आफैंबारे प्रचण्डः माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मिदैनन् – Nepal Press

आफैंबारे प्रचण्डः माओ, लेनिन, प्रचण्डहरु एउटा कालखण्डमा धेरै जन्मिदैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिले आफूलाई निशाना बनाएको दावी गरेका छन् । प्रचण्डलाई नसिध्याएसम्म पार लाग्ने रहेनछ भनेर घेराबन्दी भइरहेको उनको भनाइ छ ।

विप्लव समूहबाट माओवादी प्रवेश गरेकालाई स्वागत गर्ने कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादीले हासिल गरेको राजनीतिक उपलब्धी उल्टाउने षडयन्त्र भइरहेको बताए ।

उनले भने, ‘प्रतिक्रान्तिकारी दलालहरु अहिले पनि आन्दोलनका उपलब्धी उल्टाउने षडयन्त्रमा छन् । माओवादी आन्दोलन र प्रचण्डलाई नसिध्याएसम्म हुँदो रहेनछ भन्ने देखियो नि ! किरणको पार्टी बन्यो, विप्लवको बन्यो । तर, क्रान्ति सजिलो कुरा होइन । लहड चल्दैमा क्रान्ति हुँदैन ।’

आफूलाई सबै नेपाली जनताले जन्माएको प्रचण्डले बताए । एउटा युगमा एक मात्र प्रचण्ड जन्मिनसक्ने उनको भनाइ थियो ।

‘प्रचण्ड भनेको प्रचण्ड आफैंले जन्माएको होइन । नेपाली जनताले जन्माएको हो । तपाईंहरु सबै लडेर निर्माण गरेको हो । व्यक्ति होइन प्रचण्ड । एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुन सक्दैन । एउटै युगमा थुप्रै माओ, थुप्रै लेनिन, थुप्रै माक्र्स, थुप्रै प्रचण्ड हुँदैन । एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो । आन्दोलनले, संघर्षले, बलिदानले, सही विचारले पैदा गर्ने हो,’ उनले आत्मप्रशंसा गर्दै भने ।

प्रचण्डले थपे, ‘प्रतिक्रियावादी त्यसलाई सिध्याउन खोज्छन् । तर, जनताले बचाउन खोज्छन् । आज प्रचण्डको रक्षाका निम्त तपाईंहरु आउनुभएको छ । धन्यवाद भन्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर