तीन महिना म्याद तोकी काजमा खटिएका स्थानीय तहका कर्मचारीको काज फिर्ता
काठमाडौं । सरकारले तीन महिनाको म्याद तोकी काजमा खटिएका स्थानीय तहका कर्मचारीको काज फिर्ता गरेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीमध्ये विभिन्न कारणले विभिन्न मितिमा बढीमा तीन महिनाको म्याद तोकी काजमा खटाईएका सबै कर्मचारीलाई यस अघि कार्यरत रहेकै निकायमा तत्काल काज फिर्ता गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
राष्ट्रिय योजना आयोगले स्थानीय तहमा कार्यरत तथा राष्ट्रिय जनगणना २०७८ का लागि काजमा खटिएका सबै कर्मचारीलाई राष्ट्रिय जनगणनाको अवधिभर अहिले कार्यरत स्थान र निकायमै रहने व्यवस्था मिलाउन आग्रह गरेको भन्दै मन्त्रालयले काज फिर्ता गर्ने निर्णय गरेको हो ।
त्यसै बमोजिम सबै स्थानीय तहका कर्मचारीको सरुवा र काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको पनि मन्त्रालयले अवगत गराएको छ ।
प्रत्येक दश बर्षमा हुने राष्ट्रिय जनगणना भदौ ३० गतेदेखि शुरु जारी छ । यस कार्यलाई प्रभावकारी रुपमा तोकिएको समय भित्रै सम्पन्न गर्नु सबैको दायित्व रहेको पनि मन्त्रालयले जनाएको छ ।