१८ महिनापछि खुल्यो लुम्बिनीका सीमानाका, आवतजावत गर्न नेपाली र विदेशीलाई फरक मापदण्ड – Nepal Press

१८ महिनापछि खुल्यो लुम्बिनीका सीमानाका, आवतजावत गर्न नेपाली र विदेशीलाई फरक मापदण्ड

रुपन्देही । कोरोना महामारीको संक्रमण रोक्न १८ महिनादेखि बन्द रहेको लुम्बिनी प्रदेशको नेपाल–भारत सीमा क्षेत्रमा आइतबारबाट सवारीसाधन संचालन भएको छ ।

सरकारले शुक्रबारदेखि खोल्ने निर्णय गरेपनि भारतीय एसएसबीको अवरोधका कारण यो प्रदेशमा रहेका ६ वटै सीमा क्षेत्रमा सवारी यातायात रोकिएको थियो ।

नेपाल सरकारले संक्रमण रोक्न २०७६ चैत १० गतेदेखि नेपाल–भारत सीमा बन्द गरेको थियो । बीचमा संक्रमण कम भएको समयमा सरकारले नाका सुचारु हुने तयारी गरे पनि संक्रमणको दोस्रो चरण शुरु भएपछि सुचारु हुन सकेको थिएन ।

१८ महिनादेखि लगातार बन्द भएको नेपाल–भारत नाका असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खुलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालयमा स्पष्ट परिपत्र नआउंदा नाका सुचारु हुन सकेको थिएन ।

शुक्रबार नेपालले भारतीय निजी गाडीहरु प्रवेश सुरु गरे पनि भारतीय सुरक्षा बलले त्यसलाई रोकेको थियो । आइतबारदेखि भने एसएसबीले नाका सहज गरेको छ । रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजदेखि एसएसबीले भारतीय गाडी नरोकेको जानकारी दिए ।

आइतबार लुम्बिनीका सीमा क्षेत्रमा रहेका पश्मिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका ठूला तथा साना नाकाबाट यात्रुबाहक सवारी साधन संचालनमा आएका हुन् ।

आवतजावत गर्न नेपाली र विदेशीलाई अलग मापदण्ड

भारतहुँदै नेपाल भित्रिने यात्रु र पर्यटकले केही मापदण्ड पालन गर्नुपर्ने हुन्छ । प्रजिअ तिवारीका अनुसार नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र शंकास्पदलाई त्यही एन्टिजेन परीक्षणको ब्यवस्था गरिएको छ ।

एन्टिजेनमा पनि पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरी नतिजाअनुसार व्यवस्थापन गरिने छ । यस्तै भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई सिसिएमसीद्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउनेछन् ।

भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य रहेको छैन । यसैगरी तेश्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्नेछ ।

सरकारले भारतसँगको नाका खोल्ने औपचारिक निर्णय गरेपनि कार्यान्वयनमा ढिलाई गरेको बाँके प्रशासनले आइतवारबाट नेपालगन्ज जमुनाह नाका पूर्ण रुपमा खुला गरिएको जनाएको छ । तर सीमा खुला गरिंदा पर्यटकका लागि सास्ती हुने मापदण्ड बनाएको भन्दै आलोचना पनि शुरु भएको छ ।

नाकाबाट पर्यटक आउन अवरोध पुगेको भन्दै नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले सरकारले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणपछि नाका खुलाइएकोमा आफूहरु अझै खुशी हुन भने नसकेको उनीहरुको भनाइ छ ।

‘यो सास्तीबाहेकको नियत होइन’ नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले सीमाबाट पर्यटकहरुका लागि सुविधा दिने साटो अंकुश लगाउने काम भइरहेको टिप्पणी गर्दै भने, ‘हिंड्दै आउनुस् न पिसीआर न भ्याक्सिनेटेडल एन्टिजेन तर मोटरबाट आउनेलाई, अनलाइन फर्म भर्ने, एन्टिजेन,७२ घण्टे पिसीआर रिपोर्ट वा भ्याक्सिन कार्ड देखाएर सीमा पार गर्नुस् ?,’सीमा वारपार अरुका लागि आउनेजाने व्यवस्था बेला कुनै चेकजाँच छैन ।

‘पर्यटकहरुलाई बाधा सिर्जना गरेर राज्य आफैले पर्यटन व्यवसायमा अंकुश लगाउन खोजेको होइन त ?,’ सिग्देलको टिप्पणी छ । मानसरोवरका यात्रुहरु आउने बेलामा सीमा अवरोध पारिएपछि निरुत्साहित हुने अवस्था आएको अध्यक्ष सिग्देलले पर्यटकहरुलाई सिमानामा एक ठाउँमा चेकजाँचको व्यवस्था गरी निर्बाध आउने, जाने व्यवस्था मिलाउनुपर्ने बताए ।

पर्यटन व्यवसायीले अहिले सरकारले लागू गरेको मापदण्डले नेपाल आउन खोजेका पर्यटकलाई सास्ती भएको गुनासो गरेका छन् । उनीहरुले पर्यटक आउने समयमा मापदण्डलाई थप व्यवस्थित बनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *