पार्टी एकता गर्न निर्णायक वार्तामा सीके र रेशम, बन्ला त प्रतिनिधिसभामा तराई-मधेशको सबैभन्दा ठूलो दल ? – Nepal Press

पार्टी एकता गर्न निर्णायक वार्तामा सीके र रेशम, बन्ला त प्रतिनिधिसभामा तराई-मधेशको सबैभन्दा ठूलो दल ?

कैलाली । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रेशम-रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ । दुवै दलका नेताहरूबीच एकताको विषयमा निर्णायक छलफल सुरु भएको हो ।

कोहलपुरस्थित गाभर भ्यालीमा एकताको अधिकांश विषय टुंगो लगाउन छलफल सुरु भएको स्रोतको दाबी छ । अहिलेसम्म रेशम चौधरी पहिलो वरीयतामा संरक्षक रहने गरी छलफल अन्तिम चरणमा पुगेको छ । दोस्रो वरीयतामा कार्यकारी अध्यक्ष सीके राउत रहनेछन् ।

तेस्रो वरीयतामा संघीय परिषद् अध्यक्षमा रञ्जिता श्रेष्ठ रहनेछिन् । चुनाव चिह्न ढकिया र पार्टीको नाम नागरिक जनमत रहने करिब टुंगो लगाइएको छ । भोलि कार्यदलको बैठक आह्वान गरिएको छ । त्यसलगत्तै विधान प्रतिस्थापन समितिले बाँकी काम टुंगो लगाउनेछ ।

वैशाख १५ भित्रै एकता गर्नेगरी दुवै दलले छलफल गरिरहेका छन् । आज दुवै दलका नेताहरुले एकीकरणको लागि अधिकांश विषय टुंगो लगाउनेछन् ।

एकताको लागि ९ बुँदे सहमतिको खाका बनाइएको छ । उक्त खाकाका विषयमा दुई दलका नेताबीच सहमति जुटेपछि एकताको घोषणा गर्ने तयारी छ ।

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टी प्रतिनिधिसभाको छैटौं ठूलो दल बन्नेछ । अहिले संसदमा रहेका १३ वटा दलमध्ये जनमत आठौं र नागरिक उन्मुक्ति एघारौं पार्टीको रूपमा छन् । यदि यी दुई दलबीच एकता भयो भने त्यो पार्टी छैटौं ठूलो दल बन्नेछ । एकीकृत पार्टीको सांसद संख्या १० हुन्छ ।

प्रतिनिधिसभामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सीट नै छ । तराईको सबैभन्दा ठूलो पार्टी जसपा नेपाल थियो । जसपा नेपाल विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता भए याे प्रतिनिधिसभामा तराई-मधेशको सबैभन्दा ठूलो दल बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर