अमेरिकी सहायक विदेशमन्त्री आज काठमाडौं आउँदै – Nepal Press

अमेरिकी सहायक विदेशमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं । दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउँदैछन् ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको कार्यभार सम्हालेयता पहिलोपटक उच्चस्तरीय अमेरिकी अधिकारी काठमाडौं आउन लागेका हुन् ।

माल्दिभ्सको राजधानी मालेमा केही कूटनीतिक भेटघाटपछि सहायक विदेशमन्त्री लू काठमाडौं आउन लागेका हुन् । उनी मालेबाट आज अपरान्हतिर काठमाडौं अवतरण गर्ने अमेरिकी दूतावासले नेपाल प्रेसलाई जानकारी दिएको छ ।

काठमाडौं भ्रमणमा लूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी दूतावासले लूको भ्रमणलाई थप खुलाएको छैन ।

अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन हुन नसकिरहेको र सत्तारुढ दलबीचमै मतैक्य नभएको बेला वासिङ्टनले सहायक विदेशमन्त्री लूलाई काठमाडौं पठाउन लागेको हो ।

गत सेप्टेम्बर ९ मा एमसीसी उपाध्यक्ष फतिमा सुमारले काठमाडौं भ्रमण गर्दै एमसीसीलाई छिटो पास गर्न नेपालका नेताहरुलाई दबाब दिएकी थिइन् । सत्तारुढ नेताहरुले राष्ट्रिय सहमती जुटाएर मात्र पास गर्ने वचन दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई स्कटल्यान्डको ग्लास्गोमा एमसीसी सीइओले पनि भेटेर एमसीसीको पछिल्लो अवस्थाबारे बुझेकी थिइन् । सो भेटवार्तामा पनि देउवाले राष्ट्रिय सहमती जुटाउन पहल भैरहेको बताएका थिए । एमसीसीको संसदीय अनुमोदन नै अनिश्चित बनेको बेला वासिङ्टनले थप दबाब दिन आफ्ना कूटनीतिज्ञलाई काठमाडौं पठाउन लागेको अनुमान गरिएको छ ।

साथै, लूको काठमाडौं भ्रमणमा अमेरिकाले नेपालमा संचालन गरिरहेका अन्य परियोजनाको संचालन र प्रगतिबारे पनि उनले छलफल गर्ने भएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आएको भोलिपल्टै अर्थात बिहीवार भारतको सत्तारुढ बीजेपीका प्रभावशाली नेता एवं यातायातमन्त्री नितिन गड्करी र योगगुरु रामदेव काठमाडौं उत्रनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर