एमालेले महाधिवेशनमा चन्दा नमाग्ने, कसरी व्यवस्थापन गर्छ खर्च ? – Nepal Press

एमालेले महाधिवेशनमा चन्दा नमाग्ने, कसरी व्यवस्थापन गर्छ खर्च ?

काठमाडौं। नेकपा (एमाले)ले चितवनमा गर्न गइरहेको १० औं महाधिवेशनमा चन्दा नउठाउने भएको छ। यद्यपि स्थानीय कमिटीले नै यातयात खर्च व्यर्होनु पर्ने भएकाले केन्द्रको अनुमतिमा उनीहरुले संकलन गर्न सक्ने एमाले सचिव योगश भट्टराई बताउँछन् ।

‘यस पटकको महाधिवेशनमा हामीले सार्वजनिक ढंगले चन्दा आह्वान गरेका छैनौं, महाधिवशेनबारे जानकारी दिन बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘तर स्थानीय पार्टी कमिटीले त्यो काम केन्द्रको अनुमतिमा गर्न सक्छन् ।’

‘यातायात खर्चदेखि कतिपय खर्च स्थानीय कमिटीले जुटाउनुपर्ने भएकाले उनीहरुले त्यो गर्न सक्छन् । तर, त्यसको निम्ति केन्द्रीय कार्यालयसँग, केन्द्रीय आर्थिक विभागसँग पूर्व अनुमति लिनुपर्छ,’ भट्टराईले थपे । उनका अनुसार स्थानीय कमिटीले खर्च जुटाउन स्वेच्छिक ढंगले सहयोगका लागि कार्यकर्तामा आह्वान गर्न सक्छन्।

आन्तरिक स्रोतमै भर

पार्टीको संगठित सदस्यहरुबाट उठ्ने रकम र महाधिवेशन प्रतिनिधिहरुबाट उठाने रकम नै मुख्य स्रोत हुने भट्टराईको भनाइ छ । ‘यो पटक हाम्रो पार्टीको संगठित सदस्यता शुल्क र नवीकरण शुल्क नै मुख्य स्रोत हुन,’ उनको भनाइ छ, ‘त्यो बाहेक पनि एमालेले वार्षिक करोडौं रुपैयाँ कोषमा जम्मा गर्छ ।’

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संगठित सदस्य हुनेहरुले पार्टीलाई मासिक २५ रुपैयाँ तिनुपर्ने हुन्छ । त्यसमध्य ५ रुपैयाँ सिधै केन्द्रमा आउँछ । बाँकी रहेको २० रुपैयाँको पनि ४० प्रतिशत केन्द्रमा आउँछ र बाँकी ६० प्रतिशत स्थानीय, जिल्ला र प्रदेश कमिटीबीच २० प्रशितका हिसाबले बाँडिन्छ ।

कति उठ्छ पैसा

एमालेले केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायबाट स्वतः महाधिवेशन प्रतिनिधि बन्नेबाट प्रतिव्यक्ति तीन हजार उठाउने छ। एमालेको १० औं महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छ । जसमध्य २ सय ६२ जना स्वतः प्रतिनिधि हुनेछन् । उनीहरुबाट ७ लाख ८६ हजार रुपैयाँ उठ्ने छ।

त्यस्तै अन्य निर्वाचित भएर आउने १ हजार ७ सय ३७ महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति दुई हजार शुल्क तिनुपर्ने छ । जसबाट ३४ लाख ७४ हजार रुपैयाँ उठ्ने छ।

एमालेले आफ्ना ७ लाख २१ हजार संगठित सदस्य रहेको बताएको छ। प्रति सदस्य २५ रुपैयाँका दरले मासिक १ करोड ८० लाख २५ हजार रुपैयाँ उठ्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर