कर्णाली प्रदेशमा कांग्रेसले सरकार बनाउने, मुख्यमन्त्रीमा जीवनबहादुर शाही निश्चित – Nepal Press

कर्णाली प्रदेशमा कांग्रेसले सरकार बनाउने, मुख्यमन्त्रीमा जीवनबहादुर शाही निश्चित

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भावि मुख्यमन्त्रीका आकांक्षी हुन् ।

६ महिनाअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्दा कांग्रेसले उनलाई सघाएको थियो । त्यसबेला माओवादीले कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेको थियो । त्यही सहमति अनुसार शाहीले आज राजीनामा दिएका छन् ।

राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शाहीले नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको बताए । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ । शाहीको उक्त भनाइले आगामी दिनमा पनि अहिलेकै सत्ता गठवन्धन जारी रहने संकेत गरेको छ ।

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ । त्यसैले हाल कायम संख्या ३५ हो । बहुमतका लागि १८ मत चाहिन्छ ।

माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा ठिक्क बहुमत पुग्छ । तर, एक सांसद पनि यताउता भए पनि बहुमत पुग्दैन ।

यस प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेसँग एक्लै १६ सिट छ । तर, एमाले विभाजनको फाइदा स्वरुप तेस्रो ठूलो दल कांग्रेसले सरकार चलाउने भएको छ ।


प्रतिक्रिया

One thought on “कर्णाली प्रदेशमा कांग्रेसले सरकार बनाउने, मुख्यमन्त्रीमा जीवनबहादुर शाही निश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर