मुगुमा यात्रुवाहक बस दुर्घटना, ठूलो क्षतिको आशंका
काठमाडौं । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाग्रस्त भएको छ । सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले बताएको छ ।
प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार थिए । उनीहरुमध्ये अधिकांश घाइते भएको र अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए । हताहतिको विवरण भने प्राप्त भइसकेको छैन ।
भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले नेपाल प्रेससँग भने,‘३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ । जिल्लाको प्रमुखहरु पनि पुगिसकेको छ । घाइते कति भए भन्ने एकीन विवरण आइसकेको छैन ।’
घाइतेहरुलाई नजिकको अस्पताल पठाउने तयारी भइरहेको रहेको छ । उद्धारको लागि सशस्त्र प्रहरीको टीम घटनास्थलमा पुगिसकेको छ ।