पर्यटनमन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता : नेपालसँग सीधा हवाइ उडान गर्नेबारे छलफल – Nepal Press

पर्यटनमन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता : नेपालसँग सीधा हवाइ उडान गर्नेबारे छलफल

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले र इजरायली राजदूत हेनान गोदरबीच द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा नेपाल र इजरायलबीच सीधा हवाइ उडान संचालन गर्न सकिने उपायबारे छलफल भएको जनाइएको छ ।

सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सीधा हवाइ उडान गर्न इजरायलले पहल गर्ने आश्वासन दिएका थिए । सीधा उडान गर्न इजरायल इच्छुक समेत रहेको बताएका थिए ।

मन्त्री आलेसँग राजदूत गोदरले दुई साताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदारलाई इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ए–३३० जहाज भाडामा लिन इच्छुक रहेको बताए । राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका थिए ।

राजदूत गोदरसँग मन्त्री आलेले नेपाल र इजरायलबीच सीधा हवाई सम्पर्कका लागि आफूहरू तयार रहेको बताएका थिए । नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडा दर घटाउन पहल गर्ने आश्वासन समेत मन्त्री आलेले दिए ।मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिनुभयो ।

भेटवार्ताकै क्रममा राजदूत गोदरले गाडीमा बसेर ५० वटा ठूलो पर्दामा फिल्म हेर्न मिल्ने प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिल्म हेर्ने कार्यक्रमको मुख्य आतिथ्यताका लागि मन्त्री आलेलाई निम्तो समेत दिए ।

दुई सातापछि उक्त कार्यक्रम नेपालको सोल्टी होटेलमा उद्घाटन गरिने जनाइएको छ । भेटकै क्रममा मन्त्री आलेले नेपालको विविध क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरे ।

सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा जीटूजीमार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदूत गोदरसँग आग्रह गरे । सो विषयमा राजदूत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *