दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने – Nepal Press

दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने

घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् । घोराहीमा बिहीबार बसेको सभापति शेरबहादुर देउवा र स्व. खुमबहादुर खड्का समूहका नेताहरूको बैठकले खड्कालाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले जानकारी दिए ।

कांग्रेस क्षेत्र नम्बर २ ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ ‘लाला’लाई उम्मेदवार बनाउने सहमति भएको छ । सभापतिका उम्मेदवारहरू बनाउन कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको ठूलो भूमिका रहेको नेता खनालले बताए ।

सभापति देउवा र स्व. खुमबहादुर खड्का निकटका नेताहरू मिलेर दाङको अधिवेशनमा प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छन् ।

क्षेत्र नम्बर २ ‘ख’को सभापतिमा शुक्रबार टुंगो लगाउने तयारी भएको छ । त्यसका लागि नेताहरू आन्तरिक परामर्शमा छन् ।

बिहीबारको बैठकमा पूर्वसांसद राजु खनाल, लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार श्रेष्ठ, भुपबहादुर डाँगी, गोपालराज शर्मा, भरतराज न्यौपाने, श्याम रेग्मी, हरिनाथ योगी, पुरुषोत्तम शर्मा, रमेश पाण्डे लगायतका नेताहरूको उपस्थिति थियो ।

त्यस्तै सस्थापनइतर समूहबाट कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा घोराही १० का वडाअध्यक्ष निर्मल डाँगी र २ ‘ख’को प्रदेश सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

यहाँ डागी र खड्काबीच कडा प्रतिस्पर्धा हुनेछ । डागि र बस्नेतलाई कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, रास्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, नेताहरु किरणकिशोर घिमिरे, कमल किशोर घिमिरे, गिरिराज सुवेदी, भोजराज पाण्डे, बिरकेश्वरि गौतम लगायतका नेताहरुको समर्थन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर