दुनियाँलाई निको पारिन्, आफूसँगै परिवारै ढाल्यो
काठमाडौं । त्यो क्षण डा. स्वीकृति खतिवडाले कहिल्यै नबगाएको आँसु बगाउनुपरेको थियो । अल्का अस्पतालबाट भारी मन लिएर फर्किरहँदा उनका पाइला घरसम्म लम्किरहन पनि काँप्थे । रोगले च्यापिरहेका बा–आमालाई बाटोमा सम्झँदै झस्किन पुग्थिन् । ‘मेरो कारण उहाँहरूलाई रोग सर्ने त होइन !’ अनुहारभरि चिन्ता बोकेर घर पुग्थिन् ।
पुग्नेवित्तिकै शुरुमा सावर लिन्थिन्, स्यानिटाइज गर्थिन् । त्यसपछि एक्लै कोठाभित्र धुमधुम्ती बस्थिन् ।
यो नियमित दिनचर्या जस्तो भइसकेको थियो । यतिबेला डाक्टर हुँ भनेर गर्व गर्नुमा उनी खुशी थिइनन् । यही पेशाका कारण कुनै समय मानिसहरू नजिकिन्थे । सम्बन्ध बनाउन मरिमेट्थे । तर, ती दिनमा नजिकिएका साथीहरू त्यसक्षण टाढिंदै गएका थिए । ‘स्वीकृति डाक्टर हो । उसलाई नभेट्नू, कोरोना सर्छ’ परिचितका शब्दहरू कानसम्म आएर ठोक्किएपछि उनको हृदय बिझाउँथ्यो ।
अनुभूति यतिसम्म नमीठा थिए, खाजा खान जाँदा पनि सेतो एप्रोनदेखि मानिसहरू तर्सिन्थे । कसैले सोधिहालेमा पेशा लुकाएर हिंड्नुपर्ने बाध्यता थियो । वरिपरिका छिमेकीले कानेखुसी गर्दै भन्थे– यो घरमा त डाक्टर बस्छ ! कसैले मुखै पनि फोड्थे– अझै काममा गइरहेकी छ्यौ ? अब छाडिदिए पनि हुन्थ्यो !’
बा–आमाको भावमा पनि त्यही आग्रह झल्कन्थ्यो– ‘अस्पतालबाट सर्छ कि ? बरु नजाऊ, छाडिदेऊ !’
निराशाको तुवाँलो स्वीकृतिको अनुहारभरि ढाकिन्थ्यो । चैत महिनायता केही स्टाफले धमाधम काम छाडिरहेका थिए । उनी गम्भीर भएर सोच्थिन्– ‘बच्चैदेखिको सपना । नयाँ महामारी आयो भन्दैमा कसरी छाड्नु ? आफूलाई प्रमाणित गर्ने यस्तै बेलामा त हो नि !’
भर्खरै कोभिड–१९ नेपाल भित्रिएको बेला नागरिकहरू त्रासमा रुमल्लिएका थिए । सरकारले देशमा लकडाउन गरिसकेको थियो । प्रायः अस्पतालबाट कोरोना फैलन्छ भन्ने डर अधिकांशमा थियो । बाहिर मात्र हैन, अस्पतालभित्रै पनि त्यही त्रासले स्टाफहरूलाई चिन्तित बनाएको थियो ।
‘जुन बिरामी आए पनि कोरोना नै हो कि भन्ने डर हुन्थ्यो । यसले गर्दा आफ्नै पेशामा निराश भइयो’, स्वीकृति सम्झिन्छिन् ।
लुम्बिनी मेडिकल कलेज पाल्पाबाट दुई वर्षअघि एमबीबीएस गरेकी थिइन् स्वीकृतिले । त्यसलगत्तै अल्का अस्पतालबाट डाक्टरी पेशामा होमिएकी थिइन् उनी । शुरुदेखि नै आकस्मिक कक्षमा थियो उनको ड्यूटी । काम शुरु गर्दायता उनलाई यसपालि जस्तो डर यो दुई वर्षमा कहिल्यै लागेको थिएन ।
वैशाखतिर, अर्थोपेडिक डिपार्टमेन्टमा काम गर्ने एक नर्सलाई अस्पतालमा पहिलो पटक कोभिड देखियो । उनलाई कोभिड देखिएसँगै स्टाफहरू सबैमा डरको घण्टी बज्न थाल्यो । सञ्चारमाध्यममा यो घटनाबारे समाचार छापिए । स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि अन्योलता बढ्दै गएको थियो । ‘त्यसपछि त अस्पतालदेखि घरसम्म डरैडर । चैनको सास फेर्ने त समय नै थिएन’, स्वीकृति सम्झिन्छिन् ।
जब बा–आमालाई कोरोनाले गाल्यो
स्वीकृतिले हरदिन जे नहोस् भनेर कामना गरेकी थिइन्, त्यही भयो । परिवारमा पहिलो पटक बालाई ज्वरोको लक्षण देखियो । ६६ वर्षका थिए, बा । त्यसमाथि डाइबेटिज र प्रेसरका रोगी । शुरुमा १०२ डिग्री ज्वरो देखियो । स्वीकृति सशंकित भइन्– ‘कतै कोरोना त हैन !’
उनले बालाई औषधि चलाउन शुरु गरिन् । दुईदिनसम्म औषधि चलाउँदा पनि ज्वरो घटेन । लगत्तै आमालाई पनि बाकै लक्षण देखियो । ५७ वर्षकी थिइन् आमा । आमा पनि प्रेसर र डाइबिटिजको रोगी । दुवैलाई स्वाद हराउने, गन्ध हराउने, ढाड दुख्ने र लगातार ज्वरो आउने खालका लक्षण सँगै देखिन थाले ।
उनी कार्यरत अस्पतालमा एउटै बेड पनि खाली थिएन । अरू अस्पताल पनि प्याक । उनले घरमै राखेर बा–आमाको उपचार गर्ने सोच बनाइन् । तर, दुवैलाई कमी भएन । तेस्रो दिन उनका दाइलाई पनि १०१ डिग्री ज्वरो आयो । अब उनले कोरोना नै हो भन्ने ठम्याइन् । त्यसपछि तिनै जनालाई पीसीआर टेस्ट गराउन लगिन् । त्यस दिनको ११ बजे रिपोर्ट आयो– पोजेटिभ !
शुरुमा त उनी अत्तालिइन् । अब के गर्ने ? भोलिपल्ट बा, आमा र दाइलाई कोरोना पोजेटिभ भएको जानकारी गराइन् । घरका सबै जना अत्तालिए । तनावपूर्ण स्थिति थियो, त्यो । आफूबाहेक सबै सदस्यलाई कोरोना देखिएको थियो । उनले अस्पतालमा खबर गरिन्, ‘घरमा सबैलाई कोरोना देखियो । म ड्युटी आउँदिनँ ।’
त्यसपछि उनी बा, आमा र दाइको उपचारमा लागिपरिन् । त्यसको भोलिपल्ट बालाई सास फेर्न गाह्रो भयो । ज्वरो घटेन । अक्सिजन पनि ९० भन्दा तल घट्यो ।
अब घरमा राख्नु उचित थिएन । उनले तुरुन्त अस्पताल लगिन् । दाइको भने अवस्था सामान्य थियो । बा–आमा दुवैको रिपोर्टमा छातीमा समस्या धेरै देखियो । निमोनिया पनि थियो । कोभिडले बा–आमा निकै गल्दै गइरहेका थिए । तर, अस्पतालमा खाली बेड थिएनन् । ‘मैले चेस्ट फिजिसियन डाक्टरहरूसँग कन्सल्ट गरें । उहाँहरूले हेरेर भन्नुभयो– केस क्रिटिकल छ, भर्ना नै गर्नुपर्छ’, स्वीकृति सुनाउँछिन् ।
त्यो दिन बेड नपाएपछि इन्जेक्सन क्यानेला घरमै ल्याएर बा–आमाको उपचार गरिन् । भोलिपल्ट अस्पतालमा बेड खाली भयो । बिहान सबेरै बा–आमालाई अस्पताल ल्याएर उपचार शुरु गरिन् । ‘त्यतिबेला दाइको अवस्था सामान्य भइसकेको थियो । बा–आमाको अवस्थाले भने चिन्तित तुल्याएको थियो’, उनी सुनाउँछिन् ।
‘अस्पतलामा करिब ९ दिनको उपचारपछि बा–आमालाई सुधार देखिंदै गयो । अक्सिजनको मात्रा पनि बढ्दै गयो । निको हुने छाँट देखिएपछि डिस्चार्ज गर्ने योजना बनायौं’ डा. स्वीकृति सुनाउँछिन् ।
त्यसपछि आफैं थलिइन्…
बा–आमा निको भएर घर जानु अघिल्लो दिन स्वीकृतिको जिब्रोले स्वाद लिन छाड्यो । नाकले वास्ना पनि लिएन । अचानक ज्वरो बढेर १०३ डिग्रीमा उक्लियो । औषधि लिइन्, निको भएन । इन्जेक्सन चढाएर पनि निको भएन । झन्झन् शिथिल हुँदै गएकी थिइन् ।
बा–आमा डिस्चार्ज भएको दिन त्यही बेडमा उनी भर्ना भइन् । ‘यो दुःखको कुराले बा–आमा आत्तिनुहुन्थ्यो । उहाँहरूलाई मेरो ड्यूटी छ भनेर साथीहरूलाई भन्न लगाएँ । अनि उहाँहरू घर जानुभयो, मेरो भने उपचार शुरु भयो’, उनी भावुक सुनिइन् ।
आफू बेडमा सिकिस्त भइरहँदा पनि उनलाई चिन्ता भने बा–आमाकै थियो । कोभिड जितेर गएकोमा खुशी पनि थिइन् उनी ।
अचानक स्वीकृतिको श्वासप्रश्वासमा समस्या देखियो । अक्सिजन घटेर ८०/८४ मा पुगेको थियो । उनको रिपोर्टमा निमोनिया बढेर छाती बिग्रिएको देखियो । ६ दिनसम्म त ज्वरो १०४ डिग्रीबाट तल झरेको थिएन । रक्तचाप घटेको थियो । संक्रमणले गाल्दै गइरहेको बेलामा स्वीकृतिका कोही आफन्त नजिक थिएनन् । उनलाई लागेको थियो– अब बाँच्दिन होला ।
स्वीकृतिलाई आईसीयूमा राख्नुपर्ने अवस्था आयो । उनको साथी थिइन् डा. सम्झना पोखरेल । उनले त्यतिबेला रत्तिभर छाडिनन् स्वीकृतिलाई । साथीको स्वास्थ्य सुधार्न डा. सम्झना दिलोज्यानले लागिन् ।
करिब १० दिनपछि स्वीकृति तंग्रिइन् । शारीरिक रूपमा सहज महसूस गर्न थालिन् । तर, मानसिक रूपमा उत्रिन भने निकै समय लाग्यो ।
मर्छु कि भन्ने डर
कोरोनाबाट तंग्रिसक्दा पनि स्वीकृतिमा अनौठा समस्या देखापर्न थाले । एक्लै हुँदा भित्ताहरू हेरेर टोलाइरहन्थिन् । कसैसँग बोल्ने उत्साह थिएन उनमा । नजिकका मान्छे गुमाउँछु भन्ने डरले अत्तालिइरहन्थिन् । कुनै ठूलो पहाडले थिचेको भानले उनलाई सताइरहेको थियो । स्कुटर लिएर घरबाहिर हिंड्दा मर्छु कि भन्ने डरले हात थर्थराउँथ्यो ।
‘कोरोनाले त बाँचे, अरु कुराले मर्छु कि भन्ने लागिरह्यो’, उनी भावुक मुद्रामा सुनिइन् । उनको अनौठो स्वभाव देखेर साथीहरू र बा–आमा अत्तालिन थाले । आखिर उनलाई साइक्याट्रिक परामर्शको आवश्यकता नै पर्यो ।
परामर्शको क्रममा थाहा भयो, उनलाई अड्युटरी ह्यालुसिनेसन भएछ । ‘म बिरामी भएर अस्पताल बस्दा मान्छेहरू रोएको, चिच्याएको कुराले नमीठो छाप पारेको थियो । सपनामा पनि आफ्नै कुरा गुमाएको देखेपछि म आधारातमै आत्तिन्थें’, स्वीकृति सुनाउँछिन् ।
अस्पतालमा कोरोनाले बितेकाहरूको शव आफन्तले छुन पाउँदैनथे । त्यो बेला रोएको आवाजले उनलाई धेरै दिन सताइरह्यो । घर जाने बित्तिकै पनि स्वीकृति आफन्तसँग भेट्न पाएकी थिइनन् । यसले पनि उनको मस्तिष्कमा गहिरो प्रभाव पारेको थियो ।
‘परामर्शपछि म मानसिक रूपमा ठीक हुँदै गएँ । परिवारसँग समय खर्चिन, साथीहरू भेट्न थालें । त्यसपछि रिकभर हुँदै सामान्य अवस्थामा आएँ’, स्वीकृति सुनाउँछिन् ।
झण्डै एक महिना आफ्नो र परिवारको स्वास्थ्यका लागि निकै कष्टकर भयो स्वीकृतिको लागि । उनले आफू, परिवारको लागि मात्र लडिनन्, पुनर्जीवनको आशामा अस्पताल आएका संक्रमितहरूको लागि पनि लडिन् ।
हुन त अहिले पनि कोभिड सकिएको छैन । उनको जिम्मेवारी घटेको छैन । तापनि उनी पछि हटेकी छैनन् । उनको अनुभवले भन्छ– अब थाक्नुहुँदैन ।