नेपालमा चिनियाँ पर्यटक कम आउनुका ८ कारण
युएनडब्लुटिओका अनुसार सन् २०१२ मा चीनले सबैभन्दा धेरै पर्यटक विदेश पठायो । त्यसयता चीनको उक्त स्थितिमा फेरबदल आएको छैन । तर, चिनियाँ पर्यटकका शीर्ष दश मुलुकमा दक्षिण एसिया पर्दैन ।
नेपालमा भारतीयपछि चिनियाँ पर्यटक नै नेपाल धेरै आउँछन् । तर, यो संख्या विदेश जाने चिनियाँको एक प्रतिशत पनि पुग्दैन । स्टाटिस्टा डटकमका अनुसार सन् २०१९ मा झण्डै साढे १५ करोड चिनियाँ पर्यटक विभिन्न देश घुमे । त्यहीं वर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ मात्रै थियो । यो भनेको साढे पन्ध्र करोड विश्व चिनियाँ पर्यटकको ०.११ प्रतिशतभन्दा कम हो ।
नेपाल आउने चिनियाँ पर्यटक अत्यन्तै थोरै किन ? यसबारेमा चीनको सरकारी समाचार संस्था सिन्ह्वाका नेपाल प्रमुख झो सेङपिङले आफ्नो नयाँ पुस्तकमा विभिन्न कारणहरु प्रस्तुत गरेका छन् । नेपालमा झण्डै एक दशक पत्रकारिता गरेर इलामको सन्दकपुरदेखि मुगुको राराहुँदै पोखरालगायत नेपालका विभिन्न क्षेत्रहरुमा पुगेका उनले गत अप्रिलमा बजारमा ल्याएको पुस्तक ‘मेन्ड ओर एण्ड’को पाँच खण्डको एक खण्ड पर्यटनकै बारेमा खर्चेका छन् । उनले नेपालमा चिनियाँ पर्यटक कम आउने विभिन्न कारण देखाएका छन् । जसमा मुख्य आठ कारण यस्तो छः
१. नेपालबारे बेखबर चिनियाँ
नेपाल चीनका स्थल सीमा जोडिएका चौध छिमेकी देशमध्येको एक हो । नेपाल र चीनकै सिमानामा छ सगरमाथा । र, चीनमा चर्चामा आइरहने तिब्बतको सिमानामै छ नेपाल ।
विभिन्न अन्तरालमा चीनका प्रधानमन्त्रीदेखि राष्ट्रपति नेपाल आइरहेकै छन् । यति हुँदाहुँदै बहुसंख्यक चिनियाँहरु नेपालबारे बेखबर छन् । सन् २०११ को अन्त्यतिर आफ्नो सिन्ह्वाको पोस्टिङ नेपाल छान्दा उनलाई धेरै साथीहरुले ‘किन अफ्रिका जान लागेको ?’ भनेर सोधेको झो सेङपिङले लेखेका छन् ।
चिनियाँ भाषामा अफ्रिकी देश नाइजेरिया र नायजरकै जस्तो नाम र उच्चारण नेपालको भएकोले धेरै यस्तै कारण पनि झुक्किएको उनले लेखेका छन् । उनले आफ्ना भिनाजुसँग कुरा गर्दा नेपाल धेरै गरिब भएको र पाँचतारे होटल नभएको भन्दै होटल कसरी खोल्न सकिन्छ ? भन्ने बारेमा सोधेको उनले लेखेका छन् ।
नेपालमा दर्जनौं सुविधासम्पन्न तारे होटल भएकोबारे अधिकांश चिनियाँ जानकार नभएको उनले आफ्नै वृत्तको उदाहरण दिएर लेखेका छन् ।
२. भुटान, सिक्किम र नेपालबीच धेरै फरक छैन भन्ने चिनियाँ बुझाइ
नेपालमा चिनियाँहरु कम आउने कारण नेपाल, सिक्किम र भुटान एकै खालको भन्ने सोचाइ पनि एक कारण भएको झो सेङपिङले लेखेका छन् । नेपालले उक्त भ्रम चिर्न सक्नुपर्ने उनले पुस्तकमा उल्लेख गरेका छन् ।
३. महंगो हवाइभाडा र स्थालमार्गमा हुने झन्झट
झो सेङपिङले नेपालमा चिनियाँ पर्यटकका लागि हवाइभाडामा महँगो र स्थलमार्गमा झन्झट हुनाले थोरै चिनियाँ आएको लेख्छन् । नेपा–चीन सिधा हवाइयात्रा हङकङ, ग्वान्झोउ, कुन्मिङ, छेङ्दु र ह्लासासँग मात्रै भएकोले र त्यहाँबाट हुने यात्रा महँगो भएको उनको तर्क छ ।
हवाइभाडा चीनमा मात्रै नभएर नेपालमा पनि अचाक्ली महँगो भएको उनको दुखेसो छ । आफूले मुगुको ताल्चा विमानस्थलबाट नेपालगंजको यात्रामा टिकटबाहेक ६०० अमेरिकी डलर तिरेको दुःखेसो गरेका छन् । पछिल्लो सटही दरअनुसार ६०० अमेरिकि डलर भनेको ७१ हजार हाराहारी नेपाली रुपैयाँ हो ।
स्थलमार्गमा पनि समस्या भएको उनको धारणा छ । चीनको फुजिआन प्रान्तबाट नेपालमा अरनिको राजमार्गहुँदै आएका एक दम्पतीलाई चार सय अमेरिकी डलर बोकेकोमा सिमानाका नेपाली प्रहरीले अनावश्यक केरकार गरेर घुस मागेको प्रशंग निकाल्दै उनले सिमानाका नेपाली प्रहरी पर्यटकमैत्री नभएको बताएका छन् ।
४. खानपानदेखि अन्य सेवा पनि गुणस्तरहीन
चिनियाँ पर्यटकलाई नेपालमा राम्रो र स्वच्छ खानपानको व्यवस्था नहुनु अर्को समस्या भएको झो सेङपिङ लेख्छन् । खानेकुरामा झिँगा र कमिला भेटिएका धेरै क्षेत्रबाट गुनासो आफूले सुनेको र देखेको उनले लेखेका छन् ।
नेपाली एजेन्सी र पर्यटन व्यवसायीले नियतबश ठगेको अनुभव उनले पुस्तकमा लेखेका छन् । एक हजार लिनुपर्ने वातावरण संरक्षण कर तीन हजारसम्म लिएको र एक बोतल तातोपानीको ५०० रुपैयाँसम्म तिर्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।
५. पर्यटक दुर्घटनाका समाचार
झो सेङपिङ नेपालका पर्यटन क्षेत्रमा बढी दुर्घटना हुने गरेका कारण चिनियाँ पर्यटक कम आएको उल्लेख गरेका छन् । सन् २०१२ को सेप्टेम्बर २८ मा सीता एयरको दुर्घटनामा मृत्यु भएका पाँच चिनियाँ पर्यटकदेखि सन् २०१३ अक्टोबर १३ मा पोखरामा अल्ट्रालाइट दुर्घटनामा मृत्यु भएका एक चिनियाँ पर्यटकको उदाहरण दिँदै उनले यस्ता खबर चीनमा मात्रै नभएर विश्वभर व्यापक पुग्नाले चिनियाँले पर्यटकले नेपाल असुरक्षित ठान्छन् ।
६.पूर्वाधार अभाव
नेपाल र चीनको सिमा जोडिएको जिल्ला हो मुगु । नेपालको विशाल र सुन्दर ताल रारा मुगुमै छ । रारा ताल जान चाहनेलाई स्तरीय सडक र नियमित हवाइ सेवादेखि अन्य पूर्वाधार नहुँदा समस्या भएको झो सेङपिङले आफ्नै उदाहरण दिएर लेखेका छन् ।
सन् २०१२ मा आफूले रारामा बोटिङ गर्न नपाएको, रारा पुग्ने पूर्वाधार कमजोर भएको र हवाइमार्गबाट ताल्चा विमानस्थलहुँदै नेपालगंज आउन तीन दिन कुर्दा मात्रै ६०० अमेरिकी डलर तिरेको बताएका छन् ।
सिन्ह्वासँग कुरा गरेका रारा पर्यटन विकास समितिका अध्यक्ष देवी कृष्ण रोकायाले सन् २०११ मा ३०० जना विदेशी मात्रै रारा पुगेको उदाहरण दिँदै उनले यस्तो बताएका छन् । रारामा पर्यटक सुस्ताएकै कारण ६५ हजारमा घोडा किनेर कमाउन खोजेका २४ वर्षका राजबहदाुर रावलले आधा वर्ष पनि टिक्न नसकेर भारत गएको प्रशंगसहित उनले राराको दुःखान्त सुनाएका छन् । रारा जस्तै नेपालका धेरै गन्तव्यको यस्तै समया भएको उनको तर्क छ ।
७. पर्यटक भुल्याउने गतिविधि र हिउँ अर्थतन्त्रको अभाव
गन्तव्यमा पुगेका पर्यटकहरुलाई विभिन्न गतिविधिमा अल्झाउन धेरै गन्तव्यहरु चुकेको झो सेङपिङले लेखेका छन् । चीनको सिचुवा प्रान्तको हिमाल हेर्ने भ्यू टावरले एक पर्यटकबाट नेपाली पन्ध्र सय हाराहारीको शुल्क लिनै भन्दै उनले नेपालका भ्यू प्वाइन्टले स्तरीय सुविधा नदिएको उल्लेख गरेका छन् ।
त्यस्तै उनले पर्यटन क्षेत्रमा गतिविधिहरु बढाउन र खासगरी हिउँ अर्थतन्त्रमा ध्यान दिन सल्लाह दिएका छन् । नेपालमा हिउँ परेपछि चन्द्रागिरीमा काठमाडौंका बासिन्दा पुगेको उदाहरण दिँदै हिउँ परेको समयमा हिउँजन्य गतिविधिहरु बढाएर पर्यटकहरु तान्न सकिने उनको भनाइ छ । मनाङमा आइस क्याइम्बिङ, कालिन्चोकमा स्किदेखि गोक्यो तालमा हकी खेल खेलाएर पर्यटक आकर्षित गर्नुपर्ने उनको बुझाइ छ ।
८. प्राकृतिक सुन्दरताको क्षयीकरणदेखि फोहोरमैला व्यवस्थापनमा समस्या
झो सेङपिङले फेवातालदेखि पुन हिलका उदाहरण दिँदै प्राकृतिक पक्षको क्षयीकरणदेखि हरेक वर्ष फोहोरमैला बढेकाले पर्यटनक विकर्षण भएको बताएका छन् ।
नेपालको चर्चित पर्यटन नारा ‘नेचुरल्ली नेपाल वान्स इज नट इनफ’लाई सम्मान गर्न पनि यस्ता गतिविधिहरु कम हुनुपर्ने र चिनियाँहरुलाई दोहोर्याएर ल्याउन र नयाँ पर्यटक तान्न सकिने उनले बताएका छन् ।