सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं – Nepal Press

सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं

चुनाव घोषणाबारे कुरा भइरहेको खुलासा

रुपन्देही । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सभामुख अग्नि सापकोटाले संविधान तथा ऐन नियमविपरीत काम गरेकोले माफी मागी गल्ती नसच्चाएसम्म संसद अवरोध कायमै रहने बताएका छन् ।

प्रेस चौतारी पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निस्कासन गरेको सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीको लागि गल्ती भएको स्वीकार नगरेसम्म संसदमा अवरोध कायम रहने पार्टीको स्पष्ट धारणा रहेको बताएका हुन् ।

ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएकोले लामो समससम्म नटिक्ने दावी गर्दै मुलुकलाई अनियर्णको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने धारणामा एमाले अहिले पनि अडिग रहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएका सरकारका प्रतिनिधिसंग यस विषयमा छलफल भइरहेको र सरकारले संघीय निर्वाचनको लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने ज्ञवालीको भनाइ थियो । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउने दावी प्रवक्ता ज्ञवालीले गरे ।

गठवन्धनले एमालेलाई फुटाउन मात्र अध्यादेश ल्याएको, एमाले फुटाएपछि पुन फिर्ता गरेकाले सरकारको नियत प्रष्ट भएको उनले बताए । पूर्व परराष्ट्रमन्त्री रहेका ज्ञवालीले सरकारले भारतीय सिमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसंग निहुँ खोज्ने गरी गलत काम गरिहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर