सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एसले पहल थालेको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको भन्दै सरकारको नेतृत्वका लागि नेकपा एसले पहल अघि बढाएको छ ।
१० गते धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबै भन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् । त्यसपछि माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।
अहिले माओवादीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीसहितको सरकार रहेको छ । यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीले २–२ प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो ।
अहिले माओवादीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशको नेतृत्व गरिरहेको छ । लुम्बिनीमा भर्खरै नेतृत्व पाएको हुँदा सुदूरपश्चिम वा कर्णाली प्रदेशमध्ये एक प्रदेश माओवादीले छोड्नुपर्ने स्थितिमा सुदूरपश्चिम प्रदेशबाट माओवादीको नेतृत्व गुम्ने सम्भावना बढेको छ ।
शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा नगर्न भनेपछि कर्णालीमा माओवादीको सरकार सुरक्षित जस्तै भएको हो ।
‘हामी नयाँ सहमति गर्दैछौं । अहिले राजीनामा नदिनुस्’ मुख्यमन्त्री शाहीसँग फोनमा कुरा गर्दै प्रचण्डले भनेका थिए , ‘कर्णाली हाम्रो आधार क्षेत्र हो । तपाईंकै नेतृत्वमा चुनावमा जाने हो ।’
प्रचण्डले कर्णाली सराकारलाई ढाडस दिइरहेका बेला नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि माओवादीको नेतृत्वमा रहेको कर्णाली नभइ सुदूरपश्चिममा एकीकृत समाजदवादीले नेतृत्व गर्ने चाहना व्यक्त गरेको छ ।
‘हामीले कर्णाली ताकेका छैनौं । सुदूरमा हाम्रो दावी छ’ नेपाल प्रेससँग ज्वालाले भनेका थिए, ‘वागमती वा सुदूरमा हाम्रो नेतृत्व हुन्छ । कर्णालीका बारेमा अहिले बोल्न जरुरी छैन ।’
सबैभन्दा ठूलो दल रहेको हुँदा नेतृत्व गर्ने विषयमा छलफल हुनु सामान्य रहेको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले बताए ।
‘सबैभन्दा ठूलो दलको हैसियतले हाम्रो दावी स्वाभाविक रूपमा रहन्छ’ उनले भने, ‘अनौपचारिक रूपले यसमा छलफल पनि भइरहेको छ ।’
उनले प्रदेश कमिटी बैठकले सरकारको नेतृत्व लिने गरी छलफल गर्ने निर्णय नै भइसकेको बताए । उनले तत्कालै बदल्ने सम्भावना नरहे पनि केही समय पछि सरकार परिवर्तन हुने बताए ।