इन्द्रजात्राको यः सिं यसरी ठड्याइयो (तस्वीर र भिडिओ) – Nepal Press

इन्द्रजात्राको यः सिं यसरी ठड्याइयो (तस्वीर र भिडिओ)

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ । सबै तयारी यसअघि नै गरेर ६:५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरएको हो ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् यः सिं ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।

भदौ २३ गते बुधबार बिहान १०:५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी बेलुकी ७:२७ मा यः सिंका लागि रुख काटिएको थियो । यः सिंका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । भदौ २९ गते बिहान १०:३४ बजे भोटाहिटीबाट यः सिं नगर प्रवेश गराइएको थियो ।

इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताए ।

      






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर