केपी ओलीलाई भीम रावलको आग्रह– अध्यक्षमा मलाई भरोसा गर्नुस्,पार्टी म चलाउँछु – Nepal Press

केपी ओलीलाई भीम रावलको आग्रह– अध्यक्षमा मलाई भरोसा गर्नुस्,पार्टी म चलाउँछु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदमा आफूलाई समर्थन गर्न केपी अ‍ोलीलाई आग्रह गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले पार्टी फुटको बेला आफूलाई भरोसा गर्न र अध्यक्षमा सघाउन आग्रह गरेका हुन् ।

रावलले अध्यक्ष ओलीले ७० वर्षको उमेरसम्म पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भई जिम्मेवारी वहन गरिसकेको र यसअघि नदोहोरिने समेत भनेकाले आफू अध्यक्षमा उम्मेदवार दिन अग्रसर भएको बताएका छन् ।

रावलले भनेका छन्– पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो ।

उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु । पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु ।

मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु । अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु ।

माथि उल्लेखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताको आधारमा नेकपा (एमाले) को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट गरेको छु । मैले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन ।

पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन । यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु ।

अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछु । अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।


प्रतिक्रिया

One thought on “केपी ओलीलाई भीम रावलको आग्रह– अध्यक्षमा मलाई भरोसा गर्नुस्,पार्टी म चलाउँछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर