सातपटक प्रधानमन्त्री बन्छु भन्ने देउवालाई गिज्याउने विश्वप्रकाशको यो प्रस्ताव – Nepal Press

सातपटक प्रधानमन्त्री बन्छु भन्ने देउवालाई गिज्याउने विश्वप्रकाशको यो प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा शासन गरिरहेका छन् । मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्ने दाउमा पनि छन् उनी ।

अघिल्लो संसदीय निर्वाचनका बेला प्रधानमन्त्रीको भूमिकामा रहेका देउवालाई लक्ष्यित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ भनि टिप्पणी गरेका थिए । साढे ३ वर्षपछि ओलीलाई गलत सावित गर्दै देउवा पाँचौपटक मुलुकको प्रधानमन्त्री भए । ओलीलाई जवाफ फर्काउँदै देउवाले त्यतिबेलै ‘ज्योतिषीका अनुसार आफू सातपटक प्रधानमन्त्री बन्ने’ दावी गरेका थिए ।

अहिले उनै देउवाका विश्वासपात्र मानिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक नेतृत्वबारे नयाँ प्रस्ताव ल्याएका छन् । महाधिवेशनमा महामन्त्री लड्ने घोषणा गरेका शर्माले ‘वान, टु, थ्री, फोर’ भन्दै गरेको प्रस्ताव देउवासहित कांग्रेसका धेरै नेतालाई प्रिय नलाग्न सक्छ । शर्माको प्रस्तावमा राजनीतिज्ञले १ पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसदको शपथ लिनु उपयुक्त हुने उल्लेख छ ।

‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्दतितर्फ मोडौं । जस्तै अब एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथ । यसलाई व्यवहारमा अनुसरण गर्न सम्भव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ,’ शर्माको प्रस्ताव छ ।

देउवालाई गिज्याउने प्रस्ताव

कांग्रेसको १३ औं महाधिवेशनमा देउवाकै क्याम्पबाट केन्द्रीय सदस्य जितेका शर्मालाई उनै देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए । सभापतिमा दोहोरिने तयारीमा रहेका देउवाले आफ्नो टिमबारे छलफल थाल्न नभ्याउँदै शर्माले गत भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरे ।

एकल उम्मेदवारीप्रति देउवा समूहमा असन्तुष्टी यथावत छँदै शर्माको प्रस्तावले फेरी निकटस्थहरुलाई निराश बनाएको छ । शर्मा कांग्रेसको महामन्त्री बन्ने र उनको प्रस्ताव कार्यान्वयन हुने अवस्थामा देउवासहित धेरै सिनियर नेताहरुको राजनीतिमाथि प्रश्न उठ्नेछ । लगातार ६ पटक सांसद बनेका देउवा अबको संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, बालकृष्ण खाँण लगायतका नेताहरु पनि चारपटक सांसद भइसकेका छन् । शर्माको प्रस्तावको आशय राजनीतिमा आगमन र बहिर्गमनका लागि भनिए पनि कांग्रेसको विद्यमान संरचनामा कार्यान्वयन हुन गाह्रो छ ।

‘विश्वजीले गरेको प्रस्ताव अहिलेको कांग्रेसका लागि होइन । उहाँको प्रस्ताव लोकप्रिय त बन्ला तर लागू चै हुँदैन’, कांग्रेसकै एक नेताले भने । राजनीतिमा उमेर र अनुभवलाई बर्जित गर्ने प्रस्ताव विश्वप्रकाशबाट आउन नहुने उनले बताए । कुनै बेला ‘राजनीतिमा एज नभएर एजेण्डा मुख्य हुने’ बताउने शर्माको प्रस्तावले घुमाउरो ढंगले राजनीतिमा उमेरकै प्रश्न उठाएको ती नेताको दावी छ ।

‘जित्नेले होइन हार्नेले छाड्नुपर्छ’

शर्माले आफ्नो प्रस्तावलाई सार्वजनिक बहसका निम्ति खुला गरेको बताएका छन् । कुन पदमा कतिपटक रहने भन्ने शर्माको सूत्रलाई उनको अवधारणमा ‘मेरो पुस्तालाई प्रस्ताव वान, टु, थ्री फोर’ भन्ने शीर्षक अन्तर्गत उल्लेख गरेका छन् ।

उनकै पुस्ताका कांग्रेस नेताहरु शर्माको प्रस्ताव ‘अराजनीतिक’ भएको टिप्पणी गर्छन् ।

‘सांसद हुने चुनाव जितेर हो । जनताले कसैलाई ५ पटक, ६ पटकसम्म आफ्नो जनप्रतिनिधिका रुपमा छान्न किन नपाउने ? चुनाव जित्नेले जतिपटक सांसद भएपनि हुन्छ, हार्नेहरुले हो छोड्नपर्ने,’ शर्माको प्रस्तावमा असहमत एक नेताले भने । आक्रोशित मुद्रामा ती नेताले भने, ‘बरु २ पटक एउटै क्षेत्रमा चुनाव हार्नेले कुनै पनि पदमा दावी गर्न नपाउने प्रस्ताव ल्याउनुपर्छ ।’

पार्टीका लागि होइन, देशकै लागि हो: शर्मा

आफ्नो प्रस्ताव सार्वजनिक गर्नेक्रममा शर्माले कांग्रेसको आन्तरिक संरचनाका लागि मात्रै नभएर समग्र राजनीतिमा परिवर्तन ल्याउन आफूले प्रस्ताव राखेको बताए ।

‘मैले मेरो पुस्ताका लागि प्रस्ताव राखेको हो । कानून भनेको बनिसकेपछि लागु हुन्छ । त्यसैले अब यो प्रस्ताव कार्यान्वयनमा जाँदा जो-जति योग्य भए पनि १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटकभन्दा बढी सांसद हुन पाउने छैनन् । यो निश्चित समयभित्र जे-जे काम गर्नुछ गरेर सम्मानजनक बिदा लिनुपर्छ,’ शर्माले भने । उनले राजनीतिमा परिवर्तन गर्ने हो भने प्रणालीको विकास गर्न सो मोडल कार्यान्वयनमा लैजानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर