कोप-२६ सम्मेलन के हो ? कसले भाग लिँदैछन् ? कुन-कुन मुद्दामा छलफल हुनेछ ? – Nepal Press

कोप-२६ सम्मेलन के हो ? कसले भाग लिँदैछन् ? कुन-कुन मुद्दामा छलफल हुनेछ ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली भ्रमण दलसहित शुक्रबार बेलायत उडेसँगै नेपालमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मिडिया हेडलाइन बन्न थालेको छ । आइतबारदेखि स्कटल्यान्डको ग्लास्गो सहरमा सम्मेलन सुरु हुनेछ ।

प्रधानमन्त्रीको रुपमा पहिलोपटक भारत जानुपर्नेमा कारणबश बेलायत पुगेर भारतीय समकक्षी नरेन्द्र मोदीसँग उतै भेटघाट गर्ने कार्यक्रमले समेत यो विषय रोचक छ । कोप-२६ के हो ? कस्तो हो ? यो विषयमा आम मान्छेलाई जानकारी थोरै छ वा छँदैछैन । यहि विषयलाई मध्यजनर गरेर यो विवरण तयार गरिएको छ ।

कोप-२६ को खास अर्थ के हो ?

कोप भनेको अंग्रेजीका तीन शब्द सीओपी मिलेर बनेको हो । यसको अर्थ हो पूर्णरुपमा कन्फ्रेन्स अफ पार्टीज् हो । नेपालीमा भावानुवाद गर्दा सरोकारवालाहरुको सम्मेलन भन्न आउँछ । कोपमा २६ पनि जोडेर कोप २६ छ । यो भन्नुको अर्थ चाँहि यो २६ औँ संस्करण हो भन्ने अर्थ हो । समग्रमा सरोकारवालाको २६ औँ सम्मेलन नै कोप–२६ हो । यसलाई संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन पनि भनिन्छ ।

कोपको खास आयोजक को हो ? प्रयोजक को को हुन् ?

कोपको आयोजक संयुक्त राष्ट्रसंघ आफैँ हो । राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी मामिला हेर्ने निकाय युएनएफसीसीआइ यसको मुख्य संस्थागत आयोजक हो । यसको पूर्णरुप युनाइटेड नेसन्स् फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज हो । नेपालीमा भावानुवाद गर्दा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि भन्न सकिन्छ । यसका प्रायोजकमा भने निजी कम्पनी छन । युनिलिभर, माइक्रोसफ्ट, रेकिट, स्कटिस पावर, सेन्सबरी, हिताची, नावेस्ट ग्रुप, जिएसके लगायतका प्रयोजक छन् ।

यसको सुरुवात कहिलेबाट भएको हो ?

कोपको सुरुवात अर्थात् कोेप १ को प्रारम्भ सन १९९५ बाट भएको हो । सन १९९५ को मार्च २८ देखी अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा यसको प्रथम भेला भएको थियो । यसलाई बर्लिन म्यान्डेड पनि भनेर चिनिन्छ ।

अहिलेसम्म भएका कोपका २६ संस्करण कहाँ-कहाँ भए ?

विश्वका विभिन्न महादेशमा कोपका विभिन्न संस्करणहरु भएका छन । दक्षिण एसियामा सन २००२ मा भारतमा हुनु बाहेक अन्त भएको छैन । यस्ता छन कोप-२६ सम्मको श्रृंखलाका आयोजना स्थल :

कोप १ः जर्मनीको बर्लिनमा सन १९९५ मार्च २८– अप्रिल ७
कोप २ः स्विजरल्यान्डको जेनेभामा सन १९९६ जुलाई ८ – जुलाई १९
काप ३ः जापानको क्योतोमा सन १९९७ डिसेम्बर १– डिसेम्बर १०
कोप ४ः अर्जेन्टिनाको ब्युनर्स आयर्समा सन १९९८ नोभेम्बर २– नोभेम्बर १३
कोप ५ः जर्मनीको बोनमा सन १९९९ अक्टोबर २५– नोभेम्बर ५
कोप ६ः नेदरल्यान्डको हेगमा सन २००० नोभेम्बर १३– नोभेम्बर २४
कोप ७ः मोरक्कोको माराकेचमा सन २००१ अक्टोबर २९ – नोभेम्बर १०
कोप ८ः भारतको नयाँ दिल्लीमा सन २००२ अक्टोबर २३– नोभेम्बर १
कोप ९ः इटालीको मिलानमा सन २००३ डिसेम्बर १– डिसेम्बर १२
कोप १०ः अर्जेन्टिनाको ब्युनस आयर्समा सन २००४ डिसेम्बर ६– डिसेम्बर १७
कोप ११ः क्यानडाको मोन्टरियरमा सन २००५ नोभेम्बर २८– डिसेम्बर ९
कोप १२ः केन्याको नैरोबीमा सन २००६ नोभेम्बर ६– नोभेम्बर १७
कोप १३ः इन्डोनेसियाको बालीमा सन २००७ डिसेम्बर ३– डिसेम्बर १७
कोप १४ः पोल्यान्डको पोजनानमा सन २००८ डिसेम्बर १– डिसेम्बर १२
कोप १५ः डेनमार्कको कोपनहेगनमा सन २००९ डिसेम्बर ७– डिसेम्बर १८
कोप १६ः मेक्सिकोको कान्कुनमा सन २०१० नोभेम्बर २८– डिसेम्बर १०
कोप १७ः दक्षिण अफ्रिकाको डुर्बानमा सन २०११ नोभेम्बर २८– डिसेम्बर ९
कोप १८ः दोहाको कतारमा सन २०१२ नोभेम्बर २६– डिसेम्बर ७
कोप १९ः पोल्यान्डको वार्सामा सन २०१३ नोभेम्बर ११– नोभेम्बर २३
कोप २०ः पेरुको लिमामा सन २०१४ डिसेम्बर १ – डिसेम्बर १२
कोप २१ः फ्रान्सको पेरिसमा सन २०१५ नोभेम्बर ३०– डिसेम्बर १२
कोप २२ः मोरक्कोको माराकेचमा सन २०१६ नोभेम्बर ७– नोभेम्बर १८
कोप २३ः जर्मनीको बोनमा सन २०१७ नोभेम्बर ६– नोभेम्बर १७
कोप २४ः पोल्यान्डको काटोविचमा सन २०१८ डिसेम्बर ३– डिसेम्बर १४
कोप २५ः स्पेनको म्याड्रीडममा सन २०१९ डिसेम्बर २– डिसेम्बर १३
कोप २६ः संयुक्त अधिराज्य (युके)को स्कटल्यान्डको ग्लास्सगोमा सन अक्टोबर ३१– नोभेम्बर १२

कोप २६ सन २०२० आयोजनाको पुर्वनिर्धारित मिति कहिले तोकिएको थियो ?

सन १९९५ देखी निरन्तर हरेक वर्ष हुँदै आएको कोप–२६ सन २०२० मा हुन सकेन । कोभिड–१९ महामारीले सन २०२० आक्रान्त भएकोले कोपको पुर्वनिर्धारित कार्यक्रम हुन सकेको थिएन । सन २०२० को पुर्वनिर्धारित मितिअनुसार कोप–२६ सन २०२० को नोभेम्बर ९–१९ सम्म स्कटल्यान्डको ग्लास्सगोमा नै तय भएको थियो । तर, कोपको व्यूरो बैठकले सन २०२० मे २८ मा पुनः निर्णय गर्दै सन २०२१ को नोभेम्बर १–१२ सम्म गर्ने निर्णय गरेको थियो । त्यो निर्णयलाइ एक दिन अगाडि सारेर फेरि अक्टोबर ३१ बाट सुरु गर्ने निर्णय भएको थियो । त्यहि निर्णय अनुसार भोलीबाट कोप–२६ सुरु हुँदैछ । यो नोभेम्बर १२ सम्म हुनेछ । यसको आयोजना बेलायत र इटालीले संयुक्त रुपमा गर्दैछन् ।

कोप-२६ छलफलमा निर्धारण भएका विषय के–के छन् ?

कोप–२६ मा छलफल हुने मुख्य विषयमा क्लाइमेट फेयर सेयर, क्लाइमेट एम्बिसन, क्लाइमेट फाइनान्स, लस एन्ड ड्यामेज र कार्बन मार्केट हुन् । क्लाइमेट फेयर सेयरले जलवायु परिवर्नत रोक्न र यसका असर कम गर्न विभिन्न देशहरुले गर्नुपर्ने योगदान समानुपातिक हुनुपर्ने वकालत गर्छ । कतिपय देशले धेरै र कतिपयले थोरै योगदान गरेकोले त्यो अन्त्य हुनुपर्ने यसको माग हो । जस्तै चीन, भारत, इन्डोनेसियाको तुलनात्मक योगदा अमेरिका, युरोप र रुस भन्दा धेरै भएको सन २०१५ मा प्रकाशित सिभिल सोसाइटी इक्वीटी रिभ्युले उल्लेख गरेको छ । जलवायु परिवर्नतका असरमा योगदान गरेकै अनुपातमा असर कम गर्न लगानी आवस्यक भएको यो विषयको मुल मर्म हो ।

क्लाइमेट एक्बिसनले कोप–१५ मा भएको पेरिस सम्झौता कडाइका साथ पालन गर्न माग गर्छ । उक्त सम्झौतामा तापक्रम औद्योगिक क्रान्ति अगाडिको २ डिग्री सेल्सियसभन्दा मुनि बनाउने र सकेसम्म १.५ डिग्री सेल्सियस बनाउने लक्ष्य छ । पेरिस सम्झौता अनुसारको कामहरु नभएकोले त्यसलाइ झकझकाउन यो बिषय सारिएको छ ।

जलवायु लगानीले विश्वको उत्तरी गोलार्धका धनी देशहरुले दक्षिणी गोलार्धका देशहरुलाई जलवायु परिवर्नतका कारण भएको योगदानकै स्तरमा आर्थिक सहयोग गर्नुपर्ने लगायतका कुरा जनाउँछ ।
लस एन्ड ड्यामेजले विश्वका धनी प्रदूषक देशहरुले दक्षिणी गोलार्धका गरिब देशहरुमा जलवायु परिवर्तको विपत्को क्षतिपुर्ति र उत्तरदायित्वको कुरा गर्छ ।

कार्बन मार्केटले प्रदूषकहरुले प्रदूषण गरेवापतको पैसा वा क्षतिपूर्ति दिनुपर्ने लगायतका कुरा समेट्छ । कार्बन टे«ड समेत भनिने यो चलनले प्रदूषणमा केही कमी गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

कोप-२६ मा को-को विश्व चर्चित नेताहरु आउँदैछन ?

कोप–२६ मा अमेरिकी राष्ट्रपति जो बाइडेन जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । आयोजक देशका भएकोले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वतः हुने भइहाले । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङदेखि रुसी राष्ट्रपति भ्लादमिर पुटिन समेत नजाने भएका छन । संयुक्त राष्ट्रसंघमा पाँच भिटो पावर देशमा दुई देशका शक्तिशाली नेताको अनुपस्थितिले कार्यक्रमको विश्वव्यापी स्वामित्व र प्रभाव भने कम हुने देखिएको छ । यद्यपी, युुरोप र अमेरिकी पक्षधर शक्तिहरुको भने व्यापक उपस्थिति हुनाले केही प्रगतिको आशा समेत गर्न सकिन्छ ।

नेपालको हैसियत कस्तो हुन्छ ?

शुक्रबार उडेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको भ्रमण दलको आकार र सहभागीको अनुहार हेर्ने हो भने कोप–२६ मा नेपालले नेतृत्व नै गर्ने को कि जस्तो भ्रम हुन सक्छ । प्रधानमन्त्रीसहित छ जना सचिव ग्लास्सगो पुगेका छन । अरु त अरु जलवायु परिवर्तनमा कुनै सम्बन्ध नराख्ने गृहसचिव टेकनारायण पाण्डे समेत सहभागी छन । बीस सदस्यीय भ्रमण दल छ नेपालको । जबकी भारतीय भ्रमण दल समेत १५ सदस्य मात्रै भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

सम्मेलनमा एक औसत सहभागी हुने बाहेक नेपालको कुनै हैसियत देखिदैन । न त नेपाल सरकारले जलवायु परिवर्तनमा नेतृत्व गर्ने कुनै विश्व स्तरिय हैसियत बनाएको छ । न त सम्मेलनका विषयमा नेपाललाई मुलधारमा पार्ने खालका कुनै बलिया बिषय नै छन ।

नेपालको हिमाल पग्लेको देखी हिमनदी सुक्दै गएको विषय छलफलमा मुलरुपमा परेकै छैनन । यी गम्भिर विषयहरुलाई अन्य विषयहरुमा जोडेर बोल्नुपर्ने अवस्था देखिन्छ । यसले पनि नेपालको सहभागितालाई कमजोर देखाएको छ । बेलायत पुगेर कोप–२६ मा सहभागी अमेरिकी राष्ट्रपति बाइडेनदेखि आयोजक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हुँदै भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग तस्बिर खिचाएर केहि गफगाफ गर्दै नेपालमा मात्रै हेडलाइन बन्ने बाहेक कोप–२६ मा सहभागी २० सदस्यीय जम्बो नेपाली भ्रमण दलको खासै देखिने प्रगति हुने सम्भावना छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर