गुटको बैठकमा रामचन्द्रले भने- आमनिर्वाचनसम्म सभापति बन्छु, चुनाव जिताएर हस्तान्तरण गर्छु – Nepal Press

गुटको बैठकमा रामचन्द्रले भने- आमनिर्वाचनसम्म सभापति बन्छु, चुनाव जिताएर हस्तान्तरण गर्छु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई पहिलो पार्टी बनाउँदासम्मका लागि आफू सभापति हुन चाहेको बताएका छन् ।

आफूनिकट नेताहरुसँगको छलफलमा वरिष्ठ नेता पौडेलले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाए सभापति जितेर पार्टीलाई संसदीय निर्वाचनमा पहिलो बनाउने बताएका हुन् । ‘सहमतिका लागि म सधै उदार छु । म सधैंका लागि सभापति बन्नेपनि होइन । मेरो नेतृत्वमा आगामि निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउँछु । त्यसपछि तत्काल नेतृत्व हस्तान्तरण गर्न म सकरात्मक छु’, पौडेलले भने ।

उनले टिमभित्र सहमति जुटाउन आफू लचक रहेको भन्दै आफूबाहेकका दावेदारको नाममा सहमति भएपनि स्वीकार गर्ने बताए । ‘शशांक, प्रकाशमान र शेखरजीबीच आपसमा सहमति हुन्छ भनेपनि म मान्छु तर सहमति भएन भने एक्लाएक्लै लड्नुभन्दा मेरो नेतृत्व स्वीकार गर्न सबैलाई सहज होला’, पौडेलले भने ।

पौडेलले १३ औं महाधिवेशनमा आफू सभापतिमा पराजित भएपनि त्यसयता निष्क्रिय नरहेको बताए । एउटा महाधिवेशनमा पराजित हुँदैमा अयोग्य नहुने भन्दै पौडेलले साझा उम्मेदवार बनाउन निरन्तर संवाद गर्नुपर्ने उल्लेख गरे । ‘म सभापति हारेपछि सेलाएर बसेको छैन । निरन्तर सक्रिय नै छु । त्यसैले मलाई अस्वीकार गर्न भएन । कि तपाईंहरुमध्ये एकजना मिलेर आउनुस्, कि मलाई सघाउनुस्’, बैठकमा पौडेलले भने ।

बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले सभापतिमा एकजना मात्रै नेताको उम्मेदवारी हुनुपर्ने अन्यथा महाधिवेशनमा हार हुने बताएका थिए ।


प्रतिक्रिया

One thought on “गुटको बैठकमा रामचन्द्रले भने- आमनिर्वाचनसम्म सभापति बन्छु, चुनाव जिताएर हस्तान्तरण गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर