मृत्युको २५ दिनपछि ‘भावुक सुसाइड नोट’ भेटिएको प्रहरी दावी, माइती पक्ष भन्छ– तथ्य लुकाउने षडयन्त्र – Nepal Press
सीता भण्डारी मृत्यु प्रकरण

मृत्युको २५ दिनपछि ‘भावुक सुसाइड नोट’ भेटिएको प्रहरी दावी, माइती पक्ष भन्छ– तथ्य लुकाउने षडयन्त्र

रुपन्देही । भदौ १९ गते राति मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमा नगरपालिकाकी सीता भण्डारीको आत्महत्या वा हत्या भन्ने विवाद चलिरहँदा शुक्रबार प्रहरीले नयाँ तथ्य फेला पारेको जनाएको छ ।

रुपन्देही प्रहरीले शुक्रवार सीता भण्डारीको घटनाका विषयमा सार्वजनिक गरेको विवरणमा मृतक सीता भण्डारीको मोबाइलमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै कोखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न’ भनी लेखिएको नोट फेलापरेको उल्लेख गरेपछि २५ दिनदेखि न्यायको माग गर्दै आन्दोलन गरिरहेका माइती पक्ष र सयौं स्थानीय आश्चर्यमा परेका छन् ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले प्रहरीले अनुसन्धानका क्रममा मृतक सिताले राति १२ बजेर १७ मिनेटमा उक्त सुसाइड नोट पठाएको उल्लेख छ । तर प्रहरीले सीता भण्डारीले उक्त सुसाइड नोट आमा वा बुवामध्ये कसलाई पठाएको भन्ने खुलाएको छैन ।

प्रहरीले सिता भण्डारीको घटनास्थलबाट बरामद् गरिएको आइफोनलाई डिजिटल फोरेन्सिभ ल्याबमा प्राविधिक परीक्षणको लागि पठाइएकोमा उक्त आइफोनको नोटमा २० गते राति १२ बजे १७ मिनेटमा लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

मोबाइलमा लेखिएको नोट रोमनमा लेखिएको र मोबाइलको प्याटर्न विगतमा सीताले प्रयोग गर्नेसँग मिलेको प्रहरीले बताएको छ ।

गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सिता भण्डारीको न्यायको लागि भन्दै जस्टीस फर सीता भण्डारी भन्ने अभियान संचालन गरेर आन्दोलन चलिरहेको छ ।

२७ वर्षीय सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोसमेतको सहयोगमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

तर मृतक सीताका बुवा हरिप्रसाद भण्डारीले सुसाइड नोट मोबाइलको नोटमा लेखिएको विश्वास नै गर्न नसकिने बताए । ‘यस्तो नोट त सबैले देख्ने ठाउँमा हुन्थ्यो होला, यो हामीलाई विश्वास नै छैन’, उनको भनाइ छ । उनले सीताको आत्महत्या जबरजस्ती पुष्टि गराउन धेरै चलखेल भएकोले निष्पक्ष छानविन हुनुपर्ने माग दोहोर्याए ।

सुरुमा मृतकका बुवा हरिप्रसाद भण्डारीले सीताका श्रीमान टिका पौडेल र आमाजू (दिदी) विष्णु पौडेलको विरुद्धमा आत्महत्या दुरुत्साहन जाहेरी दिएका थिए । त्यसका आधारमा श्रीमान टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र आमाजु दिदी विष्णु पौडेललाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको थियो । पुनः किटानी जाहेरी दिएका कारण जेठाजु हरिप्रसाद पौडेल समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *