बसको ठक्करबाट देउसी खेलिरहेका दुई पुरुषको मृत्यु, ८ घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेटौंडा-१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।
रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेलिरहेको समूहमा घुसेको थियो । शनिबार राति १०: ३० बस अनियन्त्रित भएर ‘रङ् साइड’मा गएर ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र अन्य ८ जना घाइते भएको प्रहरीले बताएको छ ।
त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको रिमालले बताए ।
ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।