नुवाकोटको लिखुमा एमाले अधिवेशन, जिल्लामा एकमात्र महिला अध्यक्ष सर्वसम्मत – Nepal Press

नुवाकोटको लिखुमा एमाले अधिवेशन, जिल्लामा एकमात्र महिला अध्यक्ष सर्वसम्मत

विदुर । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ । मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन ।

गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलत मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।

पुडासैनी विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन् । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजनदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ ।

अन्यमा तिहारअघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।

मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा शोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर