कपनको ढलले निलेका बालक उज्ज्वल ! (फोटो/भिडियो) – Nepal Press
कपनको ढलले निलेका बालक उज्ज्वल ! (फोटो/भिडियो)
शर्मिला पण्डित २०७८ असोज ८ गते २०:५५
सरोज बैजु २०७८ असोज ८ गते २०:५५

काठमाडौं । गत मंगलबार राति सवा नौ बजे कपन क्षेत्रमा मुसलधारे पानी पर्यो । आफ्नो हजुरबासँग फुपुको घरबाट फर्किँदै थिए १० बर्षिय उज्ज्ववल विश्वकर्मा । पानीले चुटेपछि हजुरबा-नाति ओत लागे ।

हजुरबा आफ्नै धुनमा थिए । नाति अचानक त्यहाँबाट अलप भइगए । यताउता खोज्दा नभेटिएपछि घरतिर लागे हजुरबा । तर, घरमा पनि उनी थिएनन् । गए कहाँ ? आज ४ दिनसम्म पनि उज्ववल भेटिएका छैनन् ।

त्यही रात, त्यही समय, त्यही ठाउँमा एक बालक ढलभित्र खसे । बुढानिलकण्ठ नगरपालिका-१२ आनन्दटोलमा रहेको उक्त ढल धेरै दिनदेखि ह्वाङ्गै थियो । ठूला पानी पर्दा ढल बढेर बाटो जलाम्य हुने गर्छ । पानी भरिएर ढलको खाल्डो पनि देखिँदैन । प्रत्यक्षदर्शीका अनुसार एक बालक पानीमा उफ्रिदा उफ्रिदै ढलमा खसेका थिए ।

ढलमा खसेका बालक आज चार दिनसम्म भेटिएका छैनन् । प्रहरीले ती बालक को हुन् भन्ने अहिलेसम्म निधो गरेको छैन । यद्यपि, सबै विवरणहरुले उज्जवलतिरै संकेत गर्छन् । हजुरबा-हजुरआमाहरु आफ्नो नातिलाई ढलले बगाएको भनेर विलौना गरिरहेका छन् ।

०००

शुक्रबार हामी उज्ज्वलको साततलेस्थित छाप्रोमा पुग्दा बेदनामय माहोल थियो । हजुरआमा धनमाया विश्वकर्मा बेहोसी हालतमा नाति ‘मेरो नाति…’ भन्दै बर्बराइरहेकी थिइन् । उनका श्रीमान मंगले टाउकोमा हात राखेर झोक्राइरहेका थिए । जेठी छोरी अनितापट्टिका नातीनातिनीहरु र अरु केही आफन्त पनि थिए ।

‘आमा आमा म फूपूको घर जान्छु है भनेको अहिले जस्तो लाग्छ,’ विलौना गर्दै धनमायाले भनिन्, ‘त्यही नातिको मुख हेरेर बुढेसकाल बिताइरहेकी थिए, त्या पनि दैवले खोस्यो ।’

अझै पनि नाति आएर ‘आमा… आमा…’ भनेको झझल्कोले सताउँछ उनलाई ।

उनीहरु बस्ने टहरो पनि धोवीखोलासँगै छ । नातिलाई बगाएर ल्याएको खोलाले पानी घटेपछि न पाखा पो लगाइदियो कि भनेर खोज्न पुग्छिन् । तर निराशा मात्रै हात पर्छ । ४ दिनदेखि दिनदेखि उनको दैनिकी नै यही बनेको छ । सास नभेटाए पनि लाश पो भेटिन्छ कि भनेर उनी खोलामा पुगिरहन्छिन् ।

धनमाया रुँदै भन्छिन् ‘यसो हिँडु्छु खोलातिर कतै भेट्छु कि भनेर । उसको लाश त देखे पनि मन बुझाउन हुन्थ्यो ।’

०००

उज्ववल ११ महिनाको हुँदा आमाले अर्को बिहे गरिन् । त्यही बेलादेखि बुवा पनि साथमा छैनन् । बुवा कहाँ छन्, कसैलाई थाहा छैनन् । उज्ववललाई हजुरबा-हजुरआमा र फुपुले हुर्काएका हुन् ।

कपनको साततले भन्ने ठाउँमा रहेको सुकुम्वासी वस्तिमा बस्छन् हजुरबा-हजुरआमा । फुपु अनिता विश्वकर्मा कोइराला कपनको खरिबोटमा चिया पसल चलाउँछिन् । स्थानीय स्कुलको दुई कक्षामा पढ्थे उज्ज्वल । लकडाउनले राम्रोसँग स्कुल जान नपाएपछि उनी दुई-तीन दिन बिराएर फूपुकोमा गइरहन्थे ।

अनिता पनि पहिले बुबाआमासँगै बस्थिन् । तर पसल खरिबोटमा भएकाले सातेतलेबाट पसल आउजाउ गर्न गाह्रो हुने र बाटोको कारण खरिबोटमै कोठा लिएर बसेकी थिइन् । बुवाआमाको घरबाट छोरीको घर पुग्न आधा घण्टा लाग्छ ।

त्यो दिन मंगले उज्वललाई लिन छोरीको कोठा खरिबोट पुगेका थिए । हजुबालाई भेटेपछि बुबा आउनुभयो भन्दै छेउमा गएर बसे ।

‘फुपु म साततले जान्छु है’ उज्ववलले भने, ‘भोली बिहानै आउँछु नि ।’

अनिताले भनिन्, ‘हुन्छ, खाजा खाएर जा न त ।’

अनिताले चाउमिन बनाएर खान दिइन् । ‘बुबा, रात परिसक्यो छिटो जाउँ’ भन्दै उज्ववले नै घच्घच्याए । त्यसपछि नाति लिएर मंगले बाटो लागे । त्यतिञ्जेल पानी परेको थिएन । दिनभरी घाम चर्केको थियो । अरु दिन आउने बाटोभन्दा अर्कै बाटो आए उनीहरु ।

उनीहरु हिँड्दा ८ बज्दै थियो । मंगलेले अलिकति रक्सी पनि पिएका रहेछन् । आउँदा आउँदै बाटोमै पानीले चुट्न थाल्यो । अरु बेला १५ मिनेट पानी पर्दा नै कपनमा बाढी आउथ्यो । उनीहरुको कपन आनन्दचोक आइपुगेपछि ओत लागेर बसे । उज्ववललाई भने हिँड्न हतार थियो ।

मगंले त्यस दिनको घटना सम्झन्छन्, ‘नातिलाई पख …पख.. पानी रहेपछि जाउँला’ भनिरहेको थिएँ । कतिबेला हिँड्यो थाहै पाइनँ ।’

ढलको मंगलमाथि ढलान गरेर सडक बनाइएको थियो । तर तल ह्वाङ्गै थियो । बाढी आएर बाटो र खोला छुट्याउनै सक्ने अवस्था थिएन । बीच सडकमा खोला बढेको उज्ववले पत्तो पाएनन् । नाति-हजुरबा छुट्टिएको अलिकति मात्रै तल ढलमा बाढी आएको थियो । सम्भवत त्यहीँबाट उज्ववल खसे ।

बच्चा खस्दा त्यहीँ नजिकको डेरी पसलका साहुले देखेका थिए । उनी ‘ओइ फुच्चे रोक रोक’ भनेर चिच्याए, तर बच्चाले सुनेनन् । अगाडि बढ्दा ढलको भुमरीमा परेर त्यही बिलाए ।

त्यतिन्जेलसम्म मंगलेलाई पत्तो थिएन । उनी सरासर घर आए । तल ढल भएको ठाउँमा आइपुग्दा टन्नै प्रहरी ‘बच्चा खस्यो… बच्चा खस्यो…’ भन्दै खोजी गरिरहेका थिए । प्रहरीको हुल देखेर एकछिन त मंगले अलमलमा परे । तर, केही नसोधी त्यही ढल नजिकबाट हिँड्दै थिए । उनले पनि ढलमा बाढी आएर खाल्डो नै देखेनन् ।

‘त्यहीँबाट जान खोज्दै थिएँ, एकजना प्रहरीले आएर पाखुरामा समातेर के हो बुढा मर्न मन छ कि के हो ? भन्दै तानेर ल्याए,’ उनले सुनाए ।

मंगले त्यही भङ्गालोमा खस्नबाट बचे । तर नाति घरपुगिसक्यो होला भनेर घरमा आएर सुते । अरु बेला आमासँगै सुत्ने गरेकाले आफूले धेरै खोजिनिति नगरेको उनी बताउँछन् । बिहान उठेपछि बल्ल श्रीमतीलाई सोधे, ‘नाति खोइ त ?’

धनकुमारीले भनिन्, ‘हिजो फुपुकै घरमा छोडेर आउनुभएको होइन ?’

त्यसपछि पो दुवै झल्यास्स भए । मंगले बल्ल नाति खोज्न निस्किए । सबैभन्दा पहिले छोरीकै घरमा गए । छोरीलाई सोध्दा उल्टै झपारिन् ।

‘तपाईंसँग हिजो गएको होइन ? यहाँ त आएको छैन’ भनेपछि उनी खंग्रङ्ग भए ।

त्यतिबेला ढलमा बच्चा खसेको हल्ला व्यापक भइसकेको थियो । बच्चा प्रहरीले भेटयो रे भन्ने उनले सुने । बहिनी-ज्वाईंलाई पनि सँगै लिएर गए । तर कपन प्रहरीमा पुग्दा प्रहरीले बच्चा नभेटेको र खोजी भइरहेको बताएपछि उनी निराश बने । त्यसपछि उज्ववलको फोटो प्रहरी चौकीमा दिएर ढल भएको ठाउँमा गएर बुझे । त्यहाँ पनि खोजी भइरहेको थियो । मंगलमै पसेर खोज्दा पनि सुरक्षाकर्मीले भेटेनन् ।

अनिता भन्छिन्, ‘त्यतिन्जेलसम्म पनि हाम्रो बच्चा होइन कि भन्ने थियो । अनि देख्ने मान्छेले चिन्छन् कि भनेर बुबालाई लिएर गएँ । त्यहाँ मंगलेलाई देख्ने वित्तिकै घटना देखेका पसलेहरुले बच्चासँग यही बाजे थियो भने ।’

त्यसपछि उनीहरु उज्ववललाई ढलले निलेकोमा निश्चित भए ।

मंगले भन्छन्, ‘उसलाई थाहा भएन त्यो ठाउँमा ढल छ भन्ने । यो हेलचक्र्याई सरकारको हो । यसरी खुल्ला नराखिदिएको भए आज हामीले मुटुको टुक्रा गुमाउने पर्ने थिएन ।’

अनिता भन्छिन्, ‘त्यसरी बनाइसकेपछि खुला छोड्नुको साटो रेलिङ मात्र राखेको भए पनि हुन्थ्यो । ठेकेदारले छोडेपछि वडाको मान्छेले त्यसलाई जाली लगाएर हुन्छ कि कसरी हुन्छ त्यो ठाउँ पुरेर राम्रो बनाइदिएको भए सायद यस्तो दुर्घटना हुने थिएन । जानाजान धराप थापेजस्तो भयो ।’

प्रहरी भन्छः बच्चा कसको हो पुष्टि भएको छैन

महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले ढलमा खसेर बेपत्ता भएको बच्चाको पहिचान पुष्टि नभएको बताइन् ।

उनले भनिन्, ‘त्यो दिन ३ जना बच्चा हराएको भन्ने छ । मंगले विश्वकर्माको नाति नै हो भन्ने पुष्टि भएको छैन । उहाँहरुले बच्चा हराएको भनेर उजुरी दिनुभएको छ । छिट्टै पुष्टि गर्छौ ।’

बच्चा खसेको सुचना पाउनासाथ खोजी कार्यमा जुटेतापनि फेला नपारेको उनले बताइन् ।

















फोटो/भिडियो: सरोज बैजु