सीता भण्डारी मृत्यु प्रकरण : न्याय माग्दै गृहमन्त्रीको गाउँमा चार सातादेखि आन्दोलन – Nepal Press

सीता भण्डारी मृत्यु प्रकरण : न्याय माग्दै गृहमन्त्रीको गाउँमा चार सातादेखि आन्दोलन

गृहमन्त्रीले चासो नदिएको भन्दै स्थानीय आक्रोशित

रुपन्देही । भदौ १९ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कफी कम्पनी नजिकै २७ वर्षीया सीता भण्डारी पौडेलको शंकास्पद मृत्यु भएपछि माइती पक्षले न्यायको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ ।

सीताका घरकै व्यक्तिको मिलेमतोमा हत्या गरेको भन्दै सुरु भएको न्यायको आन्दोलन २५ दिनदेखि जारी छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा दैनिकजसो नाराबाजी गर्दै न्यायको आन्दोलन जारी रहँदा अहिलेसम्म गृहमन्त्री खाँणको कुनै प्रतिक्रिया नआएको भन्दै आन्दोलनर पक्ष आक्रोशित भएका छन् ।

निरन्तर नगरपालिकामा आन्दोलन हुँदासमेत गृहमन्त्रीले न्यायका लागि पहल नगरेको आन्दोलनर पक्षको भनाइ छ । सिताको मृत्यु हत्या नभइ आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोष्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैनन् ।

परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्या गरेको बहना बनाइरहेको उनीहरुको भनाइ छ । पोष्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइतीपक्षको विरोध र चर्को दवावपछि मृतक सीताका श्रीमान र उनकी दिदीलाई हिरासतमा लिइ आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुुसन्धान गरिरहेको बताए । सिआईवीको टोलीले समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ । तर अनुसन्धानमा के भेटियो भन्ने जानकारी भने दिइएको छैन ।

प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । यसबारे उनी थप केही बोल्न चाहेनन् । यता गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव ब्रिजेश न्यौपानेले घटनाका बारेमा सत्यतथ्य अनुसन्धान गर्न निर्देशन दिएको बताए ।

गृहमन्त्री खाँण सरकार विस्तार भएपछि मात्रै गृहजिल्ला आउने स्वकीय सचिव न्यौपानेले बताए । सरकार विस्तारमा बिलम्ब हुँदा कामको भार धेरै भएको बताउँदै गृहमन्त्री गृहजिल्ला आउन नपाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर