतीले यसलाई महाबेथिति भएको बताए । उक्त आर्थिक वर्षमा बोर्डले गरेको १५ करोड ९५ लाख ३ हजार रुपैयाँको खर्चको आन्तरिक लेखा परीक्षण समेत भएको छैन।

बैठकमा महालेखा परीक्षक कार्यालयका नायव महानिरीक्षक बालकृष्ण थापाले आवधिक योजनाको आधारमा नीति तथा कार्यक्रम र त्यसकै आधारमा बजेट ल्याउनुपर्ने सुझाव दिए। समितिले मन्त्रालयलाई कानुनी रूपमा नीतिगत संरचना विकास गर्न र स्रोतको वास्तविक पहिचान गरेर मात्र योजना ल्याउन निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर