प्रधानन्यायाधीशमाथिको रिसले न्यायालयलाई भड्खालोमा नहालौं !
लोकतान्त्रिक प्रणाली, विधिको शासन, संविधान र कानूनको रक्षक तथा जनतालाई अन्तिम न्याय प्रदानकर्ता हाम्रो सर्वोच्च अदालतमा हिजोआज फरक दृश्यहरु देखिइरहेका छन् । न्यायको मन्दिरमा जेजस्ता हर्कतहरु भइरहेका छन्, सहजै पचाउन सकिने खालका छैनन् ।
विद्वान वकिल र माननीय न्यायाधीशज्यूहरु बीच कानून र प्रमाणको विश्लेषण तथा विवेचना गरी न्यायरुपी अमृतको उत्पादन गरिदै आएको यो संस्था आफैं अन्यायमा परी न्याय खोजिरहेको छ । ज्ञान, विवेक, दक्षता र अनुभवले खारिएका विद्वान वकिलज्यूहरु र माननीय न्यायाधीशज्यूहरुले कानून, संविधान, विवेक र चेतनाको विपरित आन्दोलन गरिदिँदा न्यायको भरोसामा रहेका सम्पूर्ण सेवाग्राही चरम अन्यायमा परिरहेका छन् ।
उपत्यका बाहिरबाट दुःखकष्ट सहेर लामो यात्रापछि अदालत धाएका सेवाग्राही आज मलिन, उदासिन र दुखित भई अदालतबाट खाली हात फर्कनु पर्दाको पीडा कति मार्मिक होला ? कस्ले यसको लेखाजोखा गर्ने ? अरुको पीडा महशुस गर्न आफुलाई पनि पीडितकै स्थानमा उभ्याई हेर्नुपर्छ ।
उचित र तार्किक चरित्र बोकेको आन्दोलनको आफ्नै तागत र शक्ति हुन्छ जसले आन्दोलनलाई लक्ष्यसम्म पुर्याउँछ । तर कुनै व्यक्तिप्रति लक्षित वा पूर्वाग्रह वा प्रतिशोध साँध्न गरिने आन्दोलन लक्ष्यसम्म पुग्न सक्दैन ।
निहीत स्वार्थको लागि अरुको पीडामा रमाउने कार्य मानवता विरुद्धको अपराध र पाप कर्म बाहेक केही होइन । अरुको मुद्दामा कानून, संविधान, विधि, पद्दती र प्रकृयाको बारेमा घण्टौंसम्म अदालतको इजलासमा बहस पैरवी गर्ने, संविधानवादका उदाहरणहरु पेश गर्ने संविधानका प्रखर व्याख्याकर्ता विद्वानज्यूहरुको विवेक र वाणीमा संविधानवादको सिद्धान्त कहाँ हरायो ? माननीय न्यायाधीशज्यूहरु र विद्वान वकिलज्यूहरुले गर्नु भएको अहिलेको आन्दोलन केका लागि हो ? संविधानवादको जगेर्नाको लागि हो वा प्रणालीको सुदृढीकरणको लागि हो ?
हामीले पनि हजुरहरुबाटै कानून तथा संविधानवादको विषयमा पढेका छौं, सिकेका छौं । हजुरहरुकै ज्ञान, सीपको आधारमा प्रतिपादित सिद्धान्तको आजसम्म हामीले अनुसरण गरिआएका छौं । देशको प्रधानन्यायाधीश जस्तो व्यक्तिलाई विधि–प्रकृया बाहिर गएर जवर्जस्ती हटाउन खोज्नु कहाँको संविधानवाद हो ? कुनै पनि आन्दोलनले बोक्ने उद्देश्य र यसको चरित्रको आधारमा जनसहभागिताको उपस्थिति हुन्छ ।
उचित र तार्किक चरित्र बोकेको आन्दोलनको आफ्नै तागत र शक्ति हुन्छ जसले आन्दोलनलाई लक्ष्यसम्म पुर्याउँछ । तर कुनै व्यक्तिप्रति लक्षित वा पूर्वाग्रह वा प्रतिशोध साँध्न गरिने आन्दोलन लक्ष्यसम्म पुग्न सक्दैन । नेपाल बारले गरेको आन्दोलन र यसको चरित्र हेर्दा संस्था र यसका अवयवहरुको हितको उद्देश्य यो आन्दोलनले लिएको देखिएन ।
गजेन्द्र हमाल स्वयंले मन्त्री पदबाट राजीनामा दिई यसले निष्कर्ष पाइसकेको अवस्थामा सर्वाेच्च अदालतकै मााननीय न्यायाधीशज्यूहरुको असहयोगको कारण फुलकोर्ट बस्न नसकेको स्पष्टै छ ।
यसको सुरुवाती सिलसिला हेराैं- नेपाल वारले माननीय न्न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन सार्वजनिक गर्न र लागु गराउन प्रधान न्यायाधीशज्यूसँग माग गर्यो । यस विषयमा प्रतिवेदन सार्वजनिक पनि भयो, जसमध्ये सबैको रुची र चासोको विषय भनेको पेशी तोक्ने प्रकृयाको अटोमेसनमा जानेमा थियो । यसको लागि प्राविधिक कुरा र कानूनी प्रकृया मिलाउन केही समय लाग्ने र यस विषयमा प्रकृया सुरुवात भएको कुरामा बार सन्तुष्ट पनि भएकै थियो । उक्त प्रकृया सुरु नभएसम्म गोलाप्रथाबाट पेशी तोकिनु पर्यो भन्ने कुरा आयो । यस विषयमा पनि प्रधानन्यायाधीशज्यू सकारात्मक हुनुभएको थियो । यो प्रकृया कार्यान्वयनमा लैजान सर्वोच्च अदालत नियमावलीका केही प्रावधान संसोधन नगरी नहुने भएकाले सर्वोच्च अदालतको फुलकोर्ट बोलाई यस विषयमा निर्णय गर्ने कुरा भएको हो । साथै, लामो समयदेखि थाँती रहेको वरिष्ठता प्रदान गर्ने कार्यमा समेत नेपाल वारकै सल्लाहमा फुलकोर्टबाट निर्णय गर्र्ने विषयमा स्वयं बार विश्वस्त र सन्तुष्ट भई फर्केको थियो ।
भ्रष्टाचारको विषयमा आन्दोलन छेडिएको हो भने प्रधानन्यायाधीश एक्लैले भ्रष्टाचार गर्न सम्भव मानिँदैन । सर्वोच्च अदालतबाट हुने फैसला वा निर्णयहरु दुई वा दुईभन्दा बढी न्यायाधीशको सहभागीतामा हुने गर्छ । निर्णयमा सहभागी एकजना भ्रष्टाचारी र अर्का चाहिँ सदाचारी हुन्छन् भन्न मिल्दैन ।
यसअघि प्रवेश पाएको गजेन्द्र हमालको मन्त्री नियुक्ति प्रकरणको पनि राजनीतिक दल र स्वयं प्रधानन्यायाधीशज्यूले कुरा स्पष्ट पारी सक्नु भएको छ । गजेन्द्र हमाल स्वयंले मन्त्री पदबाट राजीनामा दिई यसले निष्कर्ष पाइसकेको अवस्थामा सर्वाेच्च अदालतकै मााननीय न्यायाधीशज्यूहरुको असहयोगको कारण फुलकोर्ट बस्न नसकेको स्पष्टै छ । फुलकोर्ट बस्न नसक्दा अटोमेसन र पेशीको गोलाप्रथाको विषयमा आवश्यक नियमावली संसोधन हुन नसकी प्रधानान्यायाधीश एक्लैले चाहेर मात्रै केही हुन सक्ने अवस्था भएन । यस्तो अवस्थामा एक्कासी सर्वोच्च अदालतकै बहालवाला माननीय न्यायाधीशज्यूहरुले इजलास बहिष्कार गरी प्रधान न्यायाधीशप्रति असहयोगात्मक गतिविधि सुरु गर्नुभयो । त्यसपश्चात् प्रधानन्यायाधीशको बहिर्गमन हुने निश्चित ठानेर यसको जस लिने उद्देश्यले नै आफ्नो मागदावी समेत विषयान्तर गरी नेपाल बार अहिले आन्दोलन र प्रदर्शनमा उत्रेको जगजाहेर छ ।
नेपाल बारको प्रदर्शन र धर्ना कति फितलो छ भन्ने कुरा धर्ना र प्रदर्शनमा सहभागीको संख्याबाट बुझ्न सकिन्छ । उपत्यकामा मात्रै ७ हजारभन्दा बढी वकिल रहेकोमा बारको आह्वानमा सहभागीको संख्या अत्यन्त न्यून छ । यसले पनि प्रधानन्यायाधीशप्रति लक्षित आन्दोलन अधिकांश वकिलहरुलाई नै चित्त नबुझेको ठहर्याउन सकिन्छ ।
गोश्वारा रुपमा अदालतमा भ्रष्टाचार छ, प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्न सकेनन् भन्दै विधि प्रकृया र संविधान बाहिर गएर जवर्जस्ती प्रधानन्यायाधीशको राजीनामा माग्नु उचित होइन । न्यायलयमा अनियमितता र सेटिङ छ भनि आरोप लगाउने, राजीनामा चाहीँ प्रधानन्यायाधीशले मात्रै दिनुपर्ने ?
भ्रष्टाचारको विषयमा आन्दोलन छेडिएको हो भने प्रधानन्यायाधीश एक्लैले भ्रष्टाचार गर्न सम्भव मानिँदैन । सर्वोच्च अदालतबाट हुने फैसला वा निर्णयहरु दुई वा दुईभन्दा बढी न्यायाधीशको सहभागीतामा हुने गर्छ । निर्णयमा सहभागी एकजना भ्रष्टाचारी र अर्का चाहिँ सदाचारी हुन्छन् भन्न मिल्दैन । त्यसमा पनि उक्त फैसला वा निर्णयमा सहभागी वकिलको भुमिका के रहेको थियो ? अनुसन्धानबाट पत्ता लाग्ने विषयमा आन्दोलनको माग खै ? लहरो तान्दा पहरो थर्किने अवस्था आउने भएकाले नै अहिले नेपाल बारले निर्र्णयकर्ता, वकिल र बिचौलियाको बारेमा अनुसन्धान हुनुपर्छ भनेर आन्दोलनको नारा तय गर्न सकेको छैन ।
गोश्वारा रुपमा अदालतमा भ्रष्टाचार छ, प्रधानन्यायाधीशले भ्रष्टाचार रोक्न सकेनन् भन्दै विधि प्रकृया र संविधान बाहिर गएर जवर्जस्ती प्रधानन्यायाधीशको राजीनामा माग्नु उचित होइन । न्यायलयमा अनियमितता र सेटिङ छ भनि आरोप लगाउने, राजीनामा चाहीँ प्रधानन्यायाधीशले मात्रै दिनुपर्ने ? अनियमितता र सेटिङमा सहभागी वा निर्णय फैसलामा सहभागी अन्य न्यायकर्मीको कर्तुत चाहिँ ढाकछोप गरिनु पर्ने ? यो त आफ्नो लाज छोप्न अर्काको आँखा बन्द गराउनु सरह भएन र ! यहि हो आन्दोलनको लक्ष्य ?
यस सिलसिलामा एउटा घटनाको सन्दर्भ जोड्न मन लाग्यो । तीर्थाटन गरेर फर्कदै गरेको बसमा सवार तिर्थालुहरु कोही भजन किर्तन गर्दै थिए, कोही हे भगवान ! हामीले प्रभुको दर्शन गर्याैं, कुनै जान अन्जानमा पाप कर्म गरेको भए हामीलाई क्षमा गरिदिनुहोस् भन्दै थिए । यसैबीच आकाशमा कालो बादल मडारिएर भयङ्कर चट्याङ र पानी पर्न थाल्छ । सोही बसको नजिकै चट्याङ पर्छ तर बस र यात्रुलाई केही हुँदैन, तब चालकले गाडी रोकेर यात्रु कक्षमा गई यात्रुहरुसँग भन्छन् । ‘यस बसमा सवार यात्रुहरुमध्ये कुनै न कुनै व्यक्तिले पाप गरेको छ, उसलाई बसबाट ननिकाल्ने हो भने कुनै पनि समयमा बसमा चट्याङ पर्न सक्छ ।’
त्यसपछि बसमा सवार ४० जना यात्रुमा को चाहिँ त्यस्तो परेछ कसरी पत्ता लगाउने भन्ने प्रश्न उठ्यो । तिर्थालुहरुले निकै लामो समय छलफल गरेर एउटा जुक्ति निकाले । बस नजिकै एउटा ठूलो रुख थियो, यसअघि चट्याङ त्यही रुखमा परेकाले १–१ जना गरी उक्त रुखको फेदमा १/२ मिनेट बस्ने, त्यस व्यक्तिलाई केही नभए फर्केर बसमा आउने । सबैले यसै गरौँ भन्दै १–१ जना तीर्थयात्रु ठूलो हावापानी र चट्याङ चलिरहँदा डराई–डराई उक्त रुखमुनी निर्धारित समयसम्म बस्दै फर्किए । ४० जनामध्ये ३९ जना सुरक्षित तवरमा बसमा फर्किन सफल भएकाले अन्तिममा बचेका १ जनालाई सबैले पापी ठानेर उसलाई बसबाट ओर्लन दबाव दिए । ३९ जनाको दबावको अगाडि ती निरिह व्यक्तिको केही जोर चलेन र उ बसबाट ओर्लन बाध्य भयाे ।
यसैबीच अकस्मात् चट्याङ बसमाथि पर्न जान्छ । बसबाट बाहिर निकालिएका एक यात्रु बाँचे र बसमा सवार अरु सबै तिर्थयात्रुको प्राण गयो । यसबाट के देखियो भने आँधिहुरी र चट्याङजस्ता कठिन अवस्थामा पनि सोही १ जना तिर्थ यात्रुको कारणले ३९ जनाको ज्यान जोगिएको रहेछ । जब ती एकजना तिर्थालुलाई जवरजस्ती बसबाट ओरालिएपछि अन्य ३९ जना तिर्थालुको रक्षा कवच नै उत्रिँदा यस्तो दुर्दशा भोग्नुपर्यो । कतै हामीले पनि प्रधानन्यायाधीशज्यूलाई विधि-प्रकृया मिची जबर्जस्ती पदबाट हट्न बाध्य बनाउँदा प्रणाली र संस्कारले गलत बाटो समाउन गई भविष्यमा त्यसले पार्ने क्षति हामीले भोग्नुपर्ने हो कि !
प्रधानन्यायाधीश जबराबाट विधिसम्मत प्रक्रिया अंगाल्न सार्वजनिक वक्तव्य आइसकेको छ । साथै यस्तो अवस्था आएकोमा दुख प्रकट गर्दै संवादबाट हल खोज्न पनि भनिएको छ । अहिलेको यो अप्ठेरो परिस्थितिमा सोही मार्ग अपनाई समस्याको समाधान खोज्ने कि मेरो गोरुको बाह्रै टक्का भनेर सिंगो न्यायपालिकालाई भड्खालोमा जाक्ने ? हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ ।
(पन्त अधिवक्ता हुन्)