कांग्रेस महाधिवेशन सर्यो: मंसिर २४-२६ मा हुने (तालिकासहित) – Nepal Press

कांग्रेस महाधिवेशन सर्यो: मंसिर २४-२६ मा हुने (तालिकासहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको भन्दा १५ दिन पछाडि सरेको छ । केन्द्रीय निर्वाचन समितिले मंसिर २४ , २५ र २६ गते महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका पारित गरेको छ । यसअघि निर्वाचन समितिमा मंसिर २७ देखि महाधिवेशन गर्न प्रस्ताव भएपनि आजको बैठकले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेव यादवसहित सदस्यहरु गोपालकृष्ण घिमिरे, सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलले संयुक्त हस्ताक्षरमा नयाँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका छन् । जसअनुसार वडा अधिवेशन सुरु नभएका जिल्लाहरुमा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ । निर्वाचन समितिले जिल्लाअनुसार अलग अलग अधिवेशन तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार वडा अधिवेशन समेत नभएका जिल्लाहरुमा कात्तिक २७ मा वडा अधिवेशन, कात्तिक ३० मा पालिका अधिवेशन, मंसिर ३ मा प्रदेश सभा अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ । निर्वाचन समितिले अधिवेशन बाँकी रहेका हिमाली जिल्लाहरु दार्चुला, सोलुखुम्बु र म्याग्दीमा कात्तिक २७ गते प्रदेशसभा अधिवेशन र मंसिर १ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

नयाँ कार्यतालिका अनुसार जुम्लामा मंसिर १ गते जिल्ला अधिवेशन हुनेछ । त्यस्तै पालिकासम्मको अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा मंसिर ३ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ ।

निर्वाचन समितिले मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको मिति तोकेको छ । महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २१ गतेदेखि नै निर्वाचन कार्यक्रम सुरु हुने नयाँ कार्यतालिकामा उल्लेख छ ।
रौतहट र रसुवा छुटे महाधिवेशनको नयाँ कार्यतालिकामा रौतहट र रसुवा छुटेका छन् । क्रियाशील सदस्यता विवाद समाधान नभएका ती जिल्ला नयाँ कार्यतालिकामा नसमेटिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस शीर्ष तहमा कात्तिक २७ मै वडा अधिवेशन गर्नेगरी ती जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर