महासचिव छान्न नेकपा एसको बैठक लम्बियो, युवालाई ल्याउनुपर्ने दवाव – Nepal Press

महासचिव छान्न नेकपा एसको बैठक लम्बियो, युवालाई ल्याउनुपर्ने दवाव

काठमाडौं । महासचिव छान्नुपर्ने र कार्यविभाजन गर्ने काम नसकिएकाले दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक लम्बिएको छ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्तावलाई राजनीतिक सुझावसहित पारित गरिसकेको भए पनि कार्यविभाजन नटुंगिएकाले लम्बिएको हो । बैठक भोलि ११ बजेदेखि पुनः बस्दै छ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने भोलिको बैठकबाट महासचिव चुन्ने र कार्यविभाजन टुंगो लगाउने बताए । ‘भोलिको बैठकमा हामी महासचिव चयन गर्ने छौं,’ बैठकबारे त्यसैगरि स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सदस्यहरुको अन्तिम टुंगो लगाउने छौं ।’

केन्द्रीय सदस्य राजेन्द्र राईले महासचिवमा युवा र संगठन विस्तारका लागि देशभर खटिनसक्नेलाई महासचिव र अन्य पदमा प्राथमिकता दिनुपर्ने सुझाव बैठकमा आएको बताए।

नेकपा एसनिकट अनेरास्ववियूले पनि पार्टीमा महत्वपूर्ण पदमा युवालाई प्रथामिकता दिनुपर्ने बताएको छ । अध्यक्ष सुदेश पराजुलीले पहिलो पुस्ताबाट महासचिव भइसकेकाले त्यसपछिको पुस्ताबाट महासविच बनाउनुपर्ने र अन्य पदमा युवालाई प्रयाप्त स्थान दिनुपर्ने बताए । यी विषयलाई आफूहरुले लिखित सुझावका रुपमा अध्यक्ष माधव नेपाललाई दिन लागेको पनि पराजुलीले जानकारी दिए।

प्रचार विभाग प्रमुख खतिवडाले पनि महासचिवमा पुराना र युवा पुस्ता दुवैको दावी आएको बताए। ‘धेरै योग्य र सक्षम नामहरु छन्,’ उनले भने, ‘पुराना र नयाँ दुवै पुस्ताका दावी त्यसमा छन् । हामी त्यसबाट एउटा निष्कर्ष निकाल्ने छौं ।’

केन्द्रीय कार्यलय संचालनका लागि बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय सचिवाल बनाएकाले कतिपयले उनी नै महासविच हुने पनि ठानेका छन् । तर, भुसाल लगायत मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका छन् ।

नेताहरु आजै बसेर यो विषय टुंग्याएर भोलिको बैठकमा प्रस्तुत गर्ने र केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर