यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका – Nepal Press

यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

काठमाडौं । राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत भ्रमणमा जाँदैछन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

अक्टोबर ३० मा प्रधानमन्त्रीले सर्वदलिय संसदीय समूह र नेपाल-बेलायत व्यापार तथा लगानी मंचले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने र सम्बोधन गर्ने भएका छन् ।

३१ अक्टोबरमा देउवाले बेलायत-नेपाली समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । सोही दिनमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूतले लन्डनमा आयोजना गर्ने रिसेप्सनमा भाग लिनेछन् ।

साथै, सोही अवसरमा उनले नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस-गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ ।

नोभेम्बर १ मा प्रधानमन्त्री देउवा कोप-२६ सम्मेलनमा भाग लिनेछन् । विश्व नेताहरुले भाग लिने उक्त सम्मेलनमा देउवाले नेपाली मुद्दाहरुसहित सम्बोधन गर्ने कार्यक्रम छ ।

नोभेम्बर २ को बिहान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र सांसदहरुले सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्ने ब्रेकफास्टमा देउवा सहभागी हुनेछन् । सम्मेलनको साइडलाइनमा देउवाले विभिन्न मुलुकका सरकार प्रमुखहरुसँग भेट्ने कार्यक्रम छ ।
नोभेम्बर ३ मा देउवाले एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ उपस्थित भएकालाई सम्बोधन गर्ने कार्यक्रम समेत छ । त्यहाँस्थित नेपाली बगैंचामा देउवाले वृक्षारोपण गर्नेछन् ।

बेलायत भ्रमणमा प्रधानमन्त्री देउवासँगै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव पनि सहभागी हुनेछन् । नोभेम्बर ४ को बिहान प्रधानमन्त्री देउवा काठमाडौं फर्कने कार्यक्रम छ ।

कोप-२६ सम्मेलन अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर