३४ जना नेपाली अझै काबुलमा अलपत्र, तत्काल उद्दार गर्न सरकारलाई आग्रह
काबुल । सरकारलाई नाम टिपाएका ३४ जना नेपालीको अझै उद्दार हुन सकेको छैन । उनीहरु अफगानिस्तानको राजधानीमा अझै उद्दारको पर्खाइमा छन् ।
उनीहरुको उद्दार कहिले हुन्छ भन्ने कुरामा स्वयम दिल्लीस्थित नेपाली दूतावासलाई समेत जानकारी छैन । दिल्ली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले प्राविधिक कारणले उद्दारमा ढिलाइ भएको बताए ।
अहिले ती नेपालीहरु राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडीजीको व्यवस्थापनमा राष्ट्रसंघीय कार्यालय परिसरमा छन् जुन क्षेत्रलाई सुरक्षित मानिन्छ ।
काठमाडौं नआइञ्जेल उनीहरुलाई आइडीजीले नै खानपान र बसोबासको व्यवस्था मिलाएको छ । उनीहरुमात्र हैन, राष्ट्रसंघीय कार्यालयको सुरक्षामा खटिएका ८५ जना सुरक्षाकर्मी नेपाली पनि काठमाडौं आउन पाएका छैनन् ।
ती राष्ट्रसंघीय कर्मचारीलाई लिएर आउने जहाजमै बाँकी ३४ जना नेपालीलाई ल्याउन पनि दूतावासले पहल गरिरहेको छ । उद्दार भएर आउनुपर्ने ३४ जनामध्ये २२ जना नेपाली सेनाबाट र १२ जना भारतीय सेनाबाट रिटायर्ड भएका हुन् ।
तर, काबुलबाट भने केही मुलुकमा व्यवसायिक उडान सुरु भैसकेको छ । तालिबान सरकारले भारतलाई उडान खुलाउन पनि आग्रह गरिसकेको छ । तर, भारतले तालिबान सरकारलाई मान्यता नदिँदा उडान कार्य प्रभावित बनेको जनाइएको छ ।