बाइडेनदेखि देउवासम्मले भाग लिने कोप-२६ के हो ? बुझ्नुस् ८ प्रश्नोत्तरमा – Nepal Press

बाइडेनदेखि देउवासम्मले भाग लिने कोप-२६ के हो ? बुझ्नुस् ८ प्रश्नोत्तरमा

आजबाट स्कटल्याण्डमा सुरु हुने कोप-२६ सम्मेलन अहिले विश्वभर हेडलाइन बनाइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय भ्रमण दलसहित शुक्रबार बेलायत उडेसँगै नेपालमा पनि कोप-२६ का बारे चासो र चर्चा सुरु भएको छ ।

नेपालका नयाँ प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतमा गर्ने परम्परा रहिआएको थियो । तर, देउवालाई भारतबाट औपचारिक निमन्त्रणा नआएपछि त्यो परम्परा तोडिएको छ र बेलायत उनको पहिलो गन्तव्य मुलुक बनेको छ । देउवाले कोप-२६ कै साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

सञ्चारमाध्यममा समाचारहरु आइरहे पनि नेपालमा धेरैलाई कोप २६ के हो र कस्तो हो ? भन्नेबारे विस्तृत जानकारी छैन । यस आलेखमा ८ प्रश्नोत्तरमा कोप २६ बारे बुझाउने प्रयास गरिएको छ ।

१. ‘कोप-२६’ को खास अर्थ के हो ?

अंग्रेजीका तीन अक्षर सी,ओ,पी मिलेर बनेको शब्द हो कोप । यसको पूर्णरुप हो- कन्फ्रेन्स अफ पार्टीज् । नेपालीमा भावानुवाद गर्दा ‘सरोकारवालाहरुको सम्मेलन’ भन्न सकिन्छ । २६ औं सम्मेलन भन्ने जनाउन कोप-२६ भन्ने गरिएको हो । समग्रममा सरोकारवालाहरुको २६औं सम्मेलन नै कोप-२६ हो । यसलाई संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन पनि भनिन्छ ।

२. कोपको आयोजक र प्रायोजक को-को हुन् ?

कोपको आयोजक संयुक्त राष्ट्रसंघ आफैं हो । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी मामला हेर्ने निकाय युएनएफसीसीआई यसको मुख्य संस्थागत आयोजक हो । यसको पूर्णरुप युनाइटेड नेसन्स् फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज हो । नेपालीमा भावानुवाद गर्दा ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धी’ भन्न सकिन्छ ।

यसका प्रायोजक भने निजी कम्पनीहरु छन् । युनिलिभर, माइक्रोसफ्ट, रेकिट, स्कटिस पावर, सेन्सबरी, हिताची, नावेस्ट ग्रुप, जीएसके लगायतका प्रयोजक छन् ।

३. यसको सुरुवात कहिलेबाट भएको हो?

कोपको सुरुवात अर्थात् कोेप १ को प्रारम्भ सन् १९९५ बाट भएको हो । सन् १९९५ को मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा यसको प्रथम भेला भएको थियो । यसलाई बर्लिन म्यान्डेट पनि भनिन्छ ।

४. अहिलेसम्म कोपका २५ संस्कणहरु कहिले कहाँ–कहाँ भए ?

विश्वका विभिन्न महादेशमा कोपका संस्करणहरु भएका छन् । दक्षिण एसियामा एकपटक मात्र सन् २००२ मा भारतमा भएको थियो । यस्ता छन् कोप २६ सम्मका आयोजना स्थलहरु ।

  • कोप १ः जर्मनीको बर्लिनमा सन् १९९५ मार्च २८-अप्रिल ७
  • कोप २ः स्विट्जरल्यान्डको जेनेभामा सन् १९९६ जुलाई ८-जुलाई १९
  • कोप ३ः जापानको क्योतोमा सन् १९९७ डिसेम्बर १-डिसेम्बर १०
  • कोप ४ः अर्जेन्टिनाको ब्युनर्स आयर्समा सन् १९९८ नोभेम्बर २-नोभेम्बर १३
  • कोप ५ः जर्मनीको बोनमा सन् १९९९ अक्टोबर २५-नोभेम्बर ५
  • कोप ६ः नेदरल्यान्ड्सको हेगमा सन २००० नोभेम्बर १३-नोभेम्बर २४
  • कोप ७ः मोरक्कोको माराकेचमा सन् २००१ अक्टोबर २९-नोभेम्बर १०
  • कोप ८ः भारतको नयाँ दिल्लीमा सन् २००२ अक्टोबर २३-नोभेम्बर १
  • कोप ९ः इटालीको मिलानमा सन् २००३ डिसेम्बर १-डिसेम्बर १२
  • कोप १०ः अर्जेन्टिनाको ब्युनस आयर्समा सन २००४ डिसेम्बर ६-डिसेम्बर १७
  • कोप ११ः क्यानडाको मोन्टरियरमा सन् २००५ नोभेम्बर २८-डिसेम्बर ९
  • कोप १२ः केन्याको नैरोबीमा सन् २००६ नोभेम्बर ६-नोभेम्बर १७
  • कोप १३ः इन्डोनेसियाको बालीमा सन् २००७ डिसेम्बर ३-डिसेम्बर १७
  • कोप १४ः पोल्यान्डको पोजनानमा सन् २००८ डिसेम्बर १-डिसेम्बर १२
  • कोप १५ः डेनमार्कको कोपनहेगनमा सन् २००९ डिसेम्बर ७-डिसेम्बर १८
  • कोप १६ः मेक्सिकोको कान्कुनमा सन् २०१० नोभेम्बर २८-डिसेम्बर १०
  • कोप १७ः दक्षिण अफ्रिकाको डुर्बानमा सन् २०११ नोभेम्बर २८-डिसेम्बर ९
  • कोप १८ः दोहाको कतारमा सन् २०१२ नोभेम्बर २६-डिसेम्बर ७
  • कोप १९ः पोल्यान्डको वार्सामा सन् २०१३ नोभेम्बर ११-नोभेम्बर २३
  • कोप २०ः पेरुको लिमामा सन् २०१४ डिसेम्बर १-डिसेम्बर १२
  • कोप २१ः फ्रान्सको पेरिसमा सन् २०१५ नोभेम्बर ३०-डिसेम्बर १२
  • कोप २२ः मोरक्कोको माराकेचमा सन् २०१६ नोभेम्बर ७-नोभेम्बर १८
  • कोप २३ः जर्मनीको बोनमा सन् २०१७ नोभेम्बर ६-नोभेम्बर १७
  • कोप २४ः पोल्यान्डको काटोविचमा सन् २०१८ डिसेम्बर ३-डिसेम्बर १४
  • कोप २५ः स्पेनको म्याड्रिडममा सन् २०१९ डिसेम्बर २-डिसेम्बर १३
  • कोप २६ः संयुक्त अधिराज्य (युके) को स्कटल्यान्डको ग्लास्सगोमा सन अक्टोबर ३१-नोभेम्बर १२

५. कोप २६ आयोजनाको पूर्वघोषित मिति कहिले तोकिएको थियो ?

सन् १९९५ देखि निरन्तर हरेक वर्ष हुँदै आएको कोप सन् २०२० मा हुन सकेन । कोभिड–१९ को महामारीले सन् २०२० आक्रान्त भएकाले कोपको पूर्वनिर्धारित कार्यक्रम हुन सकेको थिएन । पूर्वघोषित मितिअनुसार कोप २६ सन् २०२० को नोभेम्बर ९–१९ सम्म स्कटल्यान्डको ग्लास्सगोमा नै तय भएको थियो । तर, कोपको व्यूरो बैठकले सन् २०२० मे २८ मा पुनः निर्णय गर्दै सन २०२१ को नोभेम्बर १–१२ सम्म गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णयलाई एक दिन अगाडि सारेर फेरि अक्टोबर ३१ बाट सुरु गर्ने निर्णय भएको थियो । त्यही निर्णय अनुसार आजबाट कोप २६ सुरु हुँदैछ । यो नोभेम्बर १२ सम्म हुनेछ । यसको आयोजना बेलायत र इटालीले संयुक्तरुपमा गर्दैछन् ।

६. कोप-२६ छलफलमा निर्धारण भएका विषयहरु के–के छन् ?

कोप २६ मा छलफल हुने मुख्य विषयहरुमा क्याइमेट फेयर सेयर, क्याइमेट एम्बिसन, क्याइमेट फाइनान्स, लस एन्ड ड्यामेज र कार्बन मार्केट हुन् । क्याइमेट फेयर सेयरले जलवायु परिवर्नत रोक्न र यसका असर कम गर्न विभिन्न देशहरुले गर्नुपर्ने योगदान समानुपातिक हुनुपर्ने वकालत गर्छ । कतिपय देशले धेरै र कतिपयले थोरै योगदान गरेकोले त्यो अन्त्य हुनुपर्ने यसको माग हो । जस्तै चीन, भारत, इन्डोनेसियाको तुलनात्मक योगदान अमेरिका, युरोप र रुसभन्दा धेरै भएको सन् २०१५ मा प्रकाशित सिभिल सोसाइटी इक्वीटी रिभ्युले उल्लेख गरेको छ । जलवायु परिवर्नतका असरमा योगदान गरेकै अनुपातमा असर कम गर्न लगानी आवश्यक भएको यो विषयको मुल मर्म हो ।

क्याइमेट एक्बिसनले कोप १५ मा भएको पेरिस सम्झौता कडाइका साथ पालन गर्न माग गर्छ । उक्त सम्झौतामा तापक्रम औद्योगिक क्रान्ति अगाडिको २ डिग्री सेल्सियसभन्दा मुनि बनाउने र सकेसम्म १.५ डिग्री सेल्सियस बनाउने लक्ष्य छ । पेरिस सम्झैता अनुसारको कामहरु नभएकाले त्यसलाई झक्झकाउन यो बिषय सारिएको छ ।

क्लाइमेट फाइनान्सले विश्वको उत्तरी गोलाद्र्धका धनी देशहरुले दक्षिणी गोलाद्र्धका देशहरुलाई जलवायु परिवर्नतका कारण भएको योगदानकै स्तरमा आर्थिक सहयोग गर्नुपर्ने लगायतका कुरा जनाउँछ । लस एन्ड ड्यामेजले विश्वका धनी प्रदूषक देशहरुले दक्षिणी गोलाद्र्धका गरिब देशहरुमा जलवायु परिवर्तको विपत्को क्षतिपुर्ति र उत्तरदायित्वको कुरा गर्छ ।

कार्बन मार्केटले प्रदूषकहरुले प्रदूषण गरेवापतको पैसा वा क्षतिपुर्ति दिनुपर्ने लगायतका कुराहरु समेट्छ । कार्बन ट्रेडसमेत भनिने यो चलनले केही प्रदूषण कम गरेको विज्ञहरु भन्दै आएका छन् ।

७. कोप-२६ मा को-को विश्व चर्चित नेताहरु आउँदैछन् ?

कोप २६ मा अमेरिकी रास्ट्रपति जो बाइडेन आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँने कार्यक्रम छ । आयोजक देशका भएकोले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वतः हुने भइहाले । तर, चीनका राष्ट्रपति सि चिनफिङदेखि रुसी राष्ट्रपति पुटिन लगायत भने नजाने भएका छन् ।

संयुक्त राष्ट्रसंघका पाँच भिटो पावर देशमा दुई देशका शक्तिशाली नेताको अनुपस्थितिले कार्यक्रमको विश्वव्यापी स्वामित्व र प्रभाव भने कम हुने देखिएको छ । यद्यपि, युुरोप अमेरिका पक्षधर शक्तिहरुको भने व्यापक उपस्थिति हुनाले केही प्रगतिको आशासमेत गर्न सकिन्छ ।

८. नेपालको हैसियत कस्तो हुन्छ ?

शुक्रबार उडेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको भ्रमण दलको आकार र सहभागीको अनुहार हेर्ने हो भने कोप-२६ मा नेपालले नेतृत्व नै गर्ने पो कि जस्तो भ्रम हुन सक्छ । प्रधानमन्त्री सहित ६ जना सचिवहरु ग्लास्सगो पुगेका छन् । अरु त अरु, जलवायु परिवर्तनमा कुनै सम्बन्ध नराख्ने गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी छन् । २० सदस्यीय भ्रमण दल छ नेपालको ।

सम्मेलनमा सहभागीता जनाउने बाहेक नेपालले कुनै हैसियत राख्दैन । न त नेपाल सरकारले जलवायु परिवर्तनमा नेतृत्व गर्ने कुनै विश्वस्तरीय हैसियत बनाएको छ, न सम्मेलनका विषयमा नेपाललाई मुलधारमा पार्ने खालका कुनै बलिया बिषय नै छन् ।

नेपालको हिमाल पग्लेकोदेखि हिमनदी सुक्दै गएको विषय छलफलमा मुलरुपमा परेकै छैन । यी गम्भीर विषयहरुलाई अन्य विषयहरुमा जोडेर बोल्नुपर्ने अवस्था देखिन्छ । यसले पनि नेपालको सहभागितालाई कमजोर देखाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि आयोजक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तस्विर खिचाएर यसो गफगाफ गर्ने मौका देउवाले पाउन सक्छन् ।

केहि गफगाफ गर्दै नेपालमा मात्रै हेडलाइन बन्ने बाहेक कोप-२६ मा सहभागी २० सदस्यीय जम्बो नेपाली भ्रमण दलको खासै देखिने प्रगति हुने सम्भावना छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *