प्रचण्डलगत्तै चितवनमा ओलीः दासढुंगादेखि माडीकाे अयोध्याधामसम्म पुग्ने – Nepal Press

प्रचण्डलगत्तै चितवनमा ओलीः दासढुंगादेखि माडीकाे अयोध्याधामसम्म पुग्ने

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फर्किएपछि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने भएका छन् । दुईदिने चितवन बसाइँका क्रममा उनी दासढुंगादेखि प्रस्तावित अयोद्याधामसम्म पुग्ने कार्यक्रम छ ।

सोमबार सडक मार्गहुँदै चितवन आउँदा ओलीले नारायणगढ–मुग्लिन सडकखण्डस्थित दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन् । २०५० जेठ ३ गते जीप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय ढंगले मृत्युु भएको थियो ।

त्यसपछि ओलीले केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्नेछन् । भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि उनले केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रम छ ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । भरतपुर–१० मदननगरमा एमाले चितवन पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको दिउँसो ४ बजे निरिक्षण गर्नेछन् ।

एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार अध्यक्ष ओलीले १६ गते बिहान भरतपुर– १६ ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा निर्माणाधीन मिनि पानीजहाजको अवलोकन गर्नेछन् ।

ओली १६ गते नै माडी अयोध्याधाम पुग्नेछन् । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा वादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका केन्द्रीय नेताहरु चितवन आउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर