राजावादी र गणतन्त्रवादीको आन्दोलनमा कति थिए सहभागी ? सरकार विवरण सच्याएको सच्याइ
गृह मन्त्रालयले सच्याएर दिएको आँकडा पनि प्रहरीसँग बाझियो


काठमाडौं । गत चैत १५ गते एकै दिन गणतन्त्रवादी र राजावादी शक्तिहरुले गरेको बेग्लाबेग्लै प्रदर्शनमा कति मानिस सहभागी भएका थिए ? आयोजकले गर्ने दावी एक ठाउँमा हुन्छ, तर सरकारले आधिकारिक तथ्यांक दिने विश्वास गरिन्छ । तर, यसपाली भने सरकारको चश्मा नै ‘पूर्वाग्रही’ देखिएको छ । कसरी त ?
उक्त प्रदर्शनक दिन साँझ गृह मन्त्रालयले एउटा पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले दुवै प्रदर्शनको विवरण दिएका थिए ।
सुरुमा रिजालले राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा १० देखि १२ हजार जना सहभागि भएको जानकारी आएको बताए । यस्तै, गणतन्त्रवादीको प्रदर्शनमा भृकुटीमण्डपमा १८ हजार आएको दावी उनले गरे । तर, उनी यो आँकडामा टिक्न सकेनन् ।
केहीबेरपछि उनले अर्को जानकारी आएको भन्दै विवरण सच्याए । त्यसमा उनले राजावादीको संख्या आधा घटाए भने गणतन्त्रवादीको दोब्बर बढाइदिए ।
पछिल्लो जानकारीको हवाला दिँदै रिजालले समाजवादी मोर्चाको प्रदर्शनमा ३५ हजार जति मानिसहरु आएको बताए । यस्तै, राजावादीतिर भने ३ देखि ४ हजार मात्रै आएको उल्लेख गरे ।

तर, गृह मन्त्रालयले दिएको यो विवरणलाई सोही मन्त्रालय मातहतको नेपाल प्रहरीले काटेको छ । हिजो आयोजित पत्रकार सम्मेलनमा प्रहरीका उच्च अधिकारीले राजावादीको संख्याबारे फरक तथ्यांक प्रस्तुत गरे ।
प्रहरी प्रवक्ता समेत रहेका डीआइजी दिनेश आचार्यले फेरि राजावादी आन्दोलनको जनसहभागीता बढाइदिए । तीनकुनेमा कुल मिलाएर १२ हजार जना सहभागी भएको आँकडा उनले पेश गरे ।
पत्रकार सम्मेलनमा बताइए अनुसार सुरुमा तीनकुनेमा ३ हजारदेखि ३५ सय जम्मा भएका थिए । त्यसपछि जावलाखेल बालकुमारीबाट ३ हजारको संख्यामा थप प्रदर्शनकारी त्यहाँ आए । यसैगरि सुकेधारा चाबहिलबाट २ हजारको संख्यामा थपिए ।
पछि भक्तपुरतिरबाट दुर्गा प्रसाईंको नेतृत्वमा ३०००/३५ सयजना थपिएको डीआइजी आचार्यले जानकारी दिए । उनले उल्लेख गरेको सबै संख्या जोड्दा ११ देखि १२ हजार पुग्छ ।

गृह मन्त्रालय र प्रहरीकै आँकडा फरक परेपछि कुनलाई आधिकारिक मान्ने भन्ने प्रश्न खडा भएको छ । त्यसो त तीनकुनेमा ३-४ हजार मात्रै आएको बताइएपछि ३५ सय प्रहरीले पनि उनीहरुलाई किन नियन्त्रण गर्न सकेनन् भन्ने प्रश्न उठेको थियो । त्यसैले पनि प्रहरीले अंक बढाउन बाध्य भएको हो कि ?