बीपीले कागज नपाएर लेख्न छुटेको ‘कांग्रेस इतिहास’ (भिडिओसहित) – Nepal Press
नलेखिएको इतिहास

बीपीले कागज नपाएर लेख्न छुटेको ‘कांग्रेस इतिहास’ (भिडिओसहित)

नेपाली राजनीतिमा सर्वाधिक उँचो कद बनाउन सफल नेता बीपीलाई आफू जिवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो । तर राजनीति र साहित्यमा उतिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका उनको उक्त धोको पूरा भएन ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा विताउनु पर्यो । अंग्रेजविरुद्ध महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो ।

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको वुझाइ थियो । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परी उहाँले तीन वर्ष भारतीय जेलमा बिताउनु भयो । आफू रिहा भएकै दिन बीपीले काठमाडौंमा राणाहरुले बन्दी वनाएका पिताजीको मृत्युको खबर सुन्नुपर्यो ।

यो घटनाले उहाँलाई राजनीति गर्न झनै प्ररित गर्यो । अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्ध आन्दोलनको योजना बनाउनु भयो ।

राजनैतिक रुपमा विभिन्न उतारचढाव खेपेका बीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल बन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तताका कारण सायद उहाँबाट यति धेरै कृति लेख्न सम्भव थिएन ।

राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उहाँले सुन्दरीजल बन्दीगृहमा रहँदाकै उपलव्धी हुन् ।

बीपीको लोकप्रीय कृतिहरु

मेरो कथा
आत्मवृत्तान्त
जेल जर्नल
फेरि सुन्दरी जल
मोदी आईन
नरेन्द्र दाइ
हिटलर र यहुदी
सुम्निमा
दोषी चम्मा
बाबु, आमा र छोरा
श्वेत भैरवी

०००

राणाकालमै बीपी क्यान्सरपीडित हुनुहुन्थ्यो । बम्बइमा उपचार गराएर फर्किएपछिका दिनमा राजनीतिक सक्रियता यति वढ्यो कि लेखनलाई समय दिनै पाउनु भएन । गृहमन्त्री भएसंगै वढेको राजनीतिक सक्रियता प्रधानमन्त्री भएर अपदस्त नहुँदासम्म कायमै रह्यो । सुन्दरीजलमा बन्दी हँुदा लेखेका प्रायः कृति प्रकाशित छन् ।

२०२५ सालमा सुन्दरीजलबाट छुटेको केही समयपछि नेपालमा बसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उहाँ भारत प्रवास जानु भयो । आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि उहाँले सशस्त्र क्रान्ति चलाउनुभयो ।

सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनि भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाइ रहेको थियो ।

त्यहींबेला भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमाभन्दा पचास माइल पर सीमित गर्न आदेश दियो । त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै पनि गतिविधि बन्देज लगाउन थालियो ।

ती दिनयता नेपालको अदालतमा बीपीविरुद्ध जहाज अपहरण गरेको, ओखलढुंगा कब्जाका लागि सैन्य दस्ता पठाएकोलगायत आठ वटा राजकाज मुद्दा विचाराधीन थिए । सबै मुद्दामा मृत्युदण्ड मागदावी गरिएको थियो ।

पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफलपछि बीपी राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित २०३३ साल पुस १६ गते स्वदेश फर्किने निष्कर्षमा पुग्नुभयो । पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदै छ सहकर्मीका साथ बीपीलाई बन्दी बनाइ फेरि सुन्दरीजलमै पुर्याइयो ।

सरी बीपीले फेरि लेख्ने समय पाउनु भयो । पर्याप्त समय पाए पनि कागज उपलब्ध नगराउने जेल प्रशासनको निर्णयले उहाँलाई झनै चिन्तित बनायो ।

बिपीले यसबारे आफ्नो पुस्तक ‘सुन्दरीजल’मा लेखेका छन्–

मैले केही सादा कागज मगाएँ । उनीहरुले छ पन्ना कागज ल्याए । मैले भने मलाई ६ ताउ अर्थात (६.२४ पन्ना) चाहिन्छ भनें ।

क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमतिविना हामीले लेख्ने कागज पाउने छैनौं रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रिस उठ्छ । लेख्ने कागज पाइन भने यहाँ बस्न असैह्य हुनेछ । लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमानजी (जीएम)को सल्लाह छ । पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौं । अनि छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं । सम्भवतः हामीले अब त्यसै गर्नुपर्ने छ । पढ्ने किताब नभएपनि म आफ्नो जीवनी लेख्न सक्थे । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थे (५०)

जसमा मैले धेरै सकृय र कहिलेकहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका बारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थे । कागज दिइएन र यदी आफैंले ल्याउन सकेनौ भने जीवन साच्चिँकै अत्यन्त दुष्कर हुनेछ । यो एकदम हतासाजनक हुनेछ । लेख्नका लागि प्रयोग गर्न भनेर दुईवटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाली ठाँउहरु काटेर राख्न थालेको छु । कागज बँचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खाँदैन ।

मसंग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलमसहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन (५१)

दिउँसो खाजा खाएपछि समय विताउन साह्रै गाह्रो हुन्छ । एकछिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नु पर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन । मैले लेखिनँ भने अरु कसले लेख्छ र ? त्यसपछि उठे र लेख्न थाले । एक हजार शब्द जति लेखेछु ।

लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु । कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिँदैछ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खल्बल्याउने खिन्नता हुने छैन (५४)

कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जिवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताव तीन तीन सय पेजका गरी नौ सय पेजका हुने छन् (५४)

०००

बीपी सुन्दरीजल बन्दीगृहमा छँदैको कुरा हो । न्यायाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उहाँ माथिका आठ वटा राजाकाज मुद्दामा सुनुवाइ चलिरहेकै थियो ।

बीपीको स्वास्थ्य बिग्रदैँ थियो । उचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा बेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाईसिस हुनसक्ने रिर्पोट राजा वीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उहाँलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुन बन्दी वनाउने सर्तका साथ ।

तीन महिनाको उपचारपछि पटनाहुँदै स्वदेश फर्किने बेला बीपीले नेपाली कांग्रेसको सम्मेलन बोलाउनु भयो र त्यहीं कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभयो । काठमाडौं पुग्नासाथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उहाँलाई फेरि बन्दी बनाइयो ।

यसबीच विशेष अदालतले अधिकांश मुद्दामा बीपीलाई सफाइ दिइसकेको थियो । २०३६ सालतिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनि बीपीसंगको परामर्शमा बहुदल र निर्दलमध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा वीरेन्द्रबाट जनमत संग्रह घोषणा भयो ।

तर पञ्चहरुले धाँधली गरी बहुदल पक्षलाई हराइ दिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र वौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तीव्र दबाब थियो । तर उहाँले जतिसुकै अप्रीय भए पनि मतपरिणाम स्वीकार्ने बक्तव्य जारी गरिदिनु भयो ।

जनमत संग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा उहाँ बाँच्नु भएको थियो ।

क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिनाभित्र मृत्यु हुनसक्ने अनुमान चिकित्सकहरुले गरिसकेका थिए ।
त्यहीं अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासंग आफ्नो जीवनी रेकर्ड गराउन थाल्नु भयो । जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भएसंगै कांग्रेसको इतिहास लेख्ने उहाँको सपना पनि साकार हुन पाएन ।

(यो सामग्री न्यूज एजेन्सी नेपालले बीपीपुत्र प्रकाश कोइराला र प्राध्यापक डाक्टर  गोविन्दमानसिं कार्कीसँगको कुराकानीका आधारमा तयार पारेको हो ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर