निगम र विद्यार्थी संगठनविचको वार्ता असफलः मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्किने – Nepal Press

निगम र विद्यार्थी संगठनविचको वार्ता असफलः मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्किने

मासिक पाँच अर्ब भन्दा बढी घाटा भएकोले मूल्य घटाउन सकिँदैनः आयल निगम

काठमाडौं । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनबीचको वार्ता असफल भएको छ । निगम र संगठनविचको वार्ता असफल भएपछि निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताले चेतावनी दिएका छन् ।

सोमबार दुबै पक्षबीच भएको वार्तापछि संवाद डबलीमा आयोजित अन्तरसंवाद कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताईन । उनले पछिल्लो समयमा बढाईको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् । अत्याधिक मूल्यवृद्धि हुदाँ पनि घाटा भयो भन्ने कुरा हास्यस्पद भएको बताउँदै अध्यक्ष सिंहले प्रश्न गर्दै भनिन्, ‘भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा एक सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?’

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार सिंहदरबारमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको बताएकी छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए । आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भए पनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्ने कार्यमा विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्नेमा जोड दिए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने पनि चेतानवी दिए ।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा दुई पटक मूल्य समायोजन गर्नुपरेको बताए । पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको दृष्टान्त दिँदै प्रवक्ता उपाध्यायले भने, ‘वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।’

आयल निगम घाटामा भएको विषय दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनुपर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत प्रवक्ता उपाध्यायको भनाई थियो । उनले भने, ‘यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।’

कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहदाँ मासिक पाँच अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको दाबी गरे । आन्दोलनरत विद्यार्थी संगठनका नेता र निगम पदाधिकारीबीच दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा तीन घण्टा लामो बार्ता भएको थियो । तर, दुबै पक्षको आआफ्नो अडानका कारण वार्ता सफल हुन सकेन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर