चितवन कांग्रेस सभापति भन्छन्- रुखमा बाहेक अन्त भोट हाल्दैनौं भन्दा प्रचण्डलाई किन ज्वरो आएको ? – Nepal Press

चितवन कांग्रेस सभापति भन्छन्- रुखमा बाहेक अन्त भोट हाल्दैनौं भन्दा प्रचण्डलाई किन ज्वरो आएको ?

‘प्रचण्ड संयुक्त व्यवसायमा धोका दिने पाटर्नरजस्तै हुन्’

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पूर्वप्रधानमन्त्री प्रचण्ड र ओलीको चर्को आलोचना गरेका छन् ।

नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

‘१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं,’ उनले भने, ‘रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन,  म फेरि भन्छु-चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन ।’

स्थानीय तहको चुनावमा कांग्रेस-माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो । त्यो बेला गठबन्धन भए पनि चितवनका अन्य स्थानीय तहमा दुवै पार्टी एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका थिए ।

सत्ता गठबन्धनमा सँगै रहेको माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको उम्मेदवार मानेर भोट हाल्नुपर्ने पो हो कि भन्ने चिन्ता सुरु भएको देखिन्छ । यहि ९ गते प्रचण्डले अन्तिम पटक चितवनबाटै उम्मेदवारी दिने अभिव्यक्ति दिइसकेका छन् ।

‘प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं,’ श्रेष्ठले भने, ‘रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो ?’

१२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको बोलेका थिए । ‘रेणु र मलाई लखेट्ने भनेर सभापति भन्ने बोलेछन् भनेर प्रचण्डले बोल्नुभएछ,’ श्रेष्ठले जवाफ दिए, ‘सभापति भन्नेले होइन, चितवन कांग्रेसको सभापति हो भनेर राम्रोसँग बुझ्दा हुन्छ ।’

माओवादी अध्यक्ष प्रचण्डको चुनाव चिह्नको भर नै नभएको भन्दै उनले व्यङ्ग्य गरे । ‘उहाँलाई भ्रम होला, कहिले सूर्य, कहिले नेकपा, कहिले हसिँया हथौडा बोकेर हिड्नुहुन्छ,’ उनले थपे, ‘सर्लाहीमा पुग्यो समाजवादीसँग गठबन्धन हुन्छ भन्नुहुन्छ, जेजे मन लाग्छ पार्टीमा गर्दा हुन्छ, हाम्रो पार्टीले कसैसँग गठवन्धन गर्दैन ।’

प्रचण्ड संयुक्त व्यवसायमा धोका दिने पाटर्नरजस्तै भएको श्रेष्ठको आरोप छ । जिल्ला सभापति श्रेष्ठले पूर्वप्रधानमन्त्री ओलीको पनि आलोचना गरे । ‘उहाँ धर्मको कुरा बोकेर चितवन आउनुभएको छ, चितवनमा अयोध्या बनाउने रे १’ उनले भने, ‘जसले हिन्दु र ईश्वरको नाममा सपथ खाएन, उसले राम मन्दिर बनाउँछन् भनेर भ्रममा नपरे हुन्छ ।’

ओली मंगलबार माडीको प्रस्तावित अयोध्याधाममा आयोजित जनसभालाई सम्बोधन गर्न जाँदैछन् । ओलीले कांग्रेस बूढो भएकाले अधिवेशन गर्न नसकेको भनेर केही दिन पहिले दिएको अभिव्यक्ति पनि खण्डन गरे । ‘७५ वर्ष भयो पार्टी जन्मेको, कांग्रेस बूढो भयो होला, हामीजस्ता नयाँ बिरुवा जन्मिसकेका छन्, आगामी निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन युवाहरुले संकल्प बोकेका छन्,’ उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर