हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक २० लाख ९२ हजार नगदसहित पक्राउ


काठमाडौं । हुण्डी कारोबारमा संलग्न एक चिनिया नागरिक २० लाख ९२ हजार नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं अन्तरगत रहेको प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ साढे ५ बजे महाबौद्धबाट पक्राउ गरेको हो ।
प्रहरी खानतलासी गर्दा उनको साथबाट २० लाख ९२,००० नगद फेला परेपछि उक्त रकम सहित उनलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति पाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा तिब्बत स्थायी ठेगाना तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भएर अहिले बौद्ध बस्दै आएका २६ वर्षका रिक्से वाङमो रहेका छन् ।
उनको साथबाट एक हजार दरको नोट १ हजार १८३ थान सहित जम्मा ११ लाख ८३ हजार, ५०० दरको नोट १ हजार ८१८ गरेर जम्मा ९ लाख ९ हजार रहेको थियो भने आइफोन कम्पनीको एक थान मोवाइल पनि रहेको थियो ।