टी-२० विश्वकपः अष्ट्रेलियाले आफैं जित्यो कि टसले जितायो ?
काठमाडौं । क्रिकेट खेलको एउटा अभिन्न अंग हो- टस । अम्पायरले एउटा सिक्कालाई हावामा फ्याकेर भुइँमा खसाल्नुअघि प्रतिस्पर्धी दुई टिमका कप्तानलाई सोधेका हुन्छन्, हेड अर टेल (नेपालीमा गाई कि त्रिशुल भनेजस्तो) । जसले भनेको साइडमा उत्तानो परेर सिक्का खस्छ, उसले टस जितेको मानिन्छ । टस जित्ने कप्तानले पहिले बलिङ वा ब्याटिङ रोज्न सक्छ ।
पिचको प्रकृति, आफ्नो टिमको बनावट, मौसमको अवस्थालगायत विविध पक्ष हेरेर टस जित्ने कप्तानले बलिङ वा ब्याटिङ रोज्ने फैसला गर्छन् । प्राय खेलअगाडि नै टस जित्दा के गर्ने भन्ने टिममा छलफल भएको हुन्छ । कहिलेकाहीँ यो फैसला लिन टिमका लागि निकै पेचिलो पनि पर्न जान्छ । तर, हालै युएइमा सम्पन्न भएको टि-२० विश्वकप प्रतियोगितामा टस जित्ने कप्तानहरूलाई फैसला लिन अति सजिलो भयो । यसकारण कि, पहिले बलिङ गर्ने टिमलाई अत्यन्त ठूलो फाइदा मिल्छ भन्ने घामजस्तै छर्लंग थियो ।
टसले खेलको नतिजालाई प्रभावित तुल्याउनु क्रिकेटमा अनौठो मानिँदैन । तर, यस विश्वकपमा जति टसको एडभान्टेज विगतमा सायदै कुनै विश्वस्तरीय प्रतियोगितामा देखिएको थियो । क्रिटिक्सहरू विश्वकपमा अष्ट्रेलियाका लागि टसले १२ औं खेलाडीको जिम्मेवारी निभाएको बताइरहेका छन् । यो भनाइमा निकै सत्यता छ ।
टि-२० विश्वकपलाई फर्केर हेर्ने हो भने प्राय: हारजितमा टसले निर्णायक रोल खेलेको देखिन्छ । अपवादबाहेकका म्याचमा टस जित्नु नै खेल जित्नु बराबर थियो । खासगरी सुपर १२ का खेलमा टसको प्रभाव अत्यधिक परेको छ ।
सुरूमा फाइनल खेलकै चर्चा गरौं । अष्ट्रेलियाले टस जित्नासाथ टिमको मनोबल दुईगुणा बढिसकेको थियो । यसकारण कि दुबईको मैदानमा भएका पछिल्ला १२ खेलमध्ये १० वटा खेल टस जित्ने टिमले जितेका थिए । १२ मध्ये ११ खेलको नतिजा पहिले बलिङ गर्ने टिमको पक्षमा आएको थियो ।
फाइनलमा अष्ट्रेलियाले टस जितिसकेपछि बलिङ रोज्नु त्यति नै निश्चित थियो, जति निश्चित हुन्छ बिहान भएपछि सुर्य उदाउनु । अनि टस जितेपछि खेल अष्ट्रेलियाले जित्ने भविष्यवाणी क्रिकेटको सिकारु विश्लेषकले पनि गर्न सक्थ्यो ।
अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेसँगै न्यूजिल्यान्डका समर्थकको ओठ तालु सुकिहाल्यो । पहिले ब्याटिङमा निम्त्याइएको न्यूजिल्यान्डले १७७ रनको बलियो स्कोर खडा गर्न सफल भयो । अरु ब्याट्सम्यानहरुको दह्रिलो साथ नपाउँदा पनि न्यूजिल्यान्डका कप्तान केन विलियम्सन एक्लैले टिमलाई उकासेका थिए ।
दुबईको कठिन पिचमा ब्याटिङ गर्दा रनका लागि निकै संघर्ष गर्नुपर्छ । त्यसैले न्यूजिल्यान्डले दिएको १७८ रनको लक्ष्य अष्ट्रेलियाका लागि चुनौतीपूर्ण थियो । तर, अष्ट्रेलियाले बिनाकुनै तनाव ८ विकेटले खेल आफ्नो पोल्टामा पार्यो । न्यूजिल्यान्डका बलरहरू मरुभूमिमा पानीका लागि तड्पिएझैं विकेटका लागि तड्पिइरहे ।
यस विश्वकपमा देखिएको ट्रेन्ड के हो भने पहिलो इनिङमा ब्याटिङ गर्ने टिमले रनका लागि जति संघर्ष गर्नुपर्छ, दोस्रो इनिङमा त्यो पर्दैन । दोस्रो इनिङमा संघर्ष गर्ने पालो बलरहरूको हुन्छ । यस हिसाबले दोस्रो ब्याटिङ गर्ने टिमलाई दोहोरो फाइदा मिल्छ । अष्ट्रेलियाले यही ‘अनुचित लाभ’को दोहन गर्यो र पहिलोपटक टी-२० विश्व च्याम्पियन बन्यो ।
यदि पीचले समान व्यवहार गरिरहेको हुन्थ्यो भने न्यूजिल्यान्डले दिएको लक्ष्य पूरा गर्न अष्ट्रेलियालाई आच्छुआच्छु पर्ने निश्चित थियो । अष्ट्रेलियाको अहिलेको ब्याटिङ पंति त्यतिधेरै सशक्त छैन, जति विगतमा हुने गथ्र्यो । यो विश्वकपमा आउँदा धेरै खेलाडीहरू आउट अफ फर्म थिए । अष्ट्रेलियालाई उपाधिको दाबेदार नै मानिएको थिएन । तर, भाग्य अर्थात् टस उसको पक्षमा रह्यो । समूह चरणका महत्वपूर्ण म्याचहरू, साथै सेमिफाइनल र फाइनल दुवैमा अष्ट्रेलियाले टस जित्यो, सँगै खेल पनि ।
टसले मात्रै विश्वकप जितेको भन्दा अष्ट्रेलियाका समर्थकलाई चोट पुग्न सक्छ । हो, अष्ट्रेलियाले यदि खराब ब्याटिङ र बलिङ गरेको भए नतिजा उसको पक्षमा नआउन सक्थ्यो । खेलका महत्वपूर्ण क्षणहरुमा अष्ट्रेलियाका खेलाडीहरुले बाजी मारेका हुन् । थ्रो आउट प्रतियोगितामा डेभिड वार्नरको ब्याटिङको प्रशंसा गर्नैपर्छ । एडम जाम्पाको बलिङको सह्राहना गर्दैपर्छ । फाइनलमा मिचेल मार्सले आकर्षक पारी खेलेकै हुन् । तर, यदि टसले सहयोग गरेको थिएन भने अष्ट्रेलियाको विश्वकप यात्रा समिफाइनलअघि नै टुंगिन सक्थ्यो भन्ने पनि उत्तिकै सत्य हो ।
एकपटक समूह चरणमा फर्किऔं । अष्ट्रेलियाले ५ मध्ये ४ खेलमा टस जितेको थियो । ती सबैमा उसले पहिले ब्याटिङ रोज्दै जित हात पार्यो । अष्ट्रेलियाले ईंग्ल्यान्डविरुद्धको म्याचमा मात्रै टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको थियो । त्यसमा उसले ८ विकेटको लज्जास्पद हार व्यहोर्न पुग्यो । अष्ट्रेलियाले मात्र १२५ रनको स्कोर खडा गर्न सकेको थियो, जसलाई ईंग्ल्यान्डले मात्र २ विकेटको क्षतिमा मात्र ११.४ ओभरमा हासिल गर्यो । अर्को एउटा म्याचमा अष्ट्रेलियाले टस हारेको भए उसले समूह चरणबाट माथि उक्लनेमा शंका गर्न सकिन्छ ।
आँकडाले बोलेको सत्य
सुपर १२ मा आइसीसीका फुल मेम्बरहरुबीच खेलाइएका २३ म्याचमध्ये १८ वटा म्याच टस जित्ने टिमको पक्षमा रह्यो । तीमध्ये १५ वटा खेल टस जित्ने टिमले जितेका थिए ।
दक्षिण अफ्रिकाले ईंग्ल्यान्डलाई १० रनले हराउनु प्रतियोगिताको एक मात्र अपवाद हो, जहाँ बलिया दुई टिमबीचको प्रतिस्पर्धामा पहिले ब्याटिङ गर्ने टिमले जित हासिल गरेको थियो । प्रतियोगिताको सबैभन्दा स्तब्धतापूर्ण नतिजा भनेको बंगलादेशले स्कटल्यान्डविरुद्ध व्यहोरेको पराजय थियो, जसमा उसले टस जितेर पनि खेल हारेको थियो ।
यो प्रतियोगिता अगाडि उपाधिको सबैभन्दा ठूलो दाबेदार मानिएको थियो भारत । भारतीय टिम सन्तुलित थियो भने यूएइको पीचमा अभ्यस्त पनि । तर, पहिलो दुई म्याचमा उसले पाकिस्तान र न्यूजिल्याण्डसँग लज्जास्पद हार व्यहोर्न पुग्यो । दुवै म्याचमा विपक्षी टिमले भारतीय बलरहरुलाई कुनै मौका दिएनन् । ती दुवै खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । पाकिस्तान र न्यूजिल्यान्डमध्ये एउटा खेलमा टस जितेको भए आज अष्ट्रेलियाको हातमा रहेको ट्रफी आफ्नो टिमका हातमा हुन सक्थ्यो भन्ने भारतका उग्र समर्थकहरुको विश्वास छ ।
सेमिफाइनलको कुरा गरौं । पाकिस्तान र अष्ट्रेलियाको सेमिफाइनलमा धेरैले पाकिस्तानलाई फेभरेट मानेका थिए । समूहचरणमा उत्कृष्ट खेलसहित अपराजित रहेको पाकिस्तान सबै पक्षमा बलियो देखिएको थियो । अष्ट्रेलिया भने साउथ अफ्रिकाभन्दा रनरेटले अगाडि भएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तानका सबै खेलाडी फर्ममा थिए । टस हारेर पाकिस्तानले पहिलो ब्याटिङ गरेको पाकिस्तानले अष्ट्रेलियालाई १७७ रनको लक्ष्य दियो । उत्कृष्ट लयमा रहेको पाकिस्तानको बलिङ सामु अष्ट्रेलियाका लागि पहाड हुन सक्ने थियो । तर, अष्ट्रेलियाले ब्याटिङ गर्दै गर्दा पीचको व्यवहार बदलिदै गयो । बलरहरुले बललाई लाइन र लेन्थमा राख्न सकेनन् । सइन शाह अफ्रिदीजस्तो उत्कृष्ट बलरले एकै ओभरमा २३ रन खाए ।
अर्को सेमिफाइनल थियो न्यूजिल्यान्ड र ईंग्ल्यान्डबीचमा । डरलाग्दो ब्याटिङ पंति मानिएको ईंग्ल्यान्डलाई उपाधिकै दावेदार मानिएको थियो । तर, टस हार्नु नै उसका लागि दुर्भाग्य भयो । उसले दिएका १६६ रनको लक्ष्यलाई ५ विकेट गुमाएर न्यूजिल्यान्डले भेट्टायो । यस म्याचमा पनि दोस्रो इनिङको अन्तिमतिर बलिङ निकै कठिन बनेको थियो ।
किन यस्तो भयो ?
आखिर यूएइको पीचमा त्यस्तो के थियो, जसले दोस्रो ब्याटिङ गर्नेलाई यति फाइदा मिल्यो त ? विश्लेषकहरुका अनुसार मुख्य कारण हो ‘ड्यू’ अर्थात् शीत । खासगरी रातिका खेलहरुको ड्यूको प्रभाव निर्णायकजस्तै देखियो ।
द टेलिग्राफमा मार्कस परेखले लेखेका छन्, ‘सुर्यास्तपछिको चिसो सफा रातमा जब न्यून वायू र हावामा पानीको वाफ धेरै हुन्छ भने त्यहाँ शीत पैदा हुन्छ । उच्च आर्द्रता भएको वायूमण्डलमा यस्तो शीत धेरै बन्ने गर्छ ।’
क्रिकेट खेल्दा घाँसमा परेको शीतले सेतो बललाई भिजाएर चिप्लो बनाउँछ । त्यसले गर्दा फास्ट बलरले चाहेको दिशा र गतिमा बल फ्याँक्न सक्दैनन् । न त स्पिनरले नै बललाई चाहेजसरी घुमाउन सक्छन् । यस्तोमा फाइदा ब्याट्सम्यानलाई हुन्छ । उनीहरू धोवीले लुगा चुटे जसरी बलरलाई चुट्छन् ।
बललाई सुख्खा बनाउन फिल्डिङ टिमले बारम्बार रुमालले पुछेको देख्ने गरिन्छ । तर त्यसले धेरै फरक पर्दैन ।
तपाईंले पाकिस्तान र अष्ट्रेलियाको सेमिफाइनल म्याच पूरा हेर्नुभएको थियो भने मोहम्मद हाफिजको बलमा वार्नरले हानेको छक्का याद होला । हाफिजको हातबाट बल फुत्केर पीचमा डबल बाउन्स भएको थियो । दुईपटक उफ्रेको डेड बलमाथि आक्रमण गर्दै वार्नरले ६ रन बटुलेका थिए । के थाहा, त्यो बल यदि हाफिजको हातबाट चिप्लेर नफुत्केको भए खेलको नतिजा अर्कै आउँथ्यो कि ?
-चिरञ्जीवी