वडाध्यक्ष नवीनको पहल : भोजपुर नगरपालिका-८ मा फुसको छानाको समस्या हल – Nepal Press

वडाध्यक्ष नवीनको पहल : भोजपुर नगरपालिका-८ मा फुसको छानाको समस्या हल

टक्सार (भोजपुर) । भोजपुर नगरपालिका-८ ले वडालाई फुसको छानामुक्त गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमबाट यस वर्ष तीन घरको फुसको छाना हटाएर टिनको छाना लगाएसँगै वडा फुसको छानामुक्त भएको हो ।

यो वडामा जम्मा २६५ घर छन् । छाना फेर्न नसक्नेको हकमा वडाले सहयोग गरेको वडाध्यक्ष नवीन प्रधानले बताए । उनका अनुसार यस आर्थिक वर्षमा विनियोजन गरिएको डेढ लाखबाट वडावासी भिमा तामाङ, कुमार तामाङ र स्याउमाया तामाङको घरमा जस्ता लगाइएको छ । कार्यक्रमका लागि छनोट भएका तीन घरका लागि वडाको बजेटबाट जस्तापाता खरिद गरी सम्बन्धित लाभग्राहीले काठ र श्रमदान गरेका थिए ।

वडाध्यक्ष प्रधानले भने, ‘फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुने र त्यसबाट धनजनको क्षति हुने, बर्सेनी परालको छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी वडामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।’

वडाको सहयोगमा घरमा जस्ताको छानो लगाउन पाएकामा स्थानीयसमेत खुसी भएका छन् ।

‘घरमा जस्ताको छानो लगाइएको छ, अब भने बर्सेनी फुसको छानो छाउनुपर्ने बाध्यता हटेको छ’, कुमारले भने ।

-रासस


प्रतिक्रिया

One thought on “वडाध्यक्ष नवीनको पहल : भोजपुर नगरपालिका-८ मा फुसको छानाको समस्या हल

  1. समाचार सम्प्रेषणको लागि नेपाल प्रेसलाई धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *