सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ – Nepal Press
एमाले कार्यदल

सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

काठमाडौं । एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलको जिम्मेवारी भीम रावललाई दिएपछि मंगलबार पहिलो बैठक बस्यो ।

१० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै हिजो बसेको स्थायी कमिटी बैठकले संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ ।

पार्टी कार्यालयमा बसेको कार्यदलको पहिलो बैठकमा १० बुँदे कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधि चयन गर्नेबारे उब्जिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको रावलले जानकारी दिए ।

‘कार्यदलको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवशेनमा प्रतिनिधित्वको विषयमा जहाँ समस्या उत्पन्न भएका छन्, त्यसबारेमा हामीले छलफल गर्‍यौं,’ रावलले भने ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूका बारेमा छलफल गरेका छौं ।’

१० बुँदे कार्यान्वयन र सुदूरपश्चिम इन्चार्जबारे भने रावलले कूटनीतिक जवाफ दिए । ‘१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ,’ उनले भने, ‘जहाँ कार्यान्वयन हुन सकिरहेको छैन्, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने सहमति भएको छ।’

आफैं १० बुँदे कार्यान्वयनको जिम्मेवारी पाएका रावलले सुदूरपश्चिम इन्चार्जबारे नरम हुँदै भने, ‘त्यो विषय १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउँछ ।’

कार्यदलमै रहेका र रावलसँग विवाद गरिरहेका लेखराज भट्टले तीन पक्षलाई ख्याल गरेर जानेबारे कुरा भइरहेको बताए । उनले भने, ‘तीनटा पक्षलाई ध्यानमा राखेर जेठ २, जेठ ३ र क्रियाशील साथीहरू जो पछिल्लो चरणमा काम गरिरहेका छन्, सबैलाई समेटेर लिने नै भन्ने भएको छ ।’

सुदूपश्चिम इन्चार्ज को हो भन्ने पत्रकारहरुको प्रश्नमा हाँस्दै भट्टले जवाफ फर्काए- ‘सुदूरपश्चिमको इन्चार्ज त मै हुँ नि ।’

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर