मुक्तिनाथदेखि ढोरपाटनसम्म त्रिदिवसीय भ्रमण : राष्ट्रपतिले दिन खोजेको दुई सन्देश – Nepal Press

मुक्तिनाथदेखि ढोरपाटनसम्म त्रिदिवसीय भ्रमण : राष्ट्रपतिले दिन खोजेको दुई सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी देशका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन र जानकारी लिनका लागि आजदेखि तीन दिनसम्म काठमाडौं बाहिर विभिन्न क्षेत्रको भ्रमणमा निस्किएकी छन् ।

अनौपचारिक भनिएको यो भ्रमण मुलतः लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा केन्द्रित हुनेछ। राष्ट्रपति भण्डारी आज हिन्दुहरुका प्रसिद्ध चार धाममध्येको एक मुक्तिनाथतर्फ लागेकी छन् ।

मुस्ताङमा अवस्थित मुक्तिनाथ धार्मिक तथा पर्यटकीय स्थलका रुपमा चर्चित छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गरी यहाँको धार्मिक पर्यटनको महत्व दर्शाएका थिए ।

मुक्तिनाथका साथै आजै राष्ट्रपति ढोरपाटन शिकार आरक्षमा पुग्ने कार्यक्रम छ । त्यहाँ आरक्षका वार्डेनले शिकार आरक्ष र पर्यटनको अवस्थाका बारेमा ब्रिफिङ गर्नेछन् भने ढोरपाटन नगरपालिकाका मेयरले स्वागत गर्नेछन् ।

राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । त्यहाँ विश्वकै अग्लो बुद्धको मुर्ति प्रतिस्थापन लगायतका कार्यक्रम छन् ।

राष्ट्रपति भण्डारी मंगलबार हिमालपारीको जिल्ला मनाङ जानेछिन् । पर्यटकीय अवस्थाको बारेमा बुझ्नुको साथै नेकपा एमालेका सांसद पोल्देन छोपाङ गुरुङको नमूना स्याउ उद्योगको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपतिको यसपटकको अनौपचारिक भ्रमणको उद्देश्य कोभिड संकटका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन प्रचार गर्ने तथा राष्ट्रिय उद्यमशीलतालाई प्रबद्र्धन गर्ने उद्देश्यले हुन लागेको अर्थमा बुझ्न सकिने ढकालले बताए ।

नेपालको धार्मिक पर्यटनको महत्व रहेकाले राष्ट्रपति मुक्तिनाथ र लुम्बिनी एकैपटक भ्रमण गर्न लागेको र मनाङ तथा ढोरपाटन शिकार आरक्षको समेत भ्रमण गरेर पर्यटन आन्तरिक तथा बाह्य पर्यटकलाई सन्देश दिन खोजिएको छ । अब नेपाल सुरक्षित छ भनेर सन्देश दिने तथा सांसदले चलाएको नमूना स्याउ फार्मको अवलोकन गरेर राष्ट्रिय उद्यमीलाई हौसला दिने उद्देश्य देखिन्छ ।

राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको छ । राष्ट्रपति सेनाको हेलिकोप्टरबाटै ती ठाउँमा जाने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर