सर्वोच्चका न्यायाधीशबीच बन्दीका बाहेक मुद्दा नहेर्ने सहमति, प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने – Nepal Press

सर्वोच्चका न्यायाधीशबीच बन्दीका बाहेक मुद्दा नहेर्ने सहमति, प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी नभएका न्यायाधीशबीच बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइमा सहभागी नहुने सहमति जुटेको छ ।

प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलबार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।

असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायाधीशबाहेकको इजलासमा बसेर बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्ने, बन्दीसँगै अन्य मुद्दाको पेसी तोकिए बन्दीको मात्र हेर्ने, अन्य नहेर्ने सहमति गरेका छन् ।

बन्दीको मुद्दा हेर्ने सहमति गर्दै उनीहरूले प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा मुद्दा सुनुवाइ गरेका छन् । भोलिबाट बन्दीका मुद्दामा निरन्तर सुनुवाइ गर्ने, प्रधानन्याधीशसँग बेञ्च सेयरिङ नगर्ने, बन्दीबाहेकका मुद्दा नहेर्ने हाम्रो आजको सहमति हो, अन्य विषयमा सल्लाह गर्दैछौं,’ न्यायाधीश हरिकृष्ण कार्कीले भने ।

प्रधानन्यायाधीश जबराले भने मंगलबारबाट बन्दीसहितका सबै मुद्दामा पेसी तोक्ने तयारी गरेका छन् । तर, न्यायाधीशहरूले बनाएको वार्ता समितिले भने बन्दीबाहेकका मुद्दा हेर्न न्यायाधीशहरू तयार नभएको सन्देश जबरालाई दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *