कांग्रेसमा थपिए सभापतिका नयाँ उम्मेदवार – Nepal Press

कांग्रेसमा थपिए सभापतिका नयाँ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा नयाँ उम्मेदवार देखिएका छन् । गोरखाका युवा नेता युवराज न्यौपानेले काग्रेसको १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताएका छन् ।

कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले केन्द्रीय सभापतिमै उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल प्रेससँग कुराकानी गर्दै न्यौपानेले छिट्टै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताए । गोरखा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरी अवसर दिन नहुने बताए ।

‘कांग्रेसको सभापतिमा दावी गर्ने हरेक नेता आजसम्म कुनै न कुनै पद र भूमिकामा हुनुहुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तन भनेको त उहाँहरु समेतको परिवर्तन हो नि’, न्यौपानेले नेपाल प्रेससँग भने ।

वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अबपनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने बताए ।

आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिने बताए ।

‘परिणामबारे अहिले चर्चा नगरौ तर कांग्रेसको सभापतिमा प्रष्ट एजेण्डासहित मेरो उम्मेदवारी रहन्छ’, उनले भने ।

न्यौपानेले कांग्रेस विधान संशोधन गरेर महाधिवेशनभन्दा एक वर्ष अगाडि नै सभापतिको उम्मेदवारले मनोनयन दर्ता गर्ने र वर्षदिनसम्म आफ्नो नीति लिएर कार्यकर्तामाझ जाने व्यवस्था गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेसमा थपिए सभापतिका नयाँ उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर